अनुशाशन विद्यार्थीको गहना
बैशाख २२, २०८३, मङ्गलबार | साँझ ०५:३२ बजे | 40
कुमार लघु, भक्तपुर
स्कूलमा अध्ययन गर्ने हरेक विद्यार्थी अनुशासित हुनुपर्छ। अनुशासनविहीन जीवनले अन्ततः दुःख निम्त्याउँछ भन्ने कुरा विद्यार्थीहरूले समयमै बुझ्न आवश्यक छ। त्यसैले शिक्षकहरूले विद्यार्थीलाई अनुशासनको महत्वबारे नियमित रूपमा जानकारी गराउनुपर्छ। आवश्यक परे विशेषज्ञहरूद्वारा विशेष कक्षा सञ्चालन गरेर पनि अनुशासनको अर्थ र यसको आवश्यकता स्पष्ट पार्न सकिन्छ।
विद्यालयमा भर्ना हुने बेलामै विद्यार्थीलाई अनुशासनसम्बन्धी नियमहरू स्पष्ट रूपमा बताइनुपर्छ। विद्यार्थीको पृष्ठभूमि, व्यवहार र सिकाइ क्षमताको मूल्याङ्कन गरी आवश्यक परे उनीहरूलाई उपयुक्त समूहमा राख्न सकिन्छ। यस क्रममा अभिभावकलाई पनि विद्यालयको अनुशासनसम्बन्धी नीतिबारे जानकारी गराउनु अत्यन्त जरुरी हुन्छ।
यदि कुनै विद्यार्थीमा अनुशासनको कमी देखिन्छ भने अभिभावकले पनि आफ्नो जिम्मेवारी स्वीकार गर्नुपर्छ। सन्तानलाई अनुशासनमा राख्ने, विद्यालयका नियम पालना गराउने, गृहकार्य गराउन सहयोग गर्ने जस्ता कुरामा अभिभावकको भूमिका महत्वपूर्ण हुन्छ। यसका लागि विद्यालयले अभिभावकसँग लिखित सहमति (commitment) लिन सक्दछ।
विद्यार्थीले पढाइ आफ्ना अभिभावकका लागि होइन, आफ्नै भविष्यका लागि गर्नुपर्छ। भौतिक सम्पत्ति नाशवान हुन्छ, तर शिक्षा यस्तो सम्पत्ति हो जुन कसैले खोस्न सक्दैन। त्यसैले समयमै शिक्षा आर्जन गरी सीप विकास गर्नु अत्यावश्यक छ।
विद्यालय व्यवस्थापनले पनि विद्यार्थीको समग्र विकासका लागि आवश्यक वातावरण सिर्जना गर्नुपर्छ। प्रत्येक नयाँ शैक्षिक वर्षमा विद्यार्थीलाई प्रेरित गर्ने, सकारात्मक सोच विकास गराउने तथा जीवनमा गल्ती नगर्ने, सत्य मार्गमा हिँड्ने जस्ता मूल्य र मान्यतामा आधारित शिक्षा दिनु जरुरी छ।
विद्यार्थीहरू नै भविष्यका कर्णधार हुन्। उनीहरूलाई सक्षम, जिम्मेवार र अनुशासित नागरिकका रूपमा तयार पार्न सकिएमा मात्र समाज र राष्ट्रको विकास सम्भव हुन्छ। शिक्षा जीवनको ज्योति हो; शिक्षाविना जीवन अन्धकारमय हुन्छ।
अन्त्यमा, अनुशासन केवल विद्यालयमा मात्र होइन, जीवनका हरेक क्षेत्रमा आवश्यक हुन्छ। अनुशासनविहीन जीवन पानीविहीन माछाजस्तै हुन्छ। त्यसैले विद्यार्थीका लागि अनुशासन एक अमूल्य गहना हो भन्ने कुरा सबैले आत्मसात् गर्नुपर्छ।
