भक्तपुर बचतको अध्ययन भ्रमण सिन्धु, सगुन र जागरण साकोसमा
फाल्गुन १०, २०८२, आइतबार | राति ०९:३४ बजे | 205
भक्तपुर, १० फागुन
भक्तपुर बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सहकारी अध्ययन भ्रमण सिन्धुलीको सिन्धु बचत, सर्लाही हरिवनको सगुन बचत र मकवानपुरगढीको जागरण बचतमा भएको छ । सहकारी अध्ययन भ्रमण यहि फागुन ६ गतेदेखि ९ गतेसम्ममा सम्पन्न भएको हो ।
अध्ययन भ्रमणको पहिलो दिन भक्तपुर बचतले बुधबार सिन्धुलीको कमलामाई नगरपालिका वडा नं. ६ धुराबजारमा अवस्थित सिन्धु बचत तथा ऋण सहकारी संस्था लिमिटेडमा अध्ययन गरेको थियो । उक्त सहकारीका अध्यक्ष जंग बहादुर राईले सबैजसो सहकारीमा आएको चुनौती नै आफ्नो चुनौती रहेको बताउँदै अहिलेको राष्ट्रिय सहकारी प्राधिकरण, सहकारी विभाग, नगरपालिकालगायतका नीति निर्देशनले सहकारी चलाउनमा समस्या आएको बताउनुभयो । उहाँले बचत तथा ऋणसम्बन्धी संस्थाको व्यवस्थाबारे बताउँदै बजार सानो र माग कम भएकाले लगानीमा आएको समस्याको बारेमा स्पष्ट पार्नुभयो । उहाँले संस्थाले हरसम्भव सुशासन र पारदर्शितामा लाग्ने बताउँदै दुई संस्थाबीचको सम्बन्ध कायम गरिराख्ने बताउनुभयो । सिन्धु बचतका व्यवस्थापक सुरेश कुमार ज्यू ठकुरीले संस्थाको आर्थिक अवस्थाबारे स्पष्ट पार्दै माघ मसान्तसम्मको वासलात ४१ करोड ४१ हजार रुपैयाँ रहेको बताउनुभयो ।
त्यस्तै भक्तपुर बचतले सर्लाहीको हरिवन वडा नं. ११ मा रहेको सगुन बचत तथा ऋण सहकारी संस्थाको बिहिबार अध्ययन भ्रमण गरेको छ । अध्ययन भ्रमणको क्रममा संस्थाका अध्यक्ष केशव प्रसाद ढकालले आफ्नो संस्थाको बारेमा स्पष्ट पार्दै संस्थामा गर्भदेखि स्वर्गसम्मको सेवा सुविधा भएको बताउनुभयो । जम्मा १ अर्ब ९० करोडको वासलात रहेको उक्त संस्थामा १४ हजार जना सदस्यको १५ करोड शेयरपूँजी रहेको स्पष्ट पार्दै उहाँले आफै मालिक, आफ्नै बचत, आफैलाई लगानी, आफैलाई प्रतिफल भन्ने नाराअनुसार कार्य भैरहेको बताउनुभयो । संस्थाका सूचना अधिकारी निरोज कुमार दाहालले संस्थाको वित्तीय अवस्थाबारे प्रस्तुतीकरण गरेको थियो ।
भक्तपुर बचतले शुक्रबार मकवानपुरगढी वडा न.. ३ हेटौडामा रहेको जागरण बचत तथा ऋण सहकारी संस्थामा अध्ययन भ्रमण गरेको छ । संस्थाका अध्यक्ष शत्रुधन दुलालले साहुको ब्याजबाट जनतालाई उन्मुक्ति दिलाउन संस्था स्थापना भएको बताउँदै उहाँले सुरुदेखि अहिलेसम्म पनि महिलाकै बाहुल्यताबाट सञ्चालनमा रहेको औंल्याउनुभयो । संस्थाका व्यवस्थापक मेनुका दाहालले संस्थाको बारेमा प्रस्तुतीकरण गरेको उक्त कार्यक्रममा संस्थाले ल्याएका २० वटा नीति, १६ वटा कार्यविधि र ८ वटा निर्देशिकाबारे जानकारी दिएको थियो ।
भक्तपुर बचतका अध्यक्ष निर्मल प्रजापतिले तीनवटै संस्थामा भक्तपुर बचतको बारेमा स्पष्ट पार्दै सिद्धान्तभन्दा बाहिर गएर कारोबार गर्ने संस्थाका लागि तरलता नै चुनौती भइरहेको बताउनुभयो । उहाँले सदस्यको आर्थिक, सामाजिक र सांस्कृतिक पक्षलाई सँगै लिएर अघि बढिरहेको बताउनुभयो ।समुदायमा केन्द्रित भई सुसंस्कृत समाजको निर्माणको लागि संस्था अघि बढिरहेको स्पष्ट पार्दै उहाँले भाखा नाघेका ऋणी बढ्नु, ऋण लगानीमा कमी आउनु र तरलता व्यवस्थापन गर्न कठिनाइ हुनु सहकारीको चुनौती भएको बताउनुभयो ।
अध्ययन भ्रमणमा आफूले राखेका प्रस्तुतीमा भएको जिज्ञासा दुवै पक्षबाट मेटाउँदै मायाको चिनो साटासाट भएको थियो ।