भान्छालाई औषधालय बनाऔँ विषयक सचेतनामूलक तालिम सम्पन्न
माघ १२, २०८२, सोमबार | राति ०७:१० बजे | 100
चमेरो बचत तथा ऋण सहकारी संस्था अन्तर्गतको महिला बचत समूहको आयोजना तथा श्रीहरी सेल्फ रियलाइजेसनल फाउन्डेसनको सहकार्यमा “भान्छालाई औषधालय बनाऔँ” विषयक दुई घण्टे विशेष तालिम सफलतापूर्वक सम्पन्न भएको छ।
चमेरो चौतारी साकोसको तालिम कक्षमा आयोजित उक्त कार्यक्रमको स्रोत व्यक्ति श्रीहरी सेल्फ रियलाइजेसनल फाउन्डेसनका संस्थापक अध्यक्ष श्री चन्द्रहरी कायस्थ रहनुभएको थियो। तालिममा भान्छाको वास्तविक महत्व, स्वास्थ्यसँगको गहिरो सम्बन्ध, तथा समाजमा गहिरो रूपमा जरा गाडेर बसेका अन्धविश्वास र भ्रमहरूलाई तोड्ने प्रयास गरिएको थियो।
तालिमका क्रममा “भान्छा के हो?”, “भान्छाका प्रकार के–के हुन्?” र हामीले प्रयोग गरिरहेको भान्छालाई कसरी बुझिरहेका छौँ? भन्ने विषयमा व्यावहारिक र गहिरो जानकारी प्रस्तुत गरियो। विशेषगरी भान्छालाई तीन प्रकारमा वर्गीकरण गर्दै
१) प्राकृतिक भान्छा (प्रकृतिबाट सिधै प्राप्त खानेकुरा)
२) मान्छेको भान्छा (मानिसले पकाएर बनाउने खाना)
३) मेसिनको भान्छा (प्रशोधित तथा मेसिनबाट तयार हुने खाना)
लाई विशेष महत्वका साथ स्पष्ट पारियो।
तालिममा प्रस्तुत गरिएको एक महत्वपूर्ण सन्देश अनुसार “खानामा शक्ति हुँदैन, खानाले शरीर निर्माण गर्छ” भन्ने वैज्ञानिक तथा दार्शनिक पक्षलाई उजागर गरिएको थियो। शरीरको आवश्यकता भन्दा बढी खाना सेवन गर्दा नै रोग उत्पन्न हुने र ती रोगकै कारण आज मानिस शोक र पीडामा बाँच्न बाध्य भइरहेको तथ्यलाई सरल उदाहरणसहित स्पष्ट पारिएको थियो।
फोटो, श्रव्य–दृश्य सामग्री, भिडियो प्रस्तुति तथा आत्मीय संवादमार्फत सञ्चालन गरिएको तालिममा करिब ४० जना महिलाको सक्रिय सहभागिता रहेको थियो।
