भक्तपुरमा परम्परागत औद्योगिक सम्पदा सम्बन्धी अन्तरक्रिया
फाल्गुन २८, २०८२, बिहीबार | साँझ ०६:३९ बजे | 540
भक्तपुर, २९ फागुन । भक्तपुर घरेलु तथा साना उद्योग संघ, भक्तपुर पर्यटन विकास समिति र 'गो लोकल' को संयुक्त आयोजनामा "परम्परागत औद्योगिक सम्पदा" सम्बन्धी अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न भएको छ। सो अवसरमा भक्तपुर घरेलु तथा साना उद्योग संघका अध्यक्ष श्यामसुन्दर श्रेष्ठले गो लोकल अभियान अन्तर्गत भक्तपुरको मौलिक उत्पादन र सीपलाई सम्पदाका रूपमा संरक्षण गर्दै पर्यटनसँग जोड्ने उद्देश्यले उक्त कार्यक्रम आयोजना गरिएको जानकारी गराउनु भयो ।
कार्यक्रममा सहजकर्ता एव गो लोकल कार्यक्रमका सह संयोजक रामसुन्दर भेलेले विभिन्न क्षेत्रका सम्पदाहरुको जानकारी गराउनुका साथै भक्तपुरको मौलिक पहिचान र यसको संरक्षणका चुनौतीहरूबारे आफ्ना धारणा राख्दै गो लोकल अन्तर्गत परम्परागत औद्योगिक सम्पदा (Traditional industrial heritage) को अवधारणबारे कार्यपत्र प्रस्तुत गर्नु भई भक्तपुरको सन्दर्भमा यसको महत्त्वमाथि प्रकाश पार्नुभयो। उद्यमी एव गो लोकलका संयोजक बिरेन्द्र जतिले भक्तपुरको प्रसिद्ध ताईचिन चिउराको सांस्कृतिक र ऐतिहासिक पक्षबारे जानकारी गराउँदै यसलाई सांस्कृतिक सम्पदाको रूपमा जोगाउनुपर्नेमा जोड दिनुभयो।साथै उहाँले यहाँको मठ मन्दिर पाटी पौवा मात्र सम्पदा नभई यहाँको स्थानीय चाँडपर्व रितिरिवाज परम्परालाई आवश्यक बस्तुहरु उत्पादन गर्ने उद्योगहरु पनि सम्पदाको रुपमा विकास गर्नुपर्ने धारणा राख्नुभयो ।त्यसैगरी गो लोकलका सदस्य प्रेम खर्बुजाले हाम्रो दैनिक जीवन र संस्कृतिमा चामलको सांस्कृतिक महत्त्व र यससँग जोडिएका परम्पराहरूबारे चर्चा गर्नुभयो।साथै विगतमा भक्तपुरमा सयौ चामल मील रहेकोमा हाल मुस्किलले केही संख्यामामात्र संचालन रहेको हुन्दा सम्पदा र सस्कृतिको महत्वबारे नयाँपुस्तालाई जानकारी गराउन नसके सस्कृति सगै उद्यमीपनि लुप्त हुन सक्ने धारणा राख्नभयो ।
त्यसैगरी जु जु धौ व्यवशायी रमिला दुवालले घरेलु उद्योग प्रविधि मैत्री बन्दै गएको हुन्दा परम्परागत शैलीलाई पनि जिवन्त राख्न सके यस्ता उद्योगको महत्व अझ बढी हुने विचार राख्नुभयो । स्टोरी साईकलका सौरभ ढकालले हाल सञ्चालनमा रहेका परम्परागत उद्योगहरूको डिजिटल म्यापिङ गर्नुपर्ने र यहाँको उत्पादनदेखि उपभोगसम्मको 'जीवनचक्र' (Life Cycle) अध्ययन गर्नुपर्ने सुझाव दिनुभयो।साथै यहाँका उद्योगले नजिकै उत्पादन भएका कच्चा पर्दार्थमात्र प्रयोग गरे उद्योगबाट कार्वन विसर्जन पनि कम हुने जानकारी गराउनु भयो ।कार्यक्रममा नेपाल पर्यटन बोर्डका सुधन सुवेदीले कुनै पनि अनुभव गर्न सकिने अभौतिक सम्पदा (Intangible Heritage) लाई कथा (Storytelling) मार्फत प्रस्तुत गर्दा पर्यटन प्रवर्द्धनमा ठूलो सहयोग पुग्ने बताउनुभयो।
साथै उद्योग तथा वाणिज्य कार्यालयका कार्यालय प्रमुख रामप्रसाद कुस्माले परम्परागत उद्योगलाई सम्पदाको रूपमा विकास गर्न स्पष्ट नीति आवश्यक रहेको उल्लेख गर्दै स्थानीय, प्रदेश र संघीय सरकारलाई यस सम्बन्धि रचनात्मक सुझाव दिँदै आवश्यक ऐन नियम बनाउन दबाब दिनुपर्नेमा उहाँको जोड थियो।कार्यक्रममा भक्तपुर घरेलु तथा साना उद्योग संघले गो लोकल अन्तर्गतका उत्पादनहरुलाई एकैथलोमा राखि प्रस्तुती देखाउन सके आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्न सकिने सुझावहरु दिनुभयो । साथै उहाले भक्तपुरका मुख्य मुख्य मौलिक उत्पादन सम्बन्धमा पर्यटन क्षेत्रमा कार्य गरिरहेका संस्थाहरुलाई नै राम्ररी जानकारी नभएको कारण परम्परागत उद्योगहरुमा पर्यटनहरुको आगमन कम भएको बताउनु भयो ।
कार्यक्रममा पत्रकार कृष्ण किसी ,भक्तपुर घरेलु तथा साना उद्योग संघका पुर्व अध्यक्ष रामसुन्दर खाताखो ,भक्तपुर घरेलु तथा साना उद्योग संघका उपाध्यक्ष हरिगोपाल त्वायना, सचिव श्रीजना कक्षपति, सदस्य सुस्मा श्रेष्ठ, सदस्य आकाश बादे तथा भक्तपुर पर्यटन विकास समितिका अध्यक्ष दिपेश शर्माले गो लोकल परम्परागत औद्योगिक सम्पदा एउटा उदाहरणीय कार्य हुने अपेक्षा राख्नुभयो ।
.jpg)