९ दिन जल उपवाससहित दैनिक १०–१८ किमी पैदल यात्रा, चन्द्रहरी कायस्थको आध्यात्मिक साधना 


चैत १२, २०८२, बिहीबार | राति ०७:१६ बजे | 605


९ दिन जल उपवाससहित दैनिक १०–१८ किमी पैदल यात्रा, चन्द्रहरी कायस्थको आध्यात्मिक साधना 

भक्तपुर, चैत १२
चैत्र नवरात्रको अवसरमा श्रीहरि सेल्फ रियलाइजेसन फाउन्डेसनका संस्थापक अध्यक्ष चन्द्रहरी कायस्थले ९ दिनसम्म जल उपवास बस्दै दैनिक १० देखि १८ किलोमिटर पैदल यात्रा पूरा गर्नुभएको छ। विगत २०७९, २०८१ र २०८२ सालदेखि निरन्तर रूपमा नवरात्र साधना गर्दै आउनुभएका उहाँले यस वर्ष पनि विभिन्न मठ–मन्दिरहरूको दर्शन गर्दै साधना सम्पन्न गर्नुभएको हो।
उहाँले उपवास अवधिभर दिनमा दुईपटक—बिहान ११ बजे र साँझ ८ बजे—अदुवा, कागती र मह मिसाइएको पानी मात्र सेवन गर्नुभएको जानकारी दिनुभयो।
उक्त साधनाबारे उठ्ने प्रश्नहरूको जवाफमा कायस्थले “खाना शरीर निर्माणको तत्त्व मात्र हो, शक्ति दिने मुख्य स्रोत ध्यान र निद्रा हो” भन्ने धारणा राख्नुभयो। साथै उहाँले “खानाबाट शक्ति प्राप्त हुन्छ” भन्ने दाबी प्रमाणित गर्न चुनौती दिँदै १० दिनसम्म नसुती बाँच्न सक्ने व्यक्तिलाई १५ लाख रुपैयाँ पुरस्कार दिने घोषणा गर्नुभएको छ।
चैत्र दशैंको अवसरमा भक्तपुरको सिरुटारस्थित विन्दवासिनी मन्दिरमा आयोजित कार्यक्रममा उहाँले १७७ वटा ठाडा सिँढी तीनपटक उकालो–ओरालो गर्दै आफ्नो शारीरिक तथा मानसिक क्षमता प्रदर्शन गर्नुभएको थियो। उक्त कार्यक्रम आठ दिनको जल उपवासपछि सम्पन्न गरिएको जनाइएको छ।
कार्यक्रममा स्थानीय जेष्ठ नागरिक समूह, भद्र महिला समूह, योग साधक तथा प्रशिक्षक, सञ्चारकर्मी, सुरक्षाकर्मी तथा सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको थियो।
कायस्थले आयुर्वेदिक दृष्टिकोण प्रस्तुत गर्दै शरीरमा “मल, पित्त र कफ” को असन्तुलन नै रोगको मुख्य कारण भएको र यसको शुद्धिकरणबाट स्वास्थ्य सुधार सम्भव हुने बताउनुभयो।
रामनवमीको अवसरमा उहाँले “राम” लाई आत्मतत्त्वको रूपमा व्याख्या गर्दै ध्यानमार्फत आत्मज्ञान प्राप्त गर्न सकिने सन्देश दिनुभएको थियो। कार्यक्रमको अन्त्य छोटो ध्यान अभ्याससहित गरिएको थियो।
२५ वर्षभन्दा बढी समयदेखि आध्यात्मिक साधनामा संलग्न कायस्थले १०५ भन्दा बढी देशका व्यक्तिहरूमा आध्यात्मिक चेतना फैलाउने कार्य गरिसकेको दाबी गर्नुभयो। अब नेपालमै एक आध्यात्मिक आश्रम स्थापना गरी निःशुल्क रूपमा ज्ञान, ध्यान तथा जीवनशैलीसम्बन्धी सेवा प्रदान गर्ने योजना रहेको उहाँले जानकारी दिनुभयो।

Comments