भक्तपुर क्षेत्र नम्बर-२ यस पटक अझ बढी चर्चामा
माघ १७, २०८२, शनिबार | राति ०९:०२ बजे | 180
भक्तपुर : ऐतिहासिक, सांस्कृतिक र राजनीतिक रूपमा सधैं अलग पहिचान बनाउँदै आएको भक्तपुर फेरि एक पटक राजनीतिक केन्द्रमा उभिएको छ। फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन आउन अब ३२ दिनमात्र बाँकी रहँदै गर्दा यहाँको राजनीतिक तापक्रम दिनानु दिन बढ्दै गएको छ।
गल्ली-गल्लीमा चुनावी चर्चा छ, चिया पसलदेखि टोल सभा र सामाजिक सञ्जालसम्म बहसको विषय एउटै छ- यो पटक भक्तपुरले कसलाई रोज्ला? लामो समयदेखि नेपाल मजदुर किसान पार्टीको बलियो पकड मानिँदै आएको यो जिल्ला पनि अहिले परिवर्तन र निरन्तरताको दोधारमा देखिएको छ। एकातिर दशकौंदेखि कायम राजनीतिक विरासत जोगाउने प्रयास छ भने अर्कातिर त्यो ‘किल्ला’ भत्काएर नयाँ शक्ति स्थापित गर्ने आकांक्षा। यही द्वन्द्वले भक्तपुरको चुनावलाई सामान्य फरक र चासोपूर्ण बनाइदिएको छ।
भक्तपुरमा दुई वटा संसदीय निर्वाचन क्षेत्र छन्। दुवै क्षेत्रमा पुराना, अनुभवी र परिचित अनुहारहरू दोहोरिएका छन् भने केही नयाँ अनुहारहरूले पनि राजनीतिक भाग्य परीक्षण गरिरहेका छन्। क्षेत्र नम्बर-१ मा नेपाल मजदुर किसान पार्टीका प्रेम सुवाल चौथो पटक प्रतिनिधिसभा सदस्य बन्ने प्रयासमा छन्। पार्टी अध्यक्ष नारायणमान बिजुक्छेले २०४८ देखि २०७० सम्म लगातार जितेर बनाएको विरासतलाई सुवालले पछिल्ला निर्वाचनहरूमा निरन्तरता दिँदै आएका छन्। यो क्षेत्र नेमकिपाको ‘कोर क्षेत्र’ मानिन्छ, जहाँ संगठन, कार्यकर्ता र मतदाताबीचको सम्बन्ध अन्य दलका लागि चुनौतीपूर्ण रहँदै आएको छ।
तर, यस पटकको चुनाव सहज छैन। एमाले, कांग्रेससहितका दल र स्वतन्त्र उम्मेदवारहरू नेमकिपाको परम्परागत मताधारमा चिरा पार्ने योजनामा छन्। एमालेबाट चाँगुनारायण नगरपालिकाका पूर्व प्रमुख सोम मिश्र र कांग्रेसबाट नेपाल बार एशोसिएसन भक्तपुरका पूर्व अध्यक्ष किरण न्यौपाने चुनावी मैदानमा उत्रिएका छन्। स्थानीय प्रशासनिक अनुभव र कानुनी पृष्ठभूमि बोकेका यी उम्मेदवारहरूले मतदातालाई नयाँ विकल्प दिन खोजिरहेका छन्।
यस क्षेत्रमा २५ जनाको उम्मेदवारी परेको भए पनि मुख्य प्रतिस्पर्धा सुवाल, मिश्र र न्यौपानेकै वरिपरि केन्द्रित हुने देखिएको छ। अन्य पार्टीहरू आम जनता पार्टीका देवेन्द्र ठाकुर, उज्यालो नेपाल पार्टीका रमेश मल्ल, राष्ट्रिय जनमोर्चाका ईश्वरीप्रसाद पैयानी, जसपा नेपालका श्यामसुन्दर शिल्पकार, नेकपा (माओवादी) का चन्द्रमान कोजू, श्रम संस्कृति पार्टीका विष्णुहरि न्हिसुतू, नेकपा संयुक्तका दामोदर काफ्ले, प्रगतिशील लोकतान्त्रिक पार्टीका रवि खाइजूलगायत उम्मेदवार छन्।
क्षेत्र नम्बर-२ भने यस पटक अझ बढी चर्चामा छ। सूर्यविनायक र मध्यपुर थिमि नगरपालिकालाई समेटेको यो क्षेत्रलाई निर्वाचनकै ‘केन्द्र’ मान्न थालिएको छ। यसको प्रमुख कारण हुन्- नेकपा एमालेका सचिव महेश बस्नेत। उनी यस क्षेत्रबाट तेस्रो पटक प्रतिनिधिसभा सदस्य बन्ने प्रयासमा छन्। २०७४ सालमा पूर्व सभामुख दमननाथ ढुंगानालाई पराजित गर्दै संसद पुगेका बस्नेत २०७९ मा भने नेपाली कांग्रेसका दुर्लभ थापासँग झिनो मतान्तरले पराजित भएका थिए। त्यस पराजयलाई उनले राजनीतिक जीवनको ‘ब्रेक’ नभई ‘क्षणिक विश्राम’ का रूपमा व्याख्या गर्दै आएका छन्।
