श्री श्री श्री स्वस्थानी बाखं (श्री स्वस्थानी व्रतकथा) पुस्तक अवलोकन


माघ ४, २०८२, आइतबार | साँझ ०४:१५ बजे | 210


श्री श्री श्री स्वस्थानी बाखं (श्री स्वस्थानी व्रतकथा) पुस्तक अवलोकन

शुभारम्भ
नेपालीहरूको हिन्दू समाजमा व्यापक प्रयोग भइआएको धार्मिक कथाहरूमध्ये एउटा श्री स्वस्थानी व्रतकथा पनि एक हो । शताब्दीपुरुष डा. सत्यमोहन जोशीज्यूको शब्दमा “हामीहरूको धार्मिक र सांस्कृतिक सम्बद्र्धनका लागि धर्म, दर्शन र ज्ञानविज्ञानका अनेक ज्ञातव्य सत्यतथ्यका सम्पदाहरू हामीहरूकै हितकत्यागार्थ छाडेर गएका छन् । तीमध्येको एउटा अत्यन्त उल्लेखनीय प्राचीन धर्म ग्रन्थ हो ‘स्वस्थानीको व्रतकथा’”। स्रोत ः संकलक तथा अनुवादक नवीना श्रेष्ठको पुस्तक ‘श्री स्वस्थानी व्रतकथा’ । यहाँ मैले चर्चा गर्न लागेको नेपालभाषा (नेवारी) मा श्री पशुपतिमान पमाः (प्रधान)ज्यूले तयार गर्नु भएको स्वस्थानी व्रतकथा पुस्तक हो । स्वस्थानी व्रतकथा नेपाली भाषामा र नेपाल भाषामा विभिन्न लेखकहरूले लेख्नुभएको धेरै पुस्तकहरू पाइन्छ । केही पुस्तकहरू १) ठूलो स्वस्थानी व्रतकथा (माघमहात्म्य जय नेपाल प्रकाशन, वाराणसी –१ यू.पी., सं २०४५, (२) श्री फनिन्द्र दाहाल र इश्वरी वाग्लेले तयार गरेको पुस्तक, (३) ऐश्वर्यधर राजोपाध्यायको पुस्तक २०४९, (४) संकलक श्री सहदीप पलाञ्चोके – श्री स्वस्थानी व्रतकथा (सनातनदेखि चलिआएको पूजाविधिसहितको पुस्तक – प्रकाशक शब्दयात्रा प्रकाशन), (५) श्री अच्युतानन्द राजोपाध्यायले लेख्नुभएको नेपालभाषामा लेखिएको पुस्तक, (६) श्री प्रेम सायमीले लेख्नुभएको पुस्तक २०७१, (७) श्री तीर्थलाल राजभण्डारीले लेख्नुभएको पुस्तक २०४२, (८) श्री महेश्वर जुजुले लेख्नुभएको नेपालभाषाको पुस्तक २०७०, (९) श्री वर्ण बज्राचार्य, बनेपाले लेख्नुभएको पुस्तक २०४२, (१०) डा. शुक्रराज अधिकारीले लेख्नुभएको समाजशास्त्रीय दृष्टिमा स्वस्थानी व्रतकथा पुस्तक (प्रकाशक नेपाल प्रज्ञा प्रतिष्ठान २०७९)
    स्वस्थानी कथाको बारेमा अमेरिकी लेखक लिन्डा इल्टिसाले स्वस्थानी व्रतकथालाई अंग्रेजी भाषामा अनुवाद गर्नुभएको छ । साथै अमेरिकी अन्वेषक जेसिका भान्टाइनले स्वस्थानी व्रतकथामा विद्यावारिधि (पी.एचडी.) हासिल गरेको कुरा पनि मैले सुनेको छु । 

२. मैले अवलोकन गरेको पुस्तकको केन्द्रविन्दु
परिचय
क) श्री पशुपतिमान पमाः (प्रधान), लेखक तथा संकलक प्रधानज्यू भक्तपुर निवासी हुनुहुन्छ । उहाँको शिक्षा, बि.ए., बि.एड. (शिक्षा) डिग्री हासिल गरी विभिन्न स्कूलहरूमा १२ वर्ष प्रधानाध्यापक भइसक्नुभएको छ । शिक्षा क्षेत्रको विभिन्न उच्च पदहरूमा ३१ वर्ष सेवा गरी अवकाश प्राप्त गरिसक्नुभएको छ । नेपाल साहित्य मन्दिर (भक्तपुर)को निवर्तमान उपाध्यक्ष हाल सल्लाहकार हुनुहुन्छ । उहाँका लेख रचनाहरू विभिन्न पत्रपत्रिका, स्मारिकाहरूमा प्रकाशित भएका छन् । उहाँको कलमबाट लेखिएका पुस्तकहरू ः १) लोकंह्वागु बाखं (२) नुग घाः (३) भिंम मनु (४) श्री स्वस्थानी बाखं (५) मलखं कगु छें (६) नेवाः वांउभतु आदि हुन् ।
ख) नेपाल भाषामा प्रकाशित यो स्वस्थानी बाखं पुस्तक, २०७० सालमा प्रथम प्रकाशन र २०७१ सालमा दोस्रो प्रकाशन प्रकाशित भइसकेको छ । आफ्नी स्वर्गीय श्रीमती पारुको इच्छालाई पूरा गर्न यो पुस्तक प्रकाशन गरी उहाँलाई नै समर्पण गरिएको छ ।

