मध्यपुर थिमिमा खुल्ला धिमेबाजा प्रतियोगिता हुने


चैत ४, २०८२, बुधबार | दिउँसो १२:१० बजे | 370


मध्यपुर थिमिमा खुल्ला धिमेबाजा प्रतियोगिता हुने

भक्तपुर — मध्यपुर थिमि नगरपालिकाको आयोजना तथा श्री राज गणेश धिमे खलःको सहकार्यमा खुल्ला धिमेबाजा प्रतियोगिता आयोजना गरिने भएको छ। प्रतियोगिताबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमार्फत आयोजकले विस्तृत कार्यक्रम सार्वजनिक गरेको हो।

पत्रकार सम्मेलनमा नगरपालिकाले मध्यपुर थिमि ऐतिहासिक, सांस्कृतिक र नेवारी परम्पराले समृद्ध क्षेत्र भएको उल्लेख गर्दै यहाँका जात्रा, पर्व र सांस्कृतिक गतिविधिमा धिमेबाजाको महत्वपूर्ण भूमिका रहेको जानकारी दिएको छ। विशेषगरी बिस्का जात्रा लगायतका अवसरमा धिमेबाजाले सांस्कृतिक पहिचान जोगाउन महत्वपूर्ण योगदान दिँदै आएको छ।

आयोजकका अनुसार प्रत्येक वर्ष आयोजना हुँदै आएको धिमेबाजा प्रतियोगिताले नयाँ पुस्तामा परम्परागत बाजा संरक्षण र हस्तान्तरण गर्न सहयोग पुगेको छ। यस्ता प्रतियोगितामा उपत्यकाभित्रका विभिन्न धिमे खलः तथा समूहहरूको सहभागिता रहने गर्दछ। विगतमा समेत यस्ता प्रतियोगितामा दर्जनौँ समूह सहभागी भएका थिए र विजेताहरूलाई नगद तथा ट्रफी पुरस्कार प्रदान गरिँदै आएको छ।

यस वर्षको प्रतियोगिता चैत ३० गतेदेखि सुरु हुने बताइएको छ। साथै, बिस्का जात्राको अवसरमा धिमेबाजासहित सांस्कृतिक कार्यक्रमहरू पनि प्रस्तुत गरिनेछन्। आयोजकले प्रतियोगितामार्फत संस्कृति संरक्षण, युवा सहभागिता वृद्धि तथा पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने विश्वास व्यक्त गरेको छ।

कार्यक्रममा विगतका उपलब्धिहरू समेत प्रस्तुत गर्दै आयोजकले विभिन्न प्रतियोगितामा सहभागी भई प्रथम, द्वितीय तथा तृतीय स्थान हासिल गरेको उल्लेख गरेको छ। साथै, स्थानीय तह र समुदायको सहयोगले धिमे बाजा संस्कृति जोगाउन निरन्तर प्रयास भइरहेको पनि जनाइएको छ।

अन्त्यमा आयोजकले यस कार्यक्रमलाई सफल बनाउन नगर प्रमुख, उपप्रमुख तथा स्थानीय जनप्रतिनिधिहरूलाई धन्यवाद ज्ञापन गरेको छ।

फाेटाेमा हेर्नुहाेस्...

मध्यपुर थिमिमा खुल्ला धिमेबाजा प्रतियोगिता हुने

Comments

ताजा खबर