प्रजातन्त्र दिवसमा १ सय २३ ले गरे रक्तदान
फाल्गुन ८, २०८२, शुक्रबार | साँझ ०५:३४ बजे | 145
सागर गुरागाईं
मध्यपुर थिमि – मध्यपुर थिमि नपा ८ मिलरोडस्थित ग्लाड स्टोन एकेडेमीद्धारा आयोजित रक्तदानमा १ सय २३ जनाले रक्तदान गरेका छन् । राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा आयोजित उक्त १७ औं रक्तदानमा ५८ महिला र ६५ पुरुषसहित १ सय २३ जनाले रक्तदान गरेको उक्त कार्यक्रमका संयोजक नवराज खड्काले जानकारी दिनुभयो । ग्लाड स्टोन एकेडेमी र पतञ्जली योग समिति भक्तपुरको संयुक्त आयोजनामा भएको उक्त रक्तदान कार्यक्रममा ग्लाड स्टोन एकेडेमीका प्रधानाध्यापक विनोद कुमार कोइराला लगायतका शिक्षकशिक्षिका, पूर्वविद्यार्थी, अभिभावक, योग साधक साधिकाहरु एवं स्थानीय वासिन्दाहरुले रक्तदान गरेका थिए । ग्लाड स्टोन समुदायमा भन्ने नारा अनुसार विगत १६ वर्षदेखि फागुन ७ गते राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा हरेक वर्ष बृहत रक्तदान कार्यक्रम आयोजना गर्दै आएको कार्यक्रम संयोजक नवराज खड्काले जानकारी दिनुभयो । कार्यक्रममा रक्तदाताहरुले आफूले ५७ पटक रक्तदान गरिसकेको बताएका थिए । कार्यक्रममा ग्लाड स्टोन एकेडेमीका प्रधानाध्यापक विनोद कुमार कोइरालाले १८ वर्ष पुरा गरेका प्रत्येक स्वस्थ युवायुवतीले ३=३ महिनामा रक्तदान गर्न सक्ने जानकारी दिदैं रक्तदान गर्नु अरुको जीवन बचाउनु सरह भएको धारणा राख्नु भयो । कार्यक्रममा पतञ्जली योगसमिति भक्तपुरका अध्यक्ष नित्यनाथ श्रेष्ठले रक्तदान मार्फत व्यक्तिको जीवन बचाउन र सामाजिक जनउत्तरदायित्व पुरा गर्ने प्रयास गरिएको बताउनु भयो । अध्यक्ष श्रेष्ठले ग्लाड स्टोन एकेडेमीसँगको सहकार्यमा रक्तदान कार्यक्रम आयोजना गर्न पाउँदा आफूहरु प्रसन्न भएको धारणा राख्नुभयो । ग्लाडस्टोन एकेडेमीको प्राथमिक भवनमा उक्त रक्तदान कार्यक्रम आयोजना गरिएको थियो ।