यस पटक बस्नेत पुनरागमनको स्पष्ट उद्देश्यसहित मैदानमा छन्। एमालेभित्र संगठन मजबुत पार्ने, अघिल्लो चुनावमा भएका कमजोरी सुधार्ने र केन्द्रीय नेतृत्वसँगको निकटतालाई राजनीतिक पूँजी बनाउने रणनीतिमा उनी देखिन्छन्। जेनजी आन्दोलनपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई बालुवाटार फर्काउने अभियानमा मुख्य भूमिकामा देखिएका बस्नेतलाई एमालेभित्र प्रभावशाली नेताका रूपमा हेरिन्छ। यसो त उनले चुनाव जितेर मन्त्री बन्ने आकांक्षासमेत लुकाएका छैनन्।
तर बस्नेतलाई सजिलो छैन। यस क्षेत्रबाट कांग्रेसले यसपटक कविर राणालाई उम्मेदवार बनाएको छ। अघिल्लो निर्वाचनमा कांग्रेसका दुर्लभ थापाले जित हासिल गरिसकेको हुनाले कांग्रेसलाई यहाँ कमजोर आँक्न सकिने अवस्था छैन। संगठनात्मक संरचना र अघिल्लो जितको मनोवैज्ञानिक बल कांग्रेसको मुख्य शक्ति हो।
त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट राजीव खत्री मैदानमा छन्। अघिल्लो निर्वाचनमा उपस्थिति मात्रै जनाएको रास्वपा यसपटक भने माहोल आफ्नो पक्षमा रहेको दाबी गर्दै आक्रामक रूपमा अघि बढेको छ। देशभर देखिएको ‘परिवर्तनको चाहना’ले रास्वपालाई नयाँ विकल्पका रूपमा स्थापित गरिरहेको मूल्यांकन स्वयं मतदाताहरूले पनि गर्न थालेका छन्। युट्युबरका रूपमा चिनिएका खत्रीका लागि क्षेत्र नयाँ भए पनि पार्टीको केन्द्रीय रणनीति र युवा मतदाताको आकर्षण उनको मुख्य आधार बनेको छ।
त्यस्तै नेपाल कम्युनिष्ट पार्टीबाट युवा नेता रामप्रसाद सापकोटा ‘दीपशिखा’ उम्मेदवार बनेका छन्। विद्यार्थी राजनीति र युवा आन्दोलनबाट आएका सापकोटालाई नयाँ पुस्ताको प्रतिनिधि भन्दै पार्टीले अघि सारेको छ। सीमित संगठन र स्रोत साधनका बाबजुद युवा मतदाताबीच आफ्नो प्रभाव विस्तार गर्ने प्रयासमा नेकपा देखिन्छ।
यस क्षेत्रमा राप्रपाबाट विक्रम थापा र नेपाल मजदुर किसान पार्टीबाट रमेश वैद्य पनि मैदानमा छन्। अघिल्ला निर्वाचनहरूमा यी दलले प्राप्त गरेको मत संख्यालाई हेर्दा उनीहरूले ल्याउने मत निर्णायक बन्न सक्ने आकलन पनि भइरहेको छ। त्रिपक्षीय वा बहुपक्षीय प्रतिस्पर्धामा सानो मतान्तरले परिणाम उल्टिन सक्ने सम्भावना यहाँ प्रबल देखिन्छ।
भक्तपुर जिल्लामा कूल दुई लाख पाँच हजार ४१० मतदाता छन्। तीमध्ये महिला मतदाता एक लाख पाँच हजार २६५ र पुरुष एक लाख १४० छन् भने पाँच जना अन्य मतदाता छन्। क्षेत्र नम्बर १ मा एक लाख सात हजार ५४ मतदाता छन् भने क्षेत्र नम्बर २ मा ९८ हजार ३५६ मतदाता छन्। जिल्लाभर ७६ मतदानस्थल र २३३ मतदान केन्द्र तोकिएका छन्। मतदाताको यो संख्या र भौगोलिक बनोटले पनि चुनावी रणनीतिलाई प्रभाव पारिरहेको छ।
चुनावी प्रचार-प्रसार अब पोस्टर र नारामा मात्र सीमित छैन। घरदैलो, टोलसभा, सामाजिक सञ्जाल, युवामुखी कार्यक्रम र भावनात्मक अपिल सबै दलको साझा हतियार बनेका छन्। कसैले विकासको एजेण्डा अघि सारिरहेको छ भने कसैले सुशासन र परिवर्तनको नारा। कसैले स्थायित्व र अनुभवको कुरा गरिरहेको छ भने कसैले नयाँ सोच र नयाँ अनुहारको आवश्यकता औंल्याइरहेको छ।
समग्रमा भन्नुपर्दा भक्तपुरको यो उपनिर्वाचन केवल एक सिटको प्रतिस्पर्धामात्र होइन। यो राजनीतिक सन्देशको लडाइँ पनि हो। के मतदाता पुरानै भरोसायोग्य संरचनामा टिक्छन्कि नयाँ विकल्पतर्फ मोडिन्छन्? के एमालेले आफ्नो पुरानो प्रभाव फर्काउन सक्छ? के कांग्रेसले अघिल्लो जितलाई निरन्तरता दिन सक्छ? वा, रास्वपा र अन्य दलहरूले अप्रत्याशित नतिजा दिन सक्छन्? यी सबै प्रश्नको उत्तर फागुन २१ गते मतपेटिकामा बन्द हुनेछ। from annapurna post
