सुकुन्दा साकोसद्वारा स्वास्थ्य परीक्षण शिविर सम्पन्न, सयौं लाभान्वित
चैत २१, २०८२, शनिबार | राति १०:२३ बजे | 220
चैत्र-२१, भक्तपुर । सुकुन्दा साकोसको आयोजनामा दन्त, रक्तचाप, थाइराइड तथा सुगर सम्बन्धी स्वास्थ्य परीक्षण शिविर वाइजल्याड सेकेन्डरी स्कुल वासिकचामा सम्पन्न भएको छ। स्थानीय समुदाय र सदस्यहरुको स्वास्थ्य अवस्थालाई ध्यानमा राख्दै आयोजना गरिएको उक्त शिविरमा सयौं सर्वसाधारणले सहभागिता जनाएका थिए। उक्त स्वास्थ्य शिविरमा दन्त परीक्षणतर्फ २५ जना, थाइराइड परीक्षणतर्फ ७ जना, सुगर परीक्षणतर्फ ५२ जना तथा रक्तचाप परीक्षणतर्फ १०० भन्दा बढी सेवाग्राहीले स्वास्थ्य परीक्षण गराएको संस्थाका ब्यवस्थापक सानुकाजी चिकन्बजारले जानकारी गर्नुभयो। विशेष गरी रक्तचाप परीक्षणतर्फ उच्च सहभागिता देखिएको आयोजकले जनाएको छ। शिविरमा सहभागी भएका सेवाग्राहीहरूले विशेषज्ञ स्वास्थ्यकर्मीहरूबाट जाँचसँगै आवश्यक परामर्श र स्वास्थ्यसम्बन्धी सुझाव समेत प्राप्त गरेका थिए। चिकित्सकहरूले असन्तुलित जीवनशैली, अनियमित खानपान तथा शारीरिक क्रियाकलापको कमीका कारण उच्च रक्तचाप, मधुमेह (सुगर) तथा थाइराइडजस्ता समस्या बढ्दै गएको उल्लेख गर्दै समयमै परीक्षण गराउन सबैलाई आग्रह गरेका थिए। कार्यक्रममा प्राबिधिक सहयोग गर्नुहुने हार्ट एण्ड डाइवेटिज परिवारका स्वास्थ्यकर्मीहरूले दन्त स्वास्थ्यको महत्व, नियमित चेकजाँचको आवश्यकता, सन्तुलित आहार तथा दैनिक व्यायामको महत्वबारे समेत जानकारी दिएका थिए। विशेषगरी मधुमेह र रक्तचापजस्ता दीर्घरोगहरू प्रारम्भिक चरणमै पहिचान गर्न सके नियन्त्रण गर्न सहज हुने भएकाले यस्ता शिविरहरूको आवश्यकता अझै बढ्दै गएको उनीहरूको भनाइ थियो। स्थानीय बासिन्दाहरूले यस्ता स्वास्थ्य सेवा कार्यक्रमले आफूहरूलाई ठूलो राहत मिलेको बताएका छन्। आर्थिक अभावका कारण नियमित स्वास्थ्य परीक्षण गर्न नसक्ने सर्वसाधारणका लागि यस्ता शिविर अत्यन्त उपयोगी भएको उनीहरूको प्रतिक्रिया थियो। आयोजक सुकुन्दा साकोसका अध्यक्ष राजभाइ माकले सामाजिक उत्तरदायित्व अन्तर्गत स्वास्थ्य शिविर आयोजना गरिएको जनाउँदै आगामी दिनहरूमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका छन्। उहाँले समुदायको समग्र स्वास्थ्य सुधारमा योगदान पुर्याउने उद्देश्यले समय–समयमा स्वास्थ्य तथा जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी दिएका छन्। उक्त स्वास्थ्य शिविरले स्थानीय समुदायमा स्वास्थ्यप्रति सचेतना अभिवृद्धि गर्नुका साथै प्रारम्भिक अवस्थामै रोग पहिचान गर्न महत्वपूर्ण भूमिका खेलेको विश्वास गरिएको छ।
फाेटाेमा हेर्नुहाेस्...
