भोलिदेखि भक्तपुरभरि एचपीभी खोप दिइने 


माघ २५, २०८२, आइतबार | राति ०८:१६ बजे | 130


भोलिदेखि भक्तपुरभरि एचपीभी खोप दिइने 

भक्तपुर । देशभर जस्तै भोलि माघ २६ गतेदेखि भक्तपुरभरि एचपीभी खोप सञ्चालन हुने भएको छ । जिल्लाका चार वटै नगरपालिकाहरुमा लक्षित समूहका किशोरीहरुलाई स्कुलस्कुलमा पुगेर खोप दिइने भएको हो । 
स्वास्थ्य कार्यालय कटुञ्जे भक्तपुरले आइतबार जिल्लाका पत्रकारहरुसँंग अन्तरक्रिया गरी जिल्लाका चारवटा नगरपालिकामा कक्षा ६ का विद्यार्थी तथा विभिन्न उमेर समूहका लक्षित किशोरी–किशोरहरूको तथ्यांक सार्वजनिक गरिएको छ । सार्वजनिक तथ्यांकअनुसार जिल्लाभर कक्षा ६ मा अध्ययनरत विद्यार्थीको संख्या ३ हजार ८४९ पुगेको छ ।
ती सवै किशोरीहरुलाई स्कुलस्कुलमा स्वास्थ्यकर्मी पुगेर खोप दिइने कार्यालयका प्रमुख अन्जना खड्काले बताइन् । उनले विगत वर्षदेखि सुरु भएको खोप अभियान यो वर्ष दोश्रो भएको र अर्काे वर्षदेखि छुटेकालाई नदिइने भएकाले सम्पूर्णलाई किशोरीहरुलाई अनिवार्य खोप लगाउन अनुरोध गरिन् । 
तथ्यांकअनुसार सूर्यविनायक नगरपालिकामा कक्षा ६ का विद्यार्थी ८८४ जना रहेका छन् भने १० वर्ष उमेर समूहका किशोरी–किशोर ७१ जना छन् । सो नगरपालिकामा कक्षा ७ देखि १० छाडेका विद्यार्थी ३० जना र ११–१४ वर्ष उमेर समूहका किशोरी–किशोर २० जना रहेका छन् ।
मध्यपुर थिमि नगरपालिकामा कक्षा ६ का विद्यार्थी ९२१ जना रहेका छन् । यहाँ १० वर्ष उमेर समूहका किशोरी–किशोर २६ जना भए पनि कक्षा ७–१० छाडेका तथा ११–१४ वर्ष उमेर समूहका किशोरी–किशोरको संख्या शून्य देखिएको छ ।
भक्तपुर नगरपालिकामा कक्षा ६ मा अध्ययनरत विद्यार्थीको संख्या सबैभन्दा बढी १ हजार ५१५ रहेको छ । यद्यपि, यहाँ लक्षित १० वर्ष उमेर समूह, कक्षा ७–१० छाडेका तथा ११–१४ वर्ष उमेर समूहका किशोरी–किशोरको संख्या शून्य रहेको तथ्यांकमा उल्लेख छ । त्यसैगरी, चाँगुनारायण नगरपालिकामा कक्षा ६ का विद्यार्थी ५२९ जना रहेका छन् भने १० वर्ष उमेर समूहका किशोरी–किशोर ६६ जना छन् । कक्षा ७–१० छाडेका तथा ११–१४ वर्ष उमेर समूहका किशोरी–किशोरको संख्या यहाँ पनि शून्य देखिएको छ ।
जिल्ला समग्रमा हेर्दा १० वर्ष उमेर समूहका किशोरी–किशोरको संख्या १६३ पुगेको छ । कक्षा ७–१० छाडेका विद्यार्थी ३० जना र ११–१४ वर्ष उमेर समूहका किशोरी–किशोर २० जना रहेको तथ्यांकले देखाएको छ ।
शिक्षा तथा बालबालिका लक्षित कार्यक्रमहरू प्रभावकारी बनाउन यस्ता तथ्यांक उपयोगी हुने सरोकारवालाहरूले बताए ।
यो वर्ष माघ २६ गतेदेखि फागुन १ गतेसम्म विद्यालय केन्द्रित खोप अभियान थाल्ने जानकारी गराइयो । यस क्रममा छुटेका छात्राहरुलाई फागुन ४ र ५ गते खोप दिइने जनाइएको छ । त्यसको लागि ती दुई दिन स्वास्थ्य संस्थाहरु (चौकी) माफर्त् खोप दिइने योजना राखिएको छ । 
 

फाेटाेमा हेर्नुहाेस्...

भोलिदेखि भक्तपुरभरि एचपीभी खोप दिइने 

Comments