३. पुस्तकको लेखकीय
    पशुपतिमान प्रधानज्यू आफ्नो यस पुस्तकको लेखकीयमा भन्नुहुन्छ, “धर्मको मूल उद्देश्य मानव धर्म हो । कथा हजारौं वर्ष पहिलेदेखि प्रचलन भइआएको एउटा आध्यात्मिक÷धार्मिक कथा हो । यस कथाबाट मानिसहरूलाई नभई नहुने गुणहरू – विवेक, शैली र शिक्षा प्राप्त गर्न सकिन्छ । ईश्वर पुस्तकभित्र खोजेर पाइन्न, यसको नाम नै स्वस्थानी अर्थात् स्वस्थान (आफ्नै) हृदयमा हुनुहुन्छ । मानिसहरू व्यभिचारी हुनुहुन्न, आफूमा रहेको शक्ति दुरूपयोग गरे आफै नाश हुन्छ । बालविवाह, अनमेलविवाह र बहुविवाहले राम्रो परिणाम दिँदैन भन्ने यो स्वस्थानी कथाले प्रदान गर्दछ । धेरै नसालु पदार्थ भाङ, धतुरो आदि सेवनले गर्दा श्री महादेव स्वयमले नराम्रो परिणाम भोग्नुपरेको थियो । यो स्वस्थानी केवल कथा वाचन र श्रवण मात्र गर्ने होइन । यसमा भएका विभिन्न घटना, परिघटनाहरूलाई मनन चिन्तन गर्नुपर्छ ।” भन्ने सन्देश पनि दिएको पाइन्छ ।

४. शुभेच्छा र शुभकामना
    यस पुस्तकमा लोकसेवा आयोगका पूर्व अध्यक्ष प्रा. गणेशराज सिंह, नेपाल साहित्य मन्दिरका अध्यक्ष श्री तिलकप्रकाश तथा कुतः प्रकाशनका श्री विमल ताम्रकारसमेतले आ–आफ्नो भाषामा यस पुस्तकलाई मूल्यांकन गरी सराहनाका शुभकामना शुभेच्छा प्रकट गरेका छन् । 
५. माघ महिना
    प्रत्येक वर्ष पौष शुक्ल पक्षको पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म प्रत्येक दिन ३० दिनसम्म र कुनै–कुनै वर्षमा ३१ दिन पनि हुने भएकोले हरेक दिन एक अध्याय पढ्ने गरी ३१ अध्यायको पुस्तक तयार गर्नुभएको छ । कथा वाचन गर्ने बेलामा सर्वप्रथम श्री गणेश, श्री सरस्वती र श्री स्वस्थानीको श्लोक राय पारायण गर्नको लागि र कथा समाप्त भएपछि पाठ गर्ने श्लोक पनि नेपालभाषा (नेवारी)मा नै प्रधानज्यूले आफ्नै रचना राख्नुभएको छ । यस पुस्तकको आवरणमा कमलको फूलमा बसेकी श्री स्वस्थानीको कलात्मक सुन्दर चित्र रहेको छ । 
अन्तमा
    यस पुस्तकमा वर्णित कथा अनुसार पार्वती पुत्र कुमारले अगस्त्य मुनिको अनुरोध अनुसार बताइएको कथा नै स्वस्थानी कथा हो । यस कथामा पात्रहरूको रूपमा श्री शिव, पार्वती, पवर्तराज हिमाल, दक्षप्रजापति, जलन्धर दानवहरू, भष्मासुर दैत्य, शिवशर्मा ब्राह्मण, गोमा ब्राह्मणी, नवराज राजा, चन्द्रावती रानी आदिहरूले आ–आफ्नो जीवनमा खेलेका विभिन्न भूमिकाहरूको बयान भएको पाइन्छ । यस कथामा घटित घटनाहरूको स्थान – कैलाश, बैकुण्ठ, पशुपति श्लेषमान्तक वन÷जंगल, साँखुको शाली नदी, भक्तपुरको हनुमानघाट आदि स्थानहरूको उल्लेख भएको पाइन्छ । यस स्वस्थानी कथा – लेखक पशुपतिमान प्रधानज्यूको लेखकीयमा उल्लेख भएका विभिन्न कुराहरू आजको नेपाली समाजमा ज्यादै उपयोगी शिक्षा प्रदान गर्दछ भन्ने कुरामा कसैको विमति नहोला ।
    यस पुस्तकमा प्रयोग भएको भाषा नेपाल भाषा (नेवारी) भएकोले नेवार जातीका सबैले बुझ्ने सरल तथा रोचक ढङ्गले तयार भएकोले लोकप्रिय बनेको कुरा घरघरमा माघ महिनामा कथा वाचन गर्न प्रयोग भइरहेकोबाट थाहा पाइन्छ । यसरी महत्वपूर्ण पुस्तक तयार गरी प्रकाशन गर्नुभएकोले लेखक श्री पुशपतिमान पमाःज्यूमा धन्यवाद ज्ञापन गर्दछु ।
०००

Comments