भक्तपुरमा प्रगतिशील गीत प्रतियोगिता हुने
माघ १३, २०८२, मङ्गलबार | साँझ ०५:०५ बजे | 125
भक्तपुर — नेपाल मजदुर किसान पार्टीको स्थापना दिवसको अवसर पारेर भक्तपुर नगरव्यापी प्रगतिशील गीत प्रतियोगिता आयोजना हुने भएको छ। नेमकिपा भक्तपुर नगर समिति–१० वडा समितिको आयोजनामा हुन लागेको प्रतियोगिताका लागि नाम दर्ता खुला गरिएको आयोजकले जनाएको छ।
प्रगतिशील तथा समसामयिक विषयवस्तुमा आधारित गीतहरूलाई प्राथमिकता दिइने उक्त प्रतियोगितामा गीतको लय परम्परागत हुनुपर्ने नियम राखिएको छ। गीत बढीमा तीन चलन (अन्तरा) सम्मको हुनुपर्ने र प्रस्तुति समय पाँच मिनेट तोकिएको छ। पाँच मिनेटभन्दा बढी समय लिएमा अंक कटौती गरिने आयोजकले जानकारी दिएको छ।
प्रतियोगितामा मञ्चमा वाद्यवादक र गायकसहित कम्तीमा पाँच जना र बढीमा १२ जनासम्म सहभागी हुन सक्ने व्यवस्था गरिएको छ। ट्र्याकको प्रयोग निषेध गरिएको छ भने आवश्यक वाद्यवादक सहभागी स्वयंले व्यवस्थापन गर्नुपर्नेछ। सहभागी गीतहरूको मूल्यांकन शब्द संयोजन, संगीतात्मक लय, सुर–ताल, अनुशासन, समयको परिपालना, भाव सम्प्रेषण तथा प्रस्तुतीकरणका आधारमा गरिनेछ।
प्रतियोगितामा प्रथम हुनेले १५ हजार, दोस्रोले १० हजार र तेस्रोले ५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन्। साथै सान्त्वना पुरस्कारस्वरूप २ हजार रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ।
प्रतियोगिता २०८२ माघ २४ गते शनिबार वडा नं. १० भक्तपुरमा बिहान १० बजेदेखि सुरु हुने छ। नाम दर्ता गर्ने अन्तिम मिति २०८२ माघ १९ गते तोकिएको छ। प्रति समूह दर्ता शुल्क 2०० रुपैयाँ निर्धारण गरिएको छ।
आयोजकका अनुसार प्रतियोगितासम्बन्धी कुनै विवाद उत्पन्न भएमा निर्णायक समितिको निर्णय अन्तिम हुनेछ। कार्यक्रममार्फत प्रगतिशील सांस्कृतिक चेतनाको विकास र जनचेतना अभिवृद्धि गर्ने उद्देश्य राखिएको आयोजकले जनाएको छ।
फाेटाेमा हेर्नुहाेस्...
