सिरुटारमा निःशुल्क आयुर्वेदिक स्वास्थ्य शिविर सम्पन्न
फाल्गुन ६, २०८२, बुधबार | राति ०७:३४ बजे | 80
सूर्यविनायक नगरपालिका–१, सिरुटारमा एकदिने निःशुल्क आयुर्वेदिक स्वास्थ्य शिविर तथा औषधि वितरण कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।
२०८२ साल फागुन ६ गते बुधबारका दिन श्री सोमलिङ्गेश्वर आधारभूत विद्यालयको प्राङ्गणमा सम्पन्न उक्त शिविर सिरुटार वडास्तरीय जेष्ठ नागरिक समिति र आयुर्वेद परामर्श सेवा, चित्रपुर (सूर्यविनायक–४) को संयुक्त आयोजनामा सञ्चालन गरिएको हो।
शिविरमा बालकोट, सिरुटार, दधिकोट तथा लुभु क्षेत्रका स्थानीय बासिन्दा, अभिभावक, विद्यार्थी, शिक्षक, कर्मचारी तथा जेष्ठ नागरिकहरूको उल्लेखनीय सहभागिता रहेको थियो। शिविरमा विभिन्न रोगहरूको परीक्षण गरी आयुर्वेदिक औषधि निःशुल्क वितरण गरिएको आयोजकले जनाएको छ।
कार्यक्रममा आयुर्वेद विशेषज्ञहरू डा. सबरी शाह, डा. विजय कुशबाह र डा. किरिति राउतको सक्रिय सहभागिता रहेको थियो भने सहयोगीको रूपमा पिंकी महासेठ, चन्द्रिका महत्व तथा विद्यालय परिवारको समेत योगदान रहेको थियो।
साधारण औपचारिक कार्यक्रम जेष्ठ नागरिक समन्वय समितिका अध्यक्ष बाबुशरण श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा प्रमुख अतिथिहरूले आयुर्वेदिक उपचार पद्धतिको महत्व र यसप्रतिको जनचेतना अभिवृद्धिमा यस्ता शिविरहरूले खेल्ने भूमिकाबारे प्रकाश पारे।
स्वागत मन्तव्य राख्दै विद्यालयकी प्रधानाध्यापक मञ्जु बस्नेतले आयुर्वेदिक औषधि तत्काल प्रभाव नदेखिए पनि नियमित र दीर्घकालीन सेवनले स्वास्थ्यमा सकारात्मक असर गर्ने उल्लेख गर्दै सबैलाई धैर्यका साथ औषधि सेवन गर्न अनुरोध गर्नुभयो।
अतिथिको मन्तव्यका क्रममा डा. सबरी शाहले करिब ८० प्रतिशत रोग खानपान र जीवनशैलीका कारण लाग्ने उल्लेख गर्दै शिविरको उद्देश्य उपचारसँगै जनचेतना अभिवृद्धि गर्नु रहेको बताउनुभयो। समितिका उपाध्यक्ष रामबहादुर थापाले जेष्ठ नागरिकका लागि विभिन्न गतिविधि गर्दै आएको समितिले पहिलोपटक आयुर्वेदिक शिविर आयोजना गरेको र आगामी दिनमा यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो।
शिविर सफल बनाउन स्थानीय संस्था, स्वयंसेवक तथा श्री नशा: धिमे खल:का अध्यक्ष प्रेमकृष्ण श्रेष्ठ विशेष सहयोग रहेको थियो साथै श्रीहरि सेल्फ रियलाइजेशन फाउन्डेशनका अध्यक्ष चन्द्रहरि कायस्थकोले पनि कार्यक्रमप्रति ऐक्यबद्धता जनाउँदै आगामी दिनमा निरन्तर सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
शिविरमा जम्मा १५८ जना बिरामीको स्वास्थ्य परीक्षण गरिएको थियो। तीमध्ये सबैभन्दा जेष्ठ नागरिक ९७ वर्षीय पुनकुमार कायस्थले पनि सहभागिता जनाई स्वास्थ्य परीक्षण गराउनुभएको थियो। “स्वास्थ्य नै अमूल्य धन हो, उमेरसँगै स्वास्थ्यप्रति अझ सचेत हुनुपर्छ,” भन्ने भाव व्यक्त गर्दै उहाँले कार्यक्रमप्रति आभार प्रकट गर्नुभयो।
कार्यक्रमको उद्घोषण जेष्ठ नागरिक समितिका सचिव बालकृष्ण श्रेष्ठले सरल र मिठासपूर्ण शैलीमा सञ्चालन गर्नुभएको थियो। बिहानदेखि खटिएको टोलीका लागि चिया, नास्ता तथा खानाको व्यवस्था सूर्यविनायक नगरपालिका–१ को वडा कार्यालयबाट गरिएको थियो।
यस किसिमका स्वास्थ्य शिविरहरूले स्थानीय बासिन्दाहरूमा स्वास्थ्यप्रति सचेतना बढाउनुका साथै आयुर्वेदिक उपचारप्रति विश्वास अभिवृद्धि गरेको आयोजकहरूको निष्कर्ष रहेको छ।
फाेटाेमा हेर्नुहाेस्...
