७० नाघेका बाजेबज्यैहरुको सांस्कृतिक प्रस्तुति
बैशाख १२, २०८३, शनिबार | राति ०७:३८ बजे | 135
न्हापांगु पलाः नेवाः मिसा पुचःको आयोजनामा काठमाडौंको हनुमानढोकामा भजन, सांस्कृतिक तथा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ । कार्यक्रममा ७० देखि ८० वर्ष उमेर समूहका जेष्ठ नागरिकहरूले भजन–कीर्तन, परम्परागत नृत्य तथा सांस्कृतिक प्रस्तुति दिएका थिए । कार्यक्रममा नेवार समुदायका बाजे–बज्यैले प्रयोग गर्ने मौलिक पोशाकमा जीवनशैली झल्काउने नृत्य, गीत तथा भजन प्रस्तुत गरिएको थियो । बिहानको नित्यकर्म, दिउँसोको खेतीकिसानी र साँझ भोजमा जाने क्रममा लगाइने पोशाक समेत प्रस्तुत गर्दै विभिन्न रैथाने गीतमा नृत्य गरिएको थियो ।
नेपालभाषाका महाकवि गिरिजा प्रसाद जोशीको साहित्यमा आधारित गीतहरू पनि कार्यक्रममा समावेश गरिएको थियो । साथै, लगन टोलको समूहले भजन प्रस्तुति दिएको थियो । कार्यक्रमको उद्घाटन काठमाडौं महानगरपालिका वडा नं. २४ का अध्यक्ष विनोद कुमार राजभण्डारीले गरेका थिए ।
संस्थाका अनुसार विक्रम सम्वत २०७२ सालको महाभूकम्पपछि समाजभित्र गुम्सिन बाध्य भएका जेष्ठ नागरिकहरूलाई मनोसामाजिक परामर्श प्रदान गर्ने उद्देश्यले संस्था स्थापना गरिएको हो । प्रारम्भमा डे–केयर सेवाको रूपमा सुरु गरिएको यस संस्थाले अहिले जेष्ठ नागरिकहरूलाई एक्लोपनबाट मुक्त गराउने उद्देश्यले विभिन्न गतिविधिहरू सञ्चालन गर्दै आएको छ । घरपरिवारका सदस्यहरू दिनभर व्यस्त रहने अवस्थालाई ध्यानमा राख्दै जेष्ठ नागरिकहरूलाई एकै ठाउँमा भेला गराई दुना–टपरी बनाउने, बत्ती काट्ने तालिम, पारस्परिक संवाद तथा मनोरञ्जनात्मक गतिविधिहरू सञ्चालन गरिँदै आएको छ । यसबाट जेष्ठ नागरिकहरूमा देखिने न्यास्रोपन कम गर्नुका साथै आंशिक आत्मनिर्भरता विकास गर्ने लक्ष्य लिइएको संस्थाले जनाएको छ । त्यस्तै, पितृसत्तात्मक समाजमा महिलामाथि हुने विभेद अन्त्य गर्ने उद्देश्यले आत्मसुरक्षा तालिम तथा विभिन्न क्षेत्रमा उत्कृष्ट कार्य गर्ने व्यक्तिहरूलाई सम्मान कार्यक्रम पनि सञ्चालन गरिएको छ ।
धार्मिक तथा सांस्कृतिक भ्रमणमार्फत संस्कृतिसँग साक्षात्कार गराउने काम समेत भइरहेको संस्थाकी अध्यक्ष शिला सायमिले बताइन् । सामाजिक क्षेत्रमा एक दशकभन्दा बढी समयदेखि सक्रिय यस संस्थाले विशेषगरी जेष्ठ नागरिकहरूको उत्थान र सामाजिक सहभागिता बढाउन महत्वपूर्ण योगदान पु¥याउँदै आएको जनाएको छ ।
फाेटाेमा हेर्नुहाेस्...
