भक्तपुरमा ‘डाइनामिक कप इन्लाइन स्केटिङ प्रतियोगिता २०२६’ हुने


फाल्गुन २६, २०८२, मङ्गलबार | राति ०८:४४ बजे | 215


भक्तपुरमा ‘डाइनामिक कप इन्लाइन स्केटिङ प्रतियोगिता २०२६’ हुने

भक्तपुर । नेपालमा इन्लाइन स्केटिङ खेलको विकास, प्रवर्द्धन तथा विद्यालयस्तरका प्रतिभावान खेलाडीलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतिस्पर्धाका लागि अवसर प्रदान गर्ने उद्देश्यले ‘डाइनामिक कप इन्लाइन स्केटिङ प्रतियोगिता २०२६’ आयोजना हुने भएको छ।

प्रतियोगिता नेपाल स्केटिङ तथा स्केटबोर्डिङ संघको समन्वय तथा सहयोगमा भक्तपुरस्थित डाइनामिक स्केट क्लब र काठमाडौं वर्ल्ड स्कुलको सहकार्यमा आयोजना हुन लागेको हो। यसबारे जानकारी दिन आयोजकले पत्रकार सम्मेलनसमेत गरेको छ।

आयोजकका अनुसार प्रतियोगिता आगामी फागुन ३० गते (१४ मार्च २०२६) शनिबार भक्तपुरस्थित काठमाडौं वर्ल्ड स्कुलमा सञ्चालन गरिनेछ। प्रतियोगितामा देशका विभिन्न विद्यालयका उल्लेखनीय संख्यामा खेलाडीहरूको सहभागिता रहने अपेक्षा गरिएको छ।

प्रतियोगितामा विभिन्न उमेर समूहका खेलाडीबीच प्रतिस्पर्धा गराइनेछ भने महिला र पुरुष दुवै विधामा प्रतिस्पर्धा हुनेछ। उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई मेडल, शिल्ड तथा प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ। साथै उत्कृष्ट खेलाडीहरूलाई अन्तर्राष्ट्रिय स्तरको रोलर डर्बी वर्ल्ड स्केट च्याम्पियनसिपमा सहभागी हुनका लागि छनोट प्रक्रियामा समावेश हुने अवसर पनि प्रदान गरिनेछ।

नेपालमा स्केटिङ खेललाई विद्यालयस्तरबाटै विकास गर्ने उद्देश्यसहित प्रतियोगिता आयोजना गरिएको आयोजकको भनाइ छ। यसबाट युवा खेलाडीहरूको प्रतिभा उजागर हुनुका साथै भविष्यमा अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न सक्ने खेलाडी उत्पादन हुने विश्वास गरिएको छ।

प्रतियोगिताको विस्तृत विवरणअनुसार

  • मिति: १४ मार्च २०२६ (फागुन ३०) शनिबार

  • स्थान: काठमाडौं वर्ल्ड स्कुल, भक्तपुर

नेपालमा स्केटिङ खेलको विकास तथा युवा खेलाडीको प्रतिभा अभिवृद्धिमा सञ्चार माध्यमहरूको महत्वपूर्ण भूमिका रहने विश्वासका साथ कार्यक्रमको समाचार सम्प्रेषण तथा प्रचारप्रसारमा सहयोग गर्न आयोजकले आग्रह गरेका छन्।

फाेटाेमा हेर्नुहाेस्...

भक्तपुरमा ‘डाइनामिक कप इन्लाइन स्केटिङ प्रतियोगिता २०२६’ हुने

Comments