श्री श्याम सुन्दर रास भजन मण्डल
फाल्गुन १४, २०८२, बिहीबार | दिउँसो १२:५६ बजे | 65
डा इन्दुल केसी
पृष्ठभूमी
भक्तहरूको शहर भक्तपुर । भक्तपुरबासीको भक्त हृदयमा भगवानको भक्तिका लागि आफ्नो घरटोलको पायक पर्ने स्थानमा भजन गुठी स्थापना गर्ने बृत्ति उत्पन्न हुन गयो, परमात्माको कृपाले । यसरी वृत्ति उठाउने भक्तहृदयहरू हुनुहुन्थ्यो स्व. श्री रत्नलाल सैंजू, स्व. पण्डित श्री केदारनाथ झा, स्व. श्री लोकमान सैंजू, श्री विष्णुभक्त मुनंकर्मीका साथै अन्य भक्त हृदयहरू । भक्तहरूको भक्तिमय इच्छालाई साकार पार्दै लीला पुरुषोत्तम भगवान श्री कृष्णको प्रेरणाबाट वि.सं. १९९३ मा यस टोलमा यस भजन गुठीको स्थापना हुन गयो । सायद भक्तहरूको निवासस्थान भएकोले नै भक्तपुर नाम रहन गएको होला ।
२) यसरी स्थापित भजन गुठीमा वि.सं. १९९३ देखि वि.सं. २०७२ साल सम्म नित्य भजन भइ नै रहेको थियो । वि.सं. २०७२ को भूकम्पले यो भजन घर भत्किन पुग्यो । त्यसपछि फेरि भक्तहरूले भजन घर निर्माण गर्ने पहल गर्नुभयो । यस पहललाई सहयोग गर्दै भक्तपुर नगरपालिकाका प्राविधिक इन्जिनियरले लागत इष्टिमेट तयार गर्नुभयो । रु.१,५०,००,०००।– (एक करोड पचास लाख) लागत अनुमान ठूलो नै थियो र त्यसलाई पुर्ण गराउनका लागि टोलवासीहरूको सहमतिमा स्थापना कालका भजनगुठी संस्थापक समाजसेवी पण्डित केदारनाथ झाका सुपुत्र समाजसेवी डा. इन्दुल के.सी.को अध्यक्षतामा गठन गरिएको निर्माण समितिले आवश्यक स्रोत साधन जुटाउन पहल ग¥यो । केही दाताहरूको सहयोगको साथै अथक प्रयासबाट नेपाल सरकार पुरातत्व विभागले भजन गुठीका लागि आवश्यक पर्ने भजन घर निर्माणका लागि बजेट विनियोजन ग¥यो र भक्तपुर दरवार हेरचाह कार्यालयद्वारा यो सहयोग भगवान श्रीकृष्ण, राधा र रुक्मिणीको श्रीविग्रह सुन्दर मूर्ति स्थापना गर्दै भजन कार्य सञ्चालनका लागि ४ तल्लाको परम्परागत शैलीको भजन घर निर्माण गर्ने कार्य सम्पन्न गरियो ।
हाल यस भजनघरमा वाद्यवादनसहित नित्य सङ्गीतमय भजन, कीर्तन, पूजा सम्पन्न हुँदै आएको छ । भक्तहरूको उल्लेख्य उपस्थिति समेत रहने गरेको छ । नित्य भजनलाई थप बल पु¥याउन समय–समयमा अन्य भजन गुठीहरूलाई समेत आमन्त्रण गरेर बृहत् भजन कार्यक्रम सञ्चालन गर्ने र विभिन्न भजन गुठीका सदस्यहरूलाई सम्मानित गर्ने कार्य समेत हँुदै आएको छ । यसरी नै यस भजनगुठी घरमा कथावाचन, सत्संग, पुराणवाचनको व्यवस्था समेत भइआएको छ ।
स्थापना कालदेखि नै उत्कृष्ट भजन गुठीको रूपमा आफूलाई प्रस्तुत गर्न सकेको यस भजन गुठीले हरेक वर्ष दारु पूजा लगायतका धार्मिक कार्यहरु सञ्चालन गरिआएको छ । यस भजनका संस्थामध्येका डा. इन्दुल के.सी.का पिता प. केदारनाथ झा हुनुहुन्थ्यो । उहाँ यस मन्दिरका पुजारी पण्डित पनि हुनुहुन्थ्यो ।
०००
