चाँगुका सवै स्कुलका छात्राहरुलाई ईपीआई खोप लगाइदिने
माघ २२, २०८२, बिहीबार | साँझ ०५:३७ बजे | 445
भक्तपुर । भक्तपुरको चाँगुनारायण नगरपालिकाले आर्थिक वर्ष २०८२÷०८३ का लागि ईपीआई (एचपीभी) खोप सेवा सञ्चालनसम्बन्धी वार्षिक योजना सार्वजनिक गरेको छ । सार्वजनिक योजना अनुसार माघ २६ गतेदेखि खोप सेवा सुरु हुनेछ ।
चाँंगुनारायण नगरपालिका स्वास्थ्य शाखाले विहीबारको बैठकमा माघ २६ गतेदेखि विद्यालय केन्द्रित खोप अभियान थाल्ने जनाइयो । शाखा प्रमुख दिलकुमार दुवालले माघ २६ गतेदेखि फागुन १ गतेसम्म विद्यालय केन्द्रित खोप अभियान थाल्ने जानकारी गराए । त्यस अनुसार नगरपालिका क्षेत्रभित्र ४४ विद्यालयमा कक्षा ६ मा अध्ययनरत छात्राहरु विद्यालयविद्यालयसम्मै पुगी खोप लगाइदिने योजना रहेको उनले सुनाए । नगरपालिकाभरिमा ४६ वटा विद्यालयहरुमा दुई वटा विद्यालयमा कक्षा ६ मा छात्रा शुन्य रहेकाले ४४ वटा विद्यालयहरुमा कक्षा ६ मा अध्ययनरत विद्यार्थीलाई खोप लगाइदिने उनले जनाए ।
कार्यक्रममा नगर प्रमखु जीवन खत्रीले प्रभावकारी खोप सेवाका लागि सरोकारवालाहरुलाई निर्देशन दिए । उनले भविष्यका छात्राहरुलाई पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप दिई क्यान्सर रोगबाट बचाउनुपर्ने बताए ।
कार्यक्रममा नगरपालिकाअन्तर्गत रहेका स्वास्थ्य संस्थाहरूबाट प्रदान हुने खोप सेवाको लक्षित संख्या, आवश्यक खोप सामग्री, जनशक्ति र सेवा सञ्चालन मितिसहितको विस्तृत योजना तयार गरिएको जानकारी गराइयो ।
योजनाअनुसार चाँगुनारायण नगरपालिकाका वडा–१ देखि ९ सम्म रहेका स्वास्थ्य चौकी, शहरी स्वास्थ्य केन्द्र तथा चाँगुनारायण अस्पताल मार्फत नियमित खोप सेवा सञ्चालन गरिनेछ । दुबाकोट स्वास्थ्य चौकी, झौखेल स्वास्थ्य चौकी, शहरी स्वास्थ्य केन्द्र झौखेल, दुवाकोट स्वास्थ्य चौकी, बागेश्वरी स्वास्थ्य चौकी, सुडाल स्वास्थ्य चौकी, चाँगुनारायण अस्पताललगायतका स्वास्थ्य संस्थाहरू योजनामा समेटिएका छन् ।
योजनामा विद्यालय जाने उमेर समूहका बालबालिका तथा ९० प्रतिशतभन्दा बढी किशोरीहरूलाई लक्षित गर्दै विभिन्न प्रकारका खोपहरू—बीसीजी, डीपीटी, पोलियो, एमआर, टिडी लगायत—को आवश्यक मात्रा अनुमान गरिएको छ । साथै, खोप सेवा सञ्चालनका लागि आवश्यक सिरिन्ज, सेफ्टी बक्स, भ्याक्सिन क्यारियर तथा अन्य सामग्रीको व्यवस्थापनसमेत गरिएको छ ।
नगरपालिकाका अनुसार खोप केन्द्रहरूको संख्या विद्यालय र अन्य स्थानमा निर्धारण गरिएको छ भने खोप सेवा सञ्चालनका लागि स्वास्थ्यकर्मी तथा स्वयंसेवकको व्यवस्थापन पनि गरिएको छ । खोप सेवा अधिकांश केन्द्रहरूमा नियमित रूपमा मिति तोकी सञ्चालन गरिने उल्लेख छ ।
नगर स्वास्थ्य शाखाले बालबालिका र किशोरीहरूको स्वास्थ्य सुरक्षाका लागि खोप सेवा अत्यन्तै प्रभावकारी भएको बताउँदै लक्षित समूहका अभिभावक तथा सरोकारवालालाई सेवामा सक्रिय सहभागिता जनाउन आग्रह गरेको छ ।
फाेटाेमा हेर्नुहाेस्...
