सकियो एकमहिने मखमली जुत्ता बनाउने तालिम
चैत २४, २०८२, मङ्गलबार | राति ०९:३३ बजे | 50
भक्तपुर । भक्तपुर बचत तथा ऋण सहकारी संस्था लिमिटेडको व्यवसाय प्रवद्र्धन उपसमितिको आयोजनामा एकमहिने एडभान्स मखमली जुत्ता बनाउने तालिमको मंगलबार समापन भएको छ ।
यहि फागुन २४ गतेदेखि सुरु भएको उक्त तालिममा जम्मा २४ जना प्रशिक्षार्थी सहभागी रहेका छन् । कार्यक्रममा संस्थाका अध्यक्ष निर्मल प्रजापतिले विद्यार्थी सैनिकको बन्दुक जस्तै भएको बताउँदै सिकेका ज्ञानलाई प्रशिक्षार्थीहरुले कुनै पनि समय र परिस्थितिमा प्रयोग गर्न सकिने किसिमको बन्नुपर्ने औंल्याउनुभयो । उहाँले संस्थाले सदस्य र समाजका लागि व्यक्तित्व विकास गर्ने आधार तयार गरिरहेको बताउनुभयो । शिक्षालाई सिकाइमा उतार्नुपर्ने र सिकाइलाई दैनिक जीवनमा ल्याउनुपर्नेमा जोड दिँदै उहाँले समूहगत रुपमा तालिमबाट सिकेका सिपलाई व्यावसायिक रुपमा काम गर्न सहकारीले विनाधितो ऋण प्रदान गर्न सकिने बताउनुभयो । आफ्नो सिपलाई व्यवहारमा र व्यवहारबाट व्यावसायिक बनाएपछि मात्रै आत्मनिर्भर हुने भएकाले बजारीकरणका लागि समेत तालिमहरु प्रदान गर्न सकिने उहाँको भनाइ छ ।
सबै सहकारीलाई एउटै ठाउँमा राखेर हेर्न नहुने बताउँदै उहाँले स्थानीयबाट चलाएको सामुदायिक सहकारीहरुले सदस्य र समाजप्रति जिम्मेवार भएर काम गरिरहेको औंल्याउनुभयो । साथै सहकारीलाई परिस्कृत गर्न सबैले निरन्तर साथ दिनुपर्ने उहाँको तर्क छ ।
संस्थाका सहसचिव एवम् आयोजक समितिका संयोजक तारादेवी धन्छाले आधारभूत तालिम नलिएकाहरु पनि यो तालिममा रहेकाका लागि फिनिसिङमा केही गाह्रो रहेको भए पनि निकै मेहनत गरेको पाइएको बताउनुभयो । लिएको तालिमलाई व्यावसायिक रुपमा चलाउन अठोट गरे संस्थाले सहयोग गर्ने बताउँदै उहाँले आपूmले विश्वास गरे कुनै पनि काम सानो ठूलो नहुने स्पष्ट पार्नुभयो ।
तालिमका प्रशिक्षक भवानी कैटीले सिकिसकेको सिपको सही सदुपयोग गर्नुपर्ने र निरन्तरता दिई आयआर्जनमा वृद्धि गर्नुपर्ने बताउनुभयो । उहाँले यस तालिमबाट गृहिणीहरुले घर चलाउन थोरै भएपनि योगदान हुने चर्चा गर्दै आवश्यक सामग्री प्राप्त गर्न र होलसेलमा विक्री गर्नुपरे कुनै समस्या नभएको बताउनुभयो ।
कार्यक्रममा प्रशिक्षार्थी रीता सुवाल, आयोजक समितिका सदस्य श्यामकृष्ण दुवाललगायतले बोेल्नुभएको उक्त कार्यक्रममा संस्थाका अध्यक्षबाट प्रशिक्षार्थीलाई प्रमाणपत्र र प्रशिक्षकलाई मायाको चिनो वितरण गर्नुभएको थियो ।
फाेटाेमा हेर्नुहाेस्...
