“सय वर्ष पछिको भक्तपुर” पुस्तकले भक्तपुरको मात्र होइन, नेपालको भबिष्यको रुप रेखा पनि कोरेको छ


चैत ३०, २०८२, सोमबार | विहान ०८:०७ बजे | 50


“सय वर्ष पछिको भक्तपुर” पुस्तकले भक्तपुरको मात्र होइन, नेपालको भबिष्यको रुप रेखा पनि कोरेको छ

आज हामी “सय वर्ष पछिको भक्तपुर” पुस्तकको तेस्रो संस्करणबारे परिचर्चा कार्यक्रम गर्दैछौं । सर्बप्रथम यो पुस्तक नगरपालिकाको तर्पmबाट प्रकाशन गर्ने अनुमति दिनु भएकोमा लेखक एवं नेपालका वरिष्ठ राजनीतिज्ञ नारायणमान बिजुक्छें (रोहित) प्रति हार्दिक कृतज्ञता ज्ञापन गर्दछौं ।

यो पुस्तकको पहिलो संस्करण २०५९ असोजमा र दोस्रो संस्करण २०७४ असारमा सार्वजनिक भएको थियो । यसको अंग्रेजी भाषामा पनि प्रकाशित छ । पुस्तकको आकार सानो भए पनि यसले राष्ट्रिय मात्र होइन अन्तर्राष्ट्रिय स्तरको महत्व बोकेको छ ।

“नाचगानको राजधानी भक्तपुर” का लेखक विद्वान जगदिश शमशेर राणाले भक्तपुरको संगीतबारे मूल्यांकन गर्दै लेख्नु भएको छ–“संगितकारहरुको संख्या यो शहरको जनसंख्यको औसतमा विश्वको कुनै शहरभन्दा ज्यादा छ ।”

जर्मन सम्पदाविद् निल गोत्सोले ५० वर्ष नेपालमा बिताएर स्वदेश फर्कने क्रममा भक्तपुरको बास्तुकलाको मूल्यांकन गर्दै भन्नुभयो –“भक्तपुर संसारकै जिवित संग्रहालय हो ।”

अर्का विद्वान इ.ए. पावेलले “भक्तपुरको दरबार क्षेत्र घुम्नु मात्रै पनि विश्वको आधा संसार घुमे सरह हुन्छ” भन्नु भएको छ ।

यसरी देश र विदेशका सँस्कृतिविद्, वास्तुकलाविद् तथा विभिन्न बिषयका विद्वानहरुले समेत प्रशंशा गरेको भक्तपुरबारे लेखिएको अत्यन्त महत्वपूर्ण किताब हो– सय वर्ष पछिको भक्तपुर ।

भक्तपुर नगरको विषयमा नेपाल मजदुर किसान पार्टीमा अध्यक्ष का. नारायणमान विजुक्छेंले २०५६ सालमा “सय वर्ष पछिको भक्तपुर” शीर्षकमा लेख लेख्नु भएको थियो । विभिन्न लेखहरु सहितको संग्रहीत रुप “सय वर्ष पछिको भक्तपुर” पुस्तकको रुपमा भने २०५९ सालमामात्र प्रकाशित भयो । नेपाली र अंग्रजी भाषामा प्रकाशित भएपछि पुस्तकले राष्ट्रिय र अन्तर्राष्ट्रिय जगतमा चर्चा पाउँदै गयो । पुस्तकको माग धेरै तिरबाट हुन थालियो । भक्तपुरमा विभिन्न पालिकाका प्रमुख, उपप्रमुखज्यूहरु, साँसदज्यूहरु विभिन्न उच्च पदस्थ व्यक्तित्वहरु भक्तपुरको विकासबारे बुझ्न आउनु हुन्थ्यो । हामी भक्तपुरको विकासको मार्ग चित्र भएको यही पुस्तक उहाँहरुलाई दिने गर्छौ । पुस्तकको चर्चासँगै माग बढ्दै गयो । त्यसपछि हामी नगरपालिकाले नै पुस्तकको तेस्रो संस्करण प्रकाशन गर्ने निस्कर्षमा पुग्यौ र आज यो पुस्तक यहाँहरु समक्ष प्रस्तुत गर्दैछौं ।

यस पुस्तकले भक्तपुर नगरको सय वर्ष पछिको रुप रेखा देखाएको छ । पुस्तकमा भक्तपुरको भविष्यको शिक्षा, स्वास्थ्य, सरसफाइ, पर्यटन, सम्पदा संरक्षण, यातायातलगायत सबै पक्ष समेतिएको छ र याहाँका जनता र जनप्रतिनिधिहरुलाई काम गर्न मार्ग निर्देश गरिएको छ । कसैले भक्तपुरको भबिष्यबारे सोधेको खण्डमा हामी गर्वकासाथ भन्न सक्छौं–सय वर्ष पछिको भक्तपुर नै हाम्रो लक्ष्य हो । हो, हामी त्यही सपनालाई साकार पार्न कतिबद्ध भएर लागिरहेका छौं । बिचमा कुनै बाधा व्यवधान नआएमा धेरै अगाडि नै त्यो सपना साकार हुनेमा हामी विश्वस्त छौं ।

अझ त्यसलाई अगाडि बढाउन २०५८ साल माघ २१ गते सम्पन्न “भक्तपुर जिल्लालाई पर्यटकीय गन्तव्य, शिक्षा र संस्कृतिको केन्द्र बनाउने” बारेमा भएको वृहत छलफल कार्यक्रममा अध्यक्ष विजुक्छेंले “१५ वर्षभित्र भक्तपुर पहिलो साक्षार र प्रत्येक घरमा एक स्नातक वा सो सरहका नाचगान वा चित्रकलाका कलाकार, खेलाडी वा भाषाहरुका ज्ञाता, होटल व्यवस्थापन गर्ने, पर्यटक गाइड वा हस्तकालाका शिक्षक उत्पादन गर्न सकिने” विचार राख्नु भएको थियो । त्यो विचार नै भक्तपुरका जनता, राजनीतिक कार्यकर्ता र जनप्रतिनिधिहरुलाई विकासको लागि अगाडि बढ्ने उर्जा थियो ।

त्यहीबाट भक्तपुरले परिवर्तनको क्रान्तिकारी मोड लियो । भक्तपुर नगरपालिकाले २०५६ सालमा ख्वप उमावि, २०५८ सालमा ख्वप कलेज र ख्वप इन्जिनियरि· कलेज, २०६० सालमा ख्वप बहुप्राविधिक अध्ययन संस्थान, २०६५ सालमा ख्वप कलेज अफ इन्जिनियरि·, त्यस पछि शारदा कलेज/मावि हुँदै २०७९ सालमा ख्वप कलेज अफ ल समेत गरी ७ वटा शैक्षिक संस्थाहरु स्थापना र संचालन गरी शिक्षामा आमूल परिवर्तनको बाटोमा अघि बढ्यो र बढिरहेको छ । साढे दुई दशकको यो शैक्षिक यात्रा पछि भक्तपुर नगरपालिकालाई सरकारले अनुमति प्रदान गर्यो वा विश्व विद्यालय संचालन गर्न आवश्यक विधेयक पारित गरि दियो भने विश्व विद्यालय संचालन गर्ने तयारीसम्ममा अगाडि बढेको छ ।

भक्तपुर एक घर एक स्नातक मात्र होइन, दुई हजारभन्दा बढी इन्जिनियरहरु भएको नगर बन्न पनि सफल भएको छ । भक्तपुर नगरपालिकाद्वारा संचालित ख्वप इ. कलेज र ख्वप कलेज अफ इन्जिनियरि·मा अध्ययन गर्ने नगरका इन्जिनियरहरुको संख्या मात्र पनि २०६७ पुगेको छ । अन्य कलेजहरुबाट उत्तिर्ण भएको संख्यासमेत हिसाब गर्ने हो भने त्यो भन्दा धेरै छन् । क्षेत्रफलको आधारमा हेर्ने हो भने हामी नेपालको कुनै पनि जिल्ला र नगरकोभन्दा बढी इन्जिनियरहरु भएको नगर भनेर भन्न सक्ने अबस्थामा पुगेका छौं ।

आज भक्तपुर घर घरमा गएर स्वास्थ्य उपचार सेवा दिनेदेखि वडा वडामा स्वास्थ्य केन्द्र र १०० शय्याको ख्वप अस्पताल संचालन गरेर स्वास्थ्य सेवा सहज उपलब्ध हुने ठाउँ वा स्वास्थ्य उपचारको केन्द्रको रुपमा विकास भइरहेको नगरको रुपमा परिचित हुँदैछ ।

२०७२ सालको भूकम्पले क्षत विक्षत बनाएको सबैजसो सम्पदाहरु पुनः निर्माण र जीर्णोद्धार गरी भक्तपुरलाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने प्रयास भइरहेको छ । नेपाल आउने पर्यटकहरुमध्ये २५ देखि ३० प्रतिशत पर्यटकहरुले भक्तपुर घुम्ने गरेको रेकर्ड छ । गत आ.व. २०८१/८२ मा साढे दुई लाख पर्यटकहरुले भक्तपुर भ्रमण गरेका थिए । यो वर्ष भाद्र २३ र २४ को आन्दोलन र विभिन्न अन्तर्राष्ट्रिय जगतमा भएको युद्धको कारण देशभित्र आउने पर्यटकहरु प्रभावित भएको छ । त्यसको असर भक्तपुर नगरलाई पनि परेको छ ।

अहिले सफा र सुन्दर नगर बनाउन भक्तपुर नगरपालिकाले मुख्य सडकहरुमा ढु·ा छपाई र तार भूमिगत गर्ने कार्य गरिरहेको छ, खोला सफा गर्न हनुमन्ते र सल्लाघारीमा दुई वटा उपचार पोखरीहरु निर्माणाधीन अवस्थामा छन् । युवाहरुलाई विदेशी भाषाको तालिम, सीपमूलक तालिम दिएर शिक्षासँगै आत्मनिर्भर बनाउने कोशिस गरिरहेको छ ।

यी सबै काम गर्नको निम्ति मार्ग निर्देश गरिएको पुस्तक हो “सय वर्ष पछिको भक्तपुर” । भक्तपुरबारे धेरैले विभिन्न पक्षमा अध्ययन र अनुसन्धान गर्नु भएको छ । सबैले आ–आफ्नो किसिमले भक्तपुरको बारेमा शुक्ष्म विश्लेषण गरी निष्कर्ष निकाल्नु भएको छ ।

त्यसरी भक्तपुरबारे विस्तृत अध्ययन गरी प्रतिवेदन तयार गर्ने २ जना लेखकहरु हुनुहुन्छ –मानवशास्त्रीहरु डा. सुरेश ढकाल र संजिब पोखरेल । आजको यो कार्यक्रममा डा. ढकाल हाम्रो सामु उपस्थित हुनुहुन्छ । उहाँहरुले भक्तपुरमा भएको किसान आन्दोलन, राजनीति र रुपान्तरबारे गहन अध्ययन गर्नुभयो । उहाँहरुले भक्तपुर कसरी बदलियो ? सरसफाई अभियान, भूमिसुधारको आन्दोलन, सार्वजनिक शौचालयको अवस्था, भक्तपुर नगरपालिकाको नेतृत्वबारे सुक्ष्म विश्लेषण गर्नुभयो र निष्कर्ष निकाल्नु भयो –आधुनिकीकरणतर्फ, प्रजातन्त्रतर्फ लक्षित सामाजिक रुपान्तरणको कार्यक्रमले आफ्नो लक्ष्य त्यतिबेला मात्र हासिल गर्न सक्छ जब त्यसले सम्बन्धित जनताको सामाजिक, आर्थिक र साँस्कृतिक अनुभवलाई ध्यान दिन्छ । भक्तपुरबारे अध्ययन अनुसन्धान गर्ने सबैप्रति हार्दिक धन्यवाद दिन्छौं ।

सबैको संयुक्त प्रयासले आज सय वर्ष पछिको भक्तपुरका लेखक विजुक्छेंले देख्नु भएको सपना पूरा गर्ने क्रममा भक्तपुर अगाडि बढ्दैछ । पुस्तकमा उहाँ लेख्नुहुन्छ–“भक्तपुर आश्चर्यजनक नगर हो । बिहान प्राचीन शहर जस्तो, दिउँसो विश्वविद्यालय जस्तो र राती साँची प्राचीन लुगा लगाएकी सुन्दरी वा नर्तकी जस्तो ।”

हो, भक्तपुरले आज स्वदेशी मात्र होइन, विश्वको ध्यान आकर्षित गर्न खोज्दैछ । भक्तपुरले आफूसँग रहेका मूर्त र अमूर्त सम्पदाहरुको महत्वलाई बुझेर संरक्षण गर्दै विश्वकै एक हेर्न लायक नगरको रुपमा विकास गर्ने प्रयास गरिरहेको छ । यो पुस्तकमा केवल भक्तपुरको मात्र होइन, पचास वर्ष पछिको नेपालको रुप रेखा पनि कोरिएको छ । यस पुस्तकलाई हामीले विभिन्न क्षेत्रका बौद्धिक व्यक्तित्वहरुसम्म पुर्याउने कोशिस गर्ने छौं । यस्तो सुन्दर नेपाल र त्यसभित्रको भक्तपुर नगरको भबिष्यको परिकल्पनाकार का. रोहितप्रति भक्तपुर नगरपालिकाको तर्पmबाट हार्दिक आभार व्यक्त गर्दछौं ।

(भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले चैत्र २९ गते नगरपालिकाको आयोजनामा भएको सय वर्ष पछिको भक्तपुर पुस्तकको परिचर्चा कार्यक्रममा व्यक्त गर्नु भएको मन्तव्यको सार संक्षेप )

<form>

 

</form>

Comments