यी चार कारण जसले भक्तपुरमा नेमकिपाको हार भयो
फाल्गुन २६, २०८२, मङ्गलबार | विहान ११:५६ बजे | 475
भक्तपुर क्षेत्र नं. १ मा मतगणना सुरु भएदेखि देखिएको अवस्थाले धेरै मानिसहरूलाई गम्भीर रूपमा सोच्न बाध्य बनाएको छ। दशकौँदेखि यो क्षेत्र मादल को अटल गढ मानिँदै आएको थियो। यही कारणले यहाँको राजनीतिक परिणामलाई सधैं विशेष ध्यानले हेरिने गरिएको थियो। तर आजको मतगणनाले एउटा महत्वपूर्ण सन्देश दिएको छ। जुन ठाउँमा मादलले विगतमा बारम्बार स्पष्ट बहुमतसहित चुनाव जित्दै आएको थियो, त्यही पार्टी आज पराजयको दिशातर्फ अग्रसर देखिनु सामान्य घटना होइन। चुनावमा हार–जित हुनु स्वाभाविक छ, तर भक्तपुर जस्तो ऐतिहासिक गढबाट यस्तो परिणाम देखिनु गम्भीर आत्मसमिक्षाको माग गर्छ।
१ वडादेखि नगरपालिकासम्मः जनताको असन्तुष्टि किन बढ्यो?
पछिल्ला केही वर्षमा वडादेखि नगरपालिका तहसम्मका केही जनप्रतिनिधिहरूको व्यवहारप्रति जनतामा असन्तुष्टि बढ्दै गएको कुरा विभिन्न ठाउँमा सुनिँदै आएको थियो। सामान्य प्रशासनिक कामका लागि पनि नागरिकहरूले अनावश्यक झन्झट र कठिनाइ भोग्नुपरेको अनुभव धेरैले बताएका छन्। चाहे त्यो देशकै सबैभन्दा शिक्षित वडाध्यक्ष नै किन नहोस्, सार्वजनिक सेवामा रहेपछि व्यवहार जनताप्रति सहज र जिम्मेवार हुनुपर्ने अपेक्षा स्वाभाविक हो। तर व्यवहारमा कहिलेकाहीँ त्यसको विपरीत अवस्था देखिएको भन्ने गुनासाहरू सार्वजनिक रूपमा आएका छन्। सामाजिक सञ्जालमा बाहिर आएका भिडियोहरूले पनि यस्तो अवस्थाको झलक दिँदै थिए तर ती विषयलाई समयमै गम्भीरतापूर्वक सम्बोधन गरिएन भन्ने धारणा नागरिकमा विकसित भयो।
जनताको आवाज सुन्न चुकियो
अर्को महत्वपूर्ण प्रश्न उठ्छ के जनताको समस्या समयमै बुझिएको थिएन, कि बुझेर पनि प्राथमिकताका साथ सम्बोधन गर्न खोजिएको थिएन? धेरै नागरिकहरूले आफ्ना गुनासा र समस्याहरू विभिन्न माध्यमबाट व्यक्त गर्दै आएका थिए। तर ती आवाजहरूलाई गम्भीर रूपमा सुन्ने र समाधान खोज्ने प्रक्रिया कमजोर भएको जस्तो अनुभूति धेरैमा थियो। जब नागरिकहरूलाई आफ्नो आवाज सुन्ने कोही छैन भन्ने महसुस हुन्छ, असन्तुष्टि विस्तारै राजनीतिक निर्णयमा परिणत हुन्छ।
२ इट्टापाके विवाद र धम्कीपूर्ण भाषाः जनताको धैर्यको सीमा
भक्तपुरमा लामो समयदेखि चर्चामा रहेको डेको–इट्टापाके भूमि विकास परियोजना सार्वजनिक बहसको विषय बनेको थियो। यस विषयमा विभिन्न मतभेद र असन्तुष्टि देखिँदै आएका थिए। यस क्रममा केही वडास्तरीय प्रतिनिधिहरूका विवादास्पद भिडियोहरू सार्वजनिक भए। समस्या समाधान खोज्नुको साटो कतिपय अवस्थामा दबाब वा चेतावनी दिने शैली देखिएको आरोप लागे। आन्दोलनरत किसानहरूप्रति “घर–घर आएर कुट्ने“ वा “लखेट्ने“ जस्ता धम्कीपूर्ण अभिव्यक्ति प्रयोग भएको भन्ने कुरा पनि चर्चामा आयो। लोकतान्त्रिक समाजमा जनप्रतिनिधिबाट यस्तो भाषा स्वाभाविक रूपमा अस्वीकार्य मानिन्छ। यसमाथि, दशकौँसम्म एउटै राजनीतिक शक्ति प्रभावशाली रहँदा केही व्यक्तिहरूमा आएको अत्यधिक दम्भ र घमण्डले पनि जनताको सहनशीलताको सीमा पार गरेको भन्ने धारणा समाजमा गहिरिँदै गएको थियो।
३ आजको मतको सन्देशः जनताभन्दा शक्तिशाली कोही हुँदैन
आजको मतगणनाले एउटा स्पष्ट र शक्तिशाली सन्देश दिएको छ जनताभन्दा शक्तिशाली कोही हुँदैन।जुन ठाउँमा दशकौँसम्म एउटै राजनीतिक शक्ति अजेय ठानिएको थियो, त्यही ठाउँमा पनि जनताको भावना, समस्या र असन्तुष्टिलाई बेवास्ता गरिँदा परिणाम बदलिन्छ। “हामीले जे गरे पनि हुन्छ, जे भने पनि हुन्छ, चुनाव जितिहालिन्छ“ भन्ने मानसिकता दीर्घकालसम्म टिक्दैन आजको अवस्थाले त्यही प्रमाणित गरेको छ।
४ अन्तिम विचारः हार होइन, अवसर
आज आएको मत केवल अंक मात्र होइन यो जनताको चेतना र सन्देश हो। यसलाई केवल हार–जितको दृष्टिले हेर्नु पर्याप्त हुँदैन। यो जनताको भावना बुझ्ने र आत्मसमिक्षा गर्ने अवसर हो। यदि समयमै गम्भीर समिक्षा गरेर जनताको विश्वास पुनः जित्ने प्रयास गरियो भने भविष्यमा परिस्थिति बदलिन सक्छ। तर यदि पुरानै घमण्ड र आत्मसन्तुष्टिमा अडिग रहने हो भने, आगामी दिनहरूमा अझ ठूलो राजनीतिक परिवर्तनको सम्भावनालाई नजरअन्दाज गर्न मिल्दैन।
जनता को कुरा नसुन्ने र कार्यकर्ता मात्र पोस्ने सुनिल प्रजापति । सृजनानगर मा पटक पटक मापदण्ड बिपरित पर्खाल भत्काउन भन्दा वास्ता नगर्ने मेयर के काम। घमण्ड को पराकास्ताको परिणाम हो । म पनि पहिले ने म कि पा थिए येस्पाली देखि घण्टी भाको हो
चुपचाप बस्ने होइन, घोषणा–पत्र पढौँ र बुझौँ । सचेत नागरिक बनौँ । देश र जनताको हितका लागि समर्पित भई प्रश्नका तीखा वाणहरूले वर्तमान उम्मेदवारहरूलाई जवाफदेही बनाऔँ । राष्ट्रको उज्ज्वल भविष्य निर्माणका लागि देशैभरबाट नेपाल मजदुर किसान पार्टीका उम्मेदवारहरूलाई मादल चिन्हमा मतदान गरी विजयी गराऔँ । फेसबुकबाट
