सिद्धि स्मृति प्रतिष्ठानको तेस्रो वार्षिक साधारण सभा सम्पन्न
पुष ३०, २०८२, बुधबार | राति ०८:४५ बजे | 130
भक्तपुर, माघ ३०
सिद्धि स्मृति प्रतिष्ठान, भक्तपुर नगरपालिका वडा नं ७ भेलुखेल भक्तपुरको तेस्रो वार्षिक साधारण सभा बुधबार सिद्धि स्मृति सभाकक्षमा भव्य रूपमा सम्पन्न भएको छ । साँझ चार बजेदेखि साँंझसम्म चलेको सभामा संस्थाको वार्षिक प्रगति, आर्थिक अवस्था र आगामी कार्ययोजनामाथि व्यापक छलफल गरिएको छ ।
सभाको उदघाटन प्रमुख अतिथि तथा भक्तपुर नगरपालिका वडा नं ७ का वडा अध्यक्ष उकेश कवां, संस्थाका संस्थापक अध्यक्ष श्यामसुन्दर धौभडेललगायतले दीप प्रज्वलन गरी गर्नुभएको थियो । कार्यक्रममा भक्तपुर नगरपालिका वडा नं. ७ का वडाध्यक्ष कवां, जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि लुमा श्रेष्ठ, स्वास्थ्य कार्यालय, अस्पताल तथा विभिन्न संघ–संस्थाका प्रमुख तथा प्रतिनिधिहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।
साधारण सभामा सदस्य सचिव अधिवक्ता हरिराम लवजुले आर्थिक वर्ष २०७९÷८० को वार्षिक प्रगति प्रतिवेदन तथा आर्थिक वर्ष २०८०÷८१ का प्रस्तावित कार्यक्रमहरