देशको भू-भाग
बैशाख २५, २०८३, शुक्रबार | विहान ११:२७ बजे | 45
कुमार लघु, भक्तपुर
आफ्नो भू-भागलाई छोड्न मिल्दैन । आफ्नो जमिन आफ्नै बनाइराख्नुपर्छ । मायाले विदेशीलाई उपयोग गर्न दिनु उचित हुँदैन ।
आज लिपुलेक र कालापानीमा थिचोमिचो भएको छ भने भोलि अन्य ठाउँमा पनि त्यस्तै हुन बेर लाग्दैन । त्यसैले बेलैमा आफ्नो भूमि आफ्नै हकदाबी गरेर विदेशीलाई उपयोग गर्न दिनु हुँदैन ।
पहिलेका शासकहरूले के-कस्ता लाभ लिएर वा कस्ता सम्झौताका आधारमा त्यो भूमिमा बस्न दिएका हुन् भन्ने विषयको पनि खोजबिन हुनुपर्छ । सबै तथ्य र प्रमाण खोतलेर जनतासामु स्पष्ट पारिनुपर्छ ।
नेपालले विगतमा भारतलाई विभिन्न समयमा सहयोग गरेको इतिहास छ । अप्ठ्यारो अवस्थामा सहयोगस्वरूप नेपाली भूमिमा बस्न दिइएको हुन सक्छ । तर अहिले नेपाल र नेपालीको सार्वभौमसत्तामाथि नै हस्तक्षेप हुने अवस्था आउनु उचित होइन । सहयोग लिनेले पनि नेपालको कमजोरी ठानेर भूभागमाथि दाबी गर्नु मित्र राष्ट्रलाई सुहाउने कुरा होइन ।
भारतले सहयोग लिएपछि र परिस्थिति सहज भइसकेपछि नेपाली भूमि नेपाललाई नै फिर्ता गर्न किन आनाकानी गरिरहेको छ भन्ने विषय स्पष्ट हुनुपर्छ । जुनसुकै बहानामा नेपालमाथि शोषण र दबाब सिर्जना गर्ने कार्य स्वीकार्य छैन । “आफूलाई पर्दा ज्वरो, अरूलाई पर्दा रुघाखोकी” भन्ने उखान यस्तै अवस्थामा मिल्छ ।
नेपाल सरकारले वार्तामार्फत नेपाली सीमा र भूभाग फिर्ता लिन ढिलाइ गर्नु हुँदैन । आवश्यक परे अन्य छिमेकी राष्ट्र तथा अन्तर्राष्ट्रिय समुदायको सहभागितामा छलफल गरी नेपालको भूमि फिर्ता गराउन पहल गर्नुपर्छ । यस्ता विषयमा सेना, सशस्त्र प्रहरी तथा राष्ट्रिय सुरक्षाकर्मी एकजुट हुन आवश्यक छ ।
गृह मन्त्रालय, परराष्ट्र मन्त्रालय तथा सम्बन्धित निकायहरूले अन्तर्राष्ट्रिय मञ्च, सार्क, संयुक्त राष्ट्रसंघ तथा आवश्यक परे अन्तर्राष्ट्रिय अदालतसम्म पुगेर नेपालको भूभाग सुरक्षित गर्न पहल गर्नुपर्छ ।
हाम्रा सैनिकहरूलाई सीमामा परिचालन गरी सुरक्षा व्यवस्थालाई थप प्रभावकारी बनाउन आवश्यक छ । जहाँ सुरक्षा चुनौती छ, त्यहीँ सैनिक क्याम्प र सुरक्षाको उचित व्यवस्था हुनुपर्छ । काठमाडौं, पाटन र भक्तपुरमा मात्रै अत्यधिक सैनिक राख्नुको सट्टा सीमाक्षेत्रमा सुरक्षा सुदृढ गर्नु आवश्यक देखिन्छ ।
कालापानी नेपालको भूमि हो । पुराना दस्तावेज, नक्सा र प्रमाणहरूको आधारमा तत्काल पहल गरी नेपालीहरूले आफ्नो भूमि उपभोग गर्न पाउने व्यवस्था हुनुपर्छ । अहिले पहल नगरे कहिले गर्ने ? यस विषयमा सम्पूर्ण नेपाली जनता सरकारसँग एकताबद्ध भएर उभिन आवश्यक छ ।
आजको समयमा कुनै पनि छिमेकी राष्ट्रले नेपाली भूमि अतिक्रमण गरेर बसिरहन मिल्दैन । समयमै सचेत भई नेपालको भूमि सुरक्षित राख्न सबै नेपाली एकजुट हुन आवश्यक छ ।
२०८३/०१/२५
भक्तपुर, नेपाल
