भक्तपुर नगरव्यापी प्रगतिशिल गीत प्रतियोगितामा बागीश्वरी मावि प्रथम
माघ २४, २०८२, शनिबार | राति ०८:०७ बजे | 150
भक्तपुर । नेपाल मजदुर किसान पार्टी (नेमकिपा) को ५२ औं स्थापना दिवसको अवसरमा नेमकिपा भक्तपुर नगरपालिका वडा नं १० समितिको आयोजनामा शनिबार भएको भक्तपुर नगरव्यापी प्रगतिशिल गीत प्रतियोगितामा बागीश्वरी मावि च्याम्हासिंह प्रथम हुन सफल भएको छ । प्रतियोगितामा दोश्रो कमिलागल्ली दिदीबहिनी समूह भक्तपुर नगरपालिका वडा नं ९ हुन सफल भयो । तेश्रो जेन्युइन सेकेण्डरी स्कुल भक्तपुर नगरपालिका वडा नं १० भयो । साथै जेलाँं साँस्कृतिक समाज भक्तपुर नगरपालिका वडा नं ८ सान्त्वना भयो ।
प्रतियोगितामा प्रथम हुनेले १५ हजार, दोस्रोले १० हजार र तेस्रोले ५ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरियो । साथै सान्त्वना पुरस्कारस्वरूप २ हजार रुपैयाँ प्रदान गरिएको थियो । प्रतियोगितामा सहभागी हुन प्रति समूह दर्ता शुल्क २०० रुपैयाँ निर्धारण गरिएको थियो ।
प्रतियोगिताका विजयीहरुलाई नेमकिपा भक्तपुरका अध्यक्ष सुरेन्द्रराज गोसाईले पुरस्कार तथा प्रमाणपत्र प्रदान गरे । कार्यक्रममा नेपाल क्रान्तिकारी महिला संघ भक्तपुरका अध्यक्ष सृजना सैंजू, नेमकिपा भक्तपुर नगर समितिका प्रतिनिधि गंगाराज ज्याख्वलगायतले पनि आआफनो धारणा राखेका थिए ।
प्रतियोगितामा प्रगतिशिल भाबका २३ वटा गीतहरु प्रस्तुत गरिएका थिए । प्रतियोगिता विहानदेखि दिनभर चलेको थियो । प्रतियोगिता हेर्न सयौं मानिसको भीड लागेको थियो । प्रतियोगितामा नेपाली र नेपाल भाषा दुई वटा भाषामा गीत प्रस्तुत गरिएका थिए ।
प्रगियोगितामा जाग उठ युवा हो, जाग जनता.., पोचिङ तयमेत झिगु ल्हा.. (बाँंधेर नबसौं हाम्रो हात), रगतले बनेको हो देश.., कहाँं छ र संसार हाँंसेको.. लगायतका क्रान्तिकारी गीतले दर्शकहरुको रगत तताएको थियो ।
आयोजक समितिका अध्यक्ष लक्ष्मी चवालले प्रगतिशील तथा समसामयिक विषयवस्तुमा आधारित गीतहरूलाई प्राथमिकता दिइएको बताए । प्रतियोगितामा गीतको लय परम्परागत हुनुपर्ने नियम राखिएको उनले जनाए । गीत बढीमा तीन चलन (अन्तरा) सम्मको हुनुपर्ने र प्रस्तुति समय पाँच मिनेट तोकिएको उनले जनाए ।
पाँच मिनेटभन्दा बढी समय लिएमा अंक कटौती गरिने आयोजकले व्यवस्था मिलाएको थियो । प्रतियोगितामा मञ्चमा वाद्यवादक र गायकसहित कम्तीमा पाँच जना र बढीमा १२ जनासम्म सहभागी हुन सक्ने व्यवस्था गरिएको थियो । ट्याकको प्रयोग निषेध गरिएको थियो भने आवश्यक वाद्यवादक सहभागी स्वयंले व्यवस्थापन गर्नुपर्ने थियो । सहभागी गीतहरूको मूल्यांकन शब्द संयोजन, संगीतात्मक लय, सुर–ताल, अनुशासन, समयको परिपालना, भाव सम्प्रेषण तथा प्रस्तुतीकरणका आधारमा गरिने व्यवस्था थियो ।
कार्यक्रममार्फत प्रगतिशील सांस्कृतिक चेतनाको विकास र जनचेतना अभिवृद्धि गर्ने उद्देश्य कार्यक्रमको उद्देश्य रहेको आयोजकले जनायो । गीत संगीतमाफत् जनतामा सचेतना जगाउन कार्यक्रम गरिएको आयोजकले जनायो ।
फाेटाेमा हेर्नुहाेस्...
