तेजेश्वरबाबुको आँंखामा निर्वाचन


फाल्गुन २१, २०८२, बिहीबार | दिउँसो १२:४८ बजे | 110


तेजेश्वरबाबुको आँंखामा निर्वाचन

इतिहासकार एवं साहित्यकार तेजेश्वरबाबु ग्वंगःको अनुहारमा सधैंजसो एक किसिमको शान्त मुस्कान देखिन्छ। समयले उनको कपाल सेताम्मे बनाइसकेको छ, चाल सुस्त भएको छ तर आँखामा चमक अझै बाँकी छ। त्यो चमक हो - लोकतन्त्रप्रतिको भरोसा र मतदानप्रतिको आस्था।

‘४२ वर्षको उमेरमा ९२ वर्षका बुबालाई डोर्‍याएर २०३६ सालको जनमतसंग्रहमा मतदान गर्न गएको हिजो जस्तो लाग्छ,’ ९२ वर्षमा हिँड्दै गरेका ग्वंगः विगत सम्झन्छन्, ‘अहिले त्यस्तै दिन फेरि आएको छ।’

उनी आफैं अहिले बुबाको उमेरमा पुगेका छन्। उनको घुँडामा बल कम भएको छ, आँखाको ज्योति अलि मधुरो भएको छ तर मनको उज्यालो उस्तै छ। ग्वंगःका ४२ वर्ष हाराहारीका छोराले बिहीबार उनलाई डोर्‍याएर मतदान केन्द्रमा लैजाने छन्।

२०१५ सालको निर्वाचन नेपालको पहिलो संसदीय अभ्यास थियो। ग्वंगः त्यतिबेला किशोरावस्थाको अन्त्यतिर थिए। मानिसका लागि त्यो केवल मत हाल्ने प्रक्रिया थिएन, त्यो स्वतन्त्र नागरिक भएको अनुभूति थियो। ‘त्यसबेला चुनावको चर्चा हुँदा मान्छे निकै उत्साहित हुन्थे,’ उनी भन्छन्, ‘उम्मेदवारहरू भविष्यका सपना देखाउँथे।’

त्यो बेला जनता पहिलोपटक आफ्ना प्रतिनिधि छान्दै थिए। ग्वंगःका लागि त्यो लोकतन्त्रको पहिलो पाठशाला थियो। उनले पहिलो पटक मत हाल्न लाममा बसेका मानिस देखेका थिए। त्यो संसदीय अभ्यासले निरन्तरता पाउन सकेन। संसद् गठन भएको करिब डेढ वर्षमै राजनीतिक परिवर्तनले दिशा फे¥यो। तर २०१५ सालले नेपाली जनतालाई मतदानको स्वाद भने चखाएको थियो।

२०३६ को जनमतसंग्रह

२०३६ सालमा देश फेरि एउटा ऐतिहासिक मोडमा उभियो। पञ्चायती व्यवस्थालाई निरन्तरता दिने कि बहुदलीय व्यवस्थातर्फ फर्कने यो प्रश्नले देश तातेको थियो। ग्वंगः त्यतिबेला ४२ वर्ष र उनका बुबा ९२ वर्षका थिए। उमेरले थकित भए पनि ग्वंगःका बुबाको मन राजनीतिक चेतनाले भरिएको थियो। ‘मैले बुबालाई हात समातेर मतदान केन्द्र पुर्‍याएँ,’ ग्वंगः सम्झन्छन्, ‘भोट हाल्न लाम लाग्दा बुबाको अनुहारमा खुसी झल्किएको थियो।’

त्यो दृश्य आज पनि उनको आँखामा ताजै छ। जनमतसंग्रहको परिणामले पञ्चायती व्यवस्थालाई निरन्तरता दियो। धेरै निराश भए तर ग्वंगःका लागि त्यो घटना लोकतन्त्रको अर्को पाठ थियो - जनताको निर्णय स्वीकार गर्नुपर्छ।

त्यसपछि पनि ग्वंगःले थुप्रै निर्वाचनमा सहभागिता जनाए। उनले हरेक चुनावमा परिवर्तनको आश राखे, मुलुक राम्ररी अगाडि बढ्ने विश्वास राखे। उनका लागि मतदान केवल राजनीतिक कर्तव्य होइन, जीवनको निरन्तरता पनि हो, पुस्ताले पुस्तालाई दिएको विश्वास हो। लोकतन्त्र भनेको केवल व्यवस्था होइन, सम्बन्ध हो। स्मृति हो अनि आशा पनि हो।

‘सबै चुनावले अपेक्षित परिणाम दिएका छैनन्। कतिपय नेताले वाचा पूरा गरेका छैनन्। राजनीतिक अस्थिरता, निराशा र आलोचना पनि छन्,’ उनले भने, ‘तर चुनावले जहिले पनि आशा जगाउँछ। मत हाल्ने क्षणमा नागरिकले आफूलाई शक्तिशाली ठान्छ, ठान्नुपर्छ।’

ग्वंगःको जीवन तीन फरक राजनीतिक चरणको साक्षी बनेको छ। पहिलो संसदीय अभ्यास, दोस्रो पञ्चायती कालको जनमत र तेस्रो  लोकतान्त्रिक अभ्यास। उनले व्यवस्था बदलिएको देखेका छन्, संविधान फेरिएको देखेका छन्, नेताहरू अग्लिएको र गिरेको देखेका छन्।

सम्भवतः बिहीबार मतदान केन्द्रतर्फ जाँदा उनले छोराको काँध समाउँछन्। उनको मनमा बुबाको सम्झना छ। ‘उहाँ (बुबा) ले पनि यही बाटो हिँड्नुभएको थियो,’ उनी भन्छन्, ‘म पनि लोकतन्त्रको त्यही बाटो अंगाल्दै छु।’

उमेरका कारण कमजोर भएका ग्वंगःमा मत खसाल्न लालायित छन्। त्यसैले उनी अरुलाई पनि मत हाल्न हौसला दिन्छन्। ‘निर्धक्क भएर मतदान गर्नुस्। मत हाल्नु भनेको केवल उम्मेदवार रोज्नु होइन,’ उनी भन्छन्, ‘आफ्ना सन्तानका लागि भविष्य रोज्नु हो।’

समयले भूमिका फेरिरहन्छ। बुबा छोरा बन्छन्, छोरा बुबा बन्छन् तर लोकतन्त्रको यात्रा निरन्तर चलिरहन्छ। ग्वंगःको जीवनले यही सिकाउँछ। मतदान केवल कर्तव्य होइन, स्मृति हो, आशा हो।

Comments