साँगा आगलागी, कोठाभित्रका सामग्री जलेर नष्ट
बैशाख २३, २०८३, बुधबार | साँझ ०४:३७ बजे | 100
ग्याँस लिक भएर बनेपामा आगलागी, समयमै नियन्त्रण
काभ्रेपलाञ्चोक, २३ वैशाख २०८३ — काभ्रेपलाञ्चोक जिल्लाको बनेपा नगरपालिका वडा नं. १३ साँगा नयाँ बस्तीस्थित एक घरमा ग्याँस लिक भई आगलागी हुँदा कोठाभित्रका सामग्री जलेर नष्ट भएका छन्।
सपना श्रेष्ठको घर भाडामा लिएर बस्दै आएकी रामकुमारी थापाको कोठामा अचानक ग्याँस लिक भई आगलागी भएको प्रहरीले जनाएको छ। आगलागीबाट कोठाभित्र रहेका दुई थान खाट, एक थान दराज, दुई वटा ग्याँस सिलिण्डर, एक थान ग्याँसचुलो तथा अन्य भाँडाकुँडा जलेर पूर्ण रूपमा नष्ट भएका छन्।
घटनाको जानकारी प्राप्त हुनासाथ जुद्ध बारुण यन्त्र कार्यालय भक्तपुरको दमकल घटनास्थलतर्फ खटिएको थियो। दमकल दिउँसो ०१:३७ बजे घटनास्थलतर्फ प्रस्थान गरी ०२:५५ बजे फर्किएको कार्यालयले जनाएको छ।
दमकलको समयमै उपस्थितिका कारण आगलागी नियन्त्रणमा लिइँदा थप क्षति हुनबाट जोगिएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।
