५ः४९ मा ढालियो विस्का जात्राको ल्योसिंद्य
बैशाख १, २०८३, मङ्गलबार | राति ०७:१२ बजे | 95
भक्तपुर । भक्तपुरको विस्का जात्राको ल्योसिंद्य (लिंगो) मंगलबार साँंझ ढालिएको छ । विविपूर्वक पूजाआजा सम्पन्न गरी ढाल्न थालिएको ल्योसिंद्य पाँंच बजेर ५० मिनेटमा ढालिएको हो ।
ढाल्नु अघि ल्योसिंद्य उठाइसकेपछि ल्योसिंद्यमै बेरिएर राखिएका डोरीहरु फुकालेको थियो, जसलाई स्थानीय नेपाल भाषामा वल फेनेगू भनिन्छ । वल फेनेगू कार्य सम्पन्न भएपछि चारैतिर डोरीबाट तानेर ल्योसिंद्य ढालिएको हो । चारैतिर डोरी राखेर आआफनोतिर ढाल्ने प्रयासस्वरुप तानातान हुन्छ । पाँंच सात मिनेट तानातानपछि लिंगो पश्चिमतिर ढलेको थियो ।
गुठी संस्थान शाखा कार्यालय भक्तपुरले सार्वजनिक गरेको विस्का जात्राको तालिका अनुसार साँंझ ५ बजे ल्योसिंद्य ढाल्ने तालिका थियो । तर निर्धिारित समय भन्दा झण्डै एक घण्टापछि ल्योसिंद्य ढाल्ने कार्य सम्पन्न भयो ।
सार्वजनिक तालिका अनुसार मंगलबारको विस्का जात्राको क्रममा विहान ६ बजेदेखि नै सुरु भएको थियो । विहान ६ बजेदेखि ११ बजेसम्म श्री भैरबनाथको पूजाआजा सम्पन्न गरिएको थियो ।
सार्वजनिक गरिएको तालिका अनुसार बिहान ९ बजेदेखि विभिन्न गुठीअन्तर्गतका मठ–मन्दिरमा पूजा सम्पन्न गर्ने, दिउँसो विशेष पूजा तथा प्रसाद वितरण गर्ने, साथै बेलुका सम्बन्धित स्थानमा उपस्थित भई जात्रा सञ्चालन गर्ने कार्यक्रमहरू उल्लेख गरिएको छ । तालिकामा प्रहरी ब्यान्ड बाजासहित सहभागिता, गुठी कार्यालय तथा स्थानीय जनसमुदायको समन्वयमा कार्यक्रम सञ्चालन हुने व्यवस्था गरिएको थियो ।
ल्योसिंद्य ढालिएपछि खड्ग गुठी कार्यालय भक्तपुरलाई बुझाउने तालिका थियो । साथै ल्योसिंद्य ढालिसकेपछि डोरी खोली सुरक्षित स्थानमा राख्ने कार्य पनि गरियो । यसपछि भैरबनाथ र भद्रकालीको रथ गःहिटीमा ल्याई जुधाउने कार्य पनि सम्पन्न गरियो ।
भक्तपुरको विस्का जात्रा चैत २७ गतेदेखि सुरु भएको थियो । जात्रा बैशाख ५ गतेसम्म सञ्चालन हुनेछ । अन्तिम दिन पोटरी स्क्वायरमा उठाइएको हात नभएको अर्काे ल्योसिंद्य ढालिन्छ भने त्यही दिन साँंझ भैरबनाथको रथ तानिन्छ । योसँंगै आठ रात नौ दिन लामो भक्तपुरको विस्का जात्रा समाप्त हुने परम्परा रहिआएको छ ।
फाेटाेमा हेर्नुहाेस्...
