श्रीहरी सेल्फ रियलाइजेसनल फाउन्डेसन र रोट्र्याक क्लब अफ भक्तपुरको सहकार्यमा विशेष साउन्ड हिलिङ कार्यक्रम सम्पन्न


फाल्गुन ३, २०८२, आइतबार | विहान ११:३४ बजे | 300


श्रीहरी सेल्फ रियलाइजेसनल फाउन्डेसन र रोट्र्याक क्लब अफ भक्तपुरको सहकार्यमा विशेष साउन्ड हिलिङ कार्यक्रम सम्पन्न

“एक विश्व, एक आध्यात्मिक परिवार” सन्देशसहित भक्तपुरमा साउन्ड हिलिङद्वारा युवामा शान्ति र चेतनाको जागरण
श्रीहरी सेल्फ रियलाइजेसनल फाउन्डेसन र रोट्र्याक क्लब अफ भक्तपुरको संयुक्त आयोजनामा युवाहरूको शारीरिक, मानसिक तथा भावनात्मक स्वास्थ्य सुदृढीकरण गर्ने उद्देश्यसहित विशेष साउन्ड हिलिङ कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।
कार्यक्रम आज मिति २०८२ साल फागुन २ गते शनिबार, भक्तपुरको कमलविनायकस्थित माउन्ट भ्याली स्कुलको सभाहलमा साँझ ४ बजेदेखि ६ बजेसम्म आयोजना गरिएको थियो। कार्यक्रममा रोट्र्याक क्लब अफ भक्तपुरका युवासदस्यहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रमको उद्देश्यबारे जानकारी दिँदै आयोजक संस्थाका अध्यक्ष रवि गोर्खालीले वर्तमान समयको तीव्र र प्रतिस्पर्धात्मक जीवनशैलीका कारण युवाहरूमा बढ्दै गएको मानसिक तनाव, चिन्ता, अनिद्रा, डिप्रेसन तथा भावनात्मक असन्तुलन न्यूनीकरण गर्न यस्ता चेतनामूलक तथा उपचारात्मक कार्यक्रम अत्यन्त आवश्यक रहेको उल्लेख गर्नुभयो।
कार्यक्रमका मुख्य प्रस्तोता चन्द्रहरी कायस्थ हुनुहुन्थ्यो। उहाँ श्रीहरी सेल्फ रियलाइजेसनल फाउन्डेसनका संस्थापक अध्यक्ष हुनुका साथै अन्तर्राष्ट्रिय योग, ध्यान तथा हिमालयन साउन्ड हिलिङका प्रशिक्षक र २६ भन्दा बढी वैकल्पिक उपचार विधामा दक्ष विज्ञ हुनुहुन्छ।
उहाँले साउन्ड हिलिङलाई शारीरिक, मानसिक र भावनात्मक सन्तुलन कायम गर्ने प्रभावकारी उपचार विधिको रूपमा प्रस्तुत गर्दै ध्यान, ध्वनि तरङ्ग, सहज शारीरिक–मानसिक अभ्यास तथा गहिरो विश्राममार्फत सहभागीहरूलाई आत्मिक शान्ति, मानसिक स्पष्टता र आन्तरिक आनन्दको अनुभूति गराउनुभएको थियो।
“एक विश्व, एक आध्यात्मिक परिवार बनौँ; स्वस्थ, खुसी, प्रेमपूर्ण, ज्ञानी र शान्तिपूर्ण जीवन बाँचौँ र अरूलाई पनि बाँच्न सिकाऔँ” भन्ने मूल सन्देशसहित फाउन्डेसनले मानव चेतनाको उत्थान र विश्व शान्तिको प्रवर्द्धनका लागि निरन्तर कार्य गर्दै आएको उहाँले स्पष्ट पार्नुभयो।
कार्यक्रममा सहभागी युवाहरूले साउन्ड हिलिङमार्फत आफूहरूले गहिरो शान्ति, मानसिक हलुकापन, सकारात्मक ऊर्जा र आन्तरिक आनन्दको अनुभूति गरेको प्रतिक्रिया व्यक्त गरेका थिए। बढ्दो तनाव, फ्रस्ट्रेसन, डिप्रेसन तथा अनिद्राका समस्याहरूका लागि साउन्ड हिलिङ प्रभावकारी उपाय हुन सक्ने अनुभूति व्यवहारमै प्राप्त भएको उनीहरूको भनाइ थियो।
कार्यक्रममा फाउन्डेसनका कोषाध्यक्ष राजेन्द्र कुमार शाक्य, विशेष सल्लाहकार तथा प्रेरक वक्ता विकासदेव योञ्जन लामालगायतको उपस्थिति रहेको थियो। वक्ताहरूले यस्ता कार्यक्रम विद्यालय, कलेज, सहकारी, संघ–संस्था तथा समुदायस्तरमा नियमित रूपमा विस्तार गर्नुपर्ने आवश्यकता औँल्याउँदै यसले समाजमा बढ्दै गएको मानसिक स्वास्थ्य समस्याको समाधानमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो।
अन्त्यमा सबै सहभागीहरूद्वारा शान्ति पाठ, आनन्द पाठ तथा ‘ॐ शान्ति मंगल पाठ’ वाचनसहित कार्यक्रम शान्त, सौहार्दपूर्ण र सकारात्मक वातावरणमा सम्पन्न गरिएको थियो।

Comments