योग–ध्यानबाट विश्व चेतनामा जोड: “एक विश्व, एक आध्यात्मिक परिवार” अभियान विस्तार
चैत १३, २०८२, शुक्रबार | साँझ ०५:३४ बजे | 195
भक्तपुर, चैत १३ (रामनवमी)
आध्यात्मिक चेतनाको जागरण तथा समग्र मानव कल्याणको उद्देश्यसहित श्रीहरी सेल्फ रियलाइजेसनल फाउन्डेसन ले योग–ध्यानमार्फत “एक विश्व, एक आध्यात्मिक परिवार” अभियानलाई प्रभावकारी रूपमा अघि बढाउँदै आएको छ।
विगत दुई वर्षदेखि निरन्तर आध्यात्मिक साधना, प्रशिक्षण तथा सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको संस्थाले विभिन्न संघ–संस्थासँग सहकार्य गर्दै जीवन रूपान्तरणमुखी कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ।
यसै सन्दर्भमा, रामनवमीको पावन अवसरमा भक्तपुर दरबार क्षेत्रको खोपछेको प्राङ्गणमा फ्युचर साइन फाउन्डेसन सँगको सहकार्यमा बेलायतबाट आएका स्वयंसेवक विद्यार्थीहरूका लागि योग, ध्यान, जीवन दर्शन तथा आध्यात्मिक चिन्तनसम्बन्धी विशेष कार्यक्रम सफलतापूर्वक सम्पन्न गरिएको छ।
कार्यक्रममा संस्थापक अध्यक्ष चन्द्रहरी कायसथा ले योगको मूल सार “Body, Breath, Brain (३B)” को सन्तुलनमा रहेको बताउँदै शरीर, श्वास र मनबीचको समन्वयले नै वास्तविक स्वास्थ्य, शान्ति र आनन्द प्राप्त हुने उल्लेख गर्नुभयो।
उहाँले योगलाई केवल अभ्यास नभई “आनन्दित जीवनशैली” को रूपमा व्याख्या गर्दै विभिन्न योगासन, प्राणायाम तथा ध्यानमार्फत शारीरिक, मानसिक तथा आध्यात्मिक सन्तुलन कायम गर्न सकिने जानकारी दिनुभयो। कार्यक्रममा सूर्य नमस्कार लगायतका अभ्यासहरूलाई सहज, रमाइलो र सहभागितामूलक शैलीमा प्रस्तुत गरिएको थियो।
यसका साथै, संस्थाले “आफ्नो डाक्टर आफै बन्ने” अवधारणालाई प्रवर्द्धन गर्दै भान्सालाई नै औषधालयमा रूपान्तरण गर्ने जीवनशैली, प्राकृतिक उपचार विधि, निद्रा चिकित्सा (Sleep Therapy) तथा व्यक्तिगत स्वास्थ्य परामर्श सेवाहरू समेत प्रदान गर्दै आएको जनाएको छ।
संस्थाले “हीलिङ, रूपान्तरण र आध्यात्मिक एकता” लाई समेट्दै विश्व मानव समुदायलाई एउटै आध्यात्मिक परिवारका रूपमा जोड्ने दीर्घकालीन लक्ष्य लिएको जनाएको छ।
कार्यक्रम उत्साहपूर्ण तथा प्रेरणादायी वातावरणमा सम्पन्न भएको थियो।
.jpeg)