अक्षयतृतिया पर्व
बैशाख ६, २०८३, आइतबार | दिउँसो ०२:४३ बजे | 85
सुनील सापकोटा
कौसलटार , भक्तपुर
अक्षय शब्दको अर्थ हो — जुन कहिल्यै समाप्त हुँदैन। अर्थात् जसको कहिल्यै अन्त हुँदैन। हाम्रो धार्मिक मान्यताअनुसार यो दिन सौभाग्य र सफलताको सूचक मानिन्छ। यस दिनलाई “सर्वसिद्धि मुहूर्त” को दिन पनि भनिन्छ। किनकि यस दिन शुभ कार्यका लागि पञ्चाङ्ग हेर्न आवश्यक पर्दैन भन्ने विश्वास छ। अक्षय तृतीया हिन्दू धर्ममा अत्यन्त शुभ र पवित्र दिन मानिन्छ। यस दिन गरिएको दान, जप, तप र शुभ कार्यहरूको फल अक्षय रहने मानिन्छ। यस दिन विवाह, नयाँ कामको सुरुवात, सुन–चाँदी खरिद, घर निर्माणजस्ता कार्यहरू बिना विशेष मुहूर्त पनि गर्न सकिने मान्यता छ। त्यसैले यो दिन सुख, समृद्धि र सफलता प्राप्तिको प्रतीकका रूपमा विशेष महत्व राख्दछ। अक्षय तृतीया कहिलेदेखि सुरु भयो भन्ने ठ्याक्कै ऐतिहासिक मिति भेटिँदैन,किनकि यो पर्व वैदिक तथा पुराण काली न परम्परासँग जोडिएको छ। यसको उल्लेख विशेष रूपमा महा भारत र पुराणहरूमा पाइन्छ। जसले यसको प्राचीनता हजारौं वर्ष पुरानो भएको संकेत गर्छ।धार्मिक विश्वासअनुसार यस दिनसँग धेरै महत्वपूर्ण घटनाहरू जोडिएका छन्। जस्तै भगवान विष्णुको छैटौँ अवतार परशुरामको जन्म, महाभारत लेखनको आरम्भ, तथा पाण्डवहरूले अक्षय पात्र प्राप्त गरेको कथा। त्यसैले अक्षय तृतीया कुनै एक वर्ष वा घटनाबाट सुरु भएको नभई, प्राचीन धार्मिक आस्था र परम्पराबाट क्रमशः विकसित हुँदै आएको पर्व हो। यो पर्वको सबैमा शुभकामना । धन्यवाद ! **
