काठमाडौँ महानगरको ३० लाख आर्थिक सहयोग
फाल्गुन ६, २०७७, बिहीबार | विहान ०२:१४ बजे | 25
काठमाडौँ । काठमाडौं महानगरपालिकाको आर्थिक सहयोगमा क्षत्रपाटी निःशुल्क चिकित्सालयको नवनिर्मित भवनमा लिफ्ट जडान भई सेवा सुरु भएको छ । २०१३ सालमा स्थापना भएको क्षेत्रपाटीमा अवस्थित निशुल्क चिकित्सालयको ६४ औँ वार्षिक उत्सवको अवसरका काठमाडौं महानगरपालिकाका प्रमुख विद्या सुन्दर शाक्यले लिफ्टको उद्घाटन गर्नुभएको हो । करीब ४५ लाखको लागतमा निर्माणाधिन लिफ्ट निर्माणका लागि काठमाडौँ महानगरपालिकाले ३० लाख रुपैयाँ सहयोग गरेको थियो ।
उद्घाटनपछि सम्वोधन गर्दै प्रमुख शाक्यले, काठमाडौंमा ठूला र विशेषज्ञ सेवा दिने अस्पतालकाबीच भित्री सहरी क्षेत्रका स्थानीयलाई सेवा दिने लक्ष्य राखेर सञ्चालनमा रहेको चिकित्सालयलाई सहयोग गर्न पाउँदा खुशी लागेको बताउनुभयो । ‘काठमाडौँ महानगरपालिका क्षेत्र भित्र ठूला–ठूला राष्ट्रियस्तरका अस्पताल छन् । ती अस्पतालमा ७७ वटै जिल्लाका नागरिकले सेवा लिइरहेका हुन्छन्,’ शाक्यले भन्नुभयो तर, यो भित्री सहरमा अवस्थित चिकित्सालयबाट यहाँका नागरिकले बढी सेवा लिइरहेका हुन्छन् । महानगर क्षेत्र भित्रका नागरिकलाई भरपर्दो सेवा दिन यस्ता अस्पतालको बढी महत्व हुन्छ । तपाईँहरुले पनि त्यो महशुस हुने गरी काम गर्नुहोला । सहयोग गर्न महानगरपालिका तयार छ ।’
३ सय विरामीलाई दैनिक ओपिडीमार्फत स्वास्थ्य सेवा दिदैँ आइरहेको सो २५ शैयाको अस्पतालमा लिफ्ट जडानसँगै थप सहज भएको चिकित्सालयका अध्यक्ष डा. मनोजमान श्रेष्ठले जानकारी दिनुभयो । ‘यो अस्पतालबाट नाक, कान घाँटी, दन्त सेवा, मुटु रोगलगायत जटिल खालका रोगमा बिशेषज्ञ सेवा दिइरहेका छौं,’ डाक्टर श्रेष्ठले भन्नुभयो, ‘भित्री सहरका नागरिकलाई विशेष प्राथमिकतामा राखेर स्वास्थ्य सेवा प्रदान गरिरहेको यो अस्पतालले आगामी दिनमा थप सेवा विस्तारको योजना अघि सारेको छ । सेवा विस्तारका लागि महानगरबाट प्राप्त सहयोगले हामीलाई अगाडि बढ्न ठूलो हौसला प्राप्त भएको छ । ‘२०१३ सालमा स्थापनाको चिकित्सालयमा अहिले २५ शैया छन्,’ डाक्टर श्रेष्ठले भन्नुभयो, ‘ती बेडहरु माथिल्लो तलामा भएकोले सेवा प्रवाहमा कठिन थियो । लिफ्ट जडानसँगै सेवा सहज हुने अपेक्षा गरेका छौँ ।’ चिकित्सालयले भूमिगत २ तलासहित १० तले भवन बनाउने योजना कार्यान्वयन चरणमा पु¥याएको पनि उहाँले जानकारी दिनुभयो ।