ललितपुरमा शाक्य–वज्राचार्य समुदायको नगर परिक्रमा सहित विशाल कार्यक्रम आयोजना हुने
चैत ११, २०८२, बुधबार | साँझ ०५:५४ बजे | 635
ललितपुर । ललितपुरमा शाक्य–वज्राचार्य समुदायले सांस्कृतिक बाजागाजासहित नगर परिक्रमा तथा बृहत् जनसभा आयोजना गर्ने भएको छ। शाक्य वज्राचार्य समाज यलले बुधबार पत्रकार सम्मेलन गरी कार्यक्रम चैत १३ गते आयोजना गरिने जनायो ।
कार्यक्रम अन्तर्गत बिहानदेखि नै विभिन्न स्थान हुँदै नगर परिक्रमा (र्याली) गरिनेछ। परिक्रमा हौगल, नःघा, ओकुबहाल, पाटन क्षेत्रका विभिन्न टोलहरू हुँदै पुनः निर्धारित स्थानमा पुग्नेछ। सांस्कृतिक बाजागाजा, परम्परागत झाँकी र समुदायको सहभागितासहित कार्यक्रम भव्य बनाइने आयोजकले जनाएको छ। त्यसपछि दिउँसो बृहत् जनसभा तथा गोष्ठी कार्यक्रम सञ्चालन हुनेछ। कार्यक्रममा बौद्ध धर्म, संस्कृति, सामाजिक सुदृढीकरण, आर्थिक सशक्तिकरण र राज्यसँगको सम्बन्धजस्ता विषयमा छलफल गरिनेछ। विभिन्न विद्वान तथा वक्ताहरूले आ–आफ्नो धारणा प्रस्तुत गर्ने कार्यक्रम रहेको छ।
समाजका अनुसार, शाक्य–वज्राचार्य समुदायको एकता, हक–हित तथा सांस्कृतिक पहिचान सुदृढ गर्ने उद्देश्यले यस्तो कार्यक्रम आयोजना गरिएको हो। साथै, नयाँ पुस्तामा सांस्कृतिक चेतना अभिवृद्धि गर्ने लक्ष्य पनि राखिएको छ।
पत्रकार सम्मेलनमा शरणकुमार शाक्यको संयोजकत्वमा तयारी समिति गठन गरिएको जनाइयो । सम्मेलनमा संयोजक संयोजक शाक्यले सम्पूर्ण समुदाय, सरोकारवाला तथा सर्वसाधारणलाई कार्यक्रममा सहभागी हुन आग्रह गरे।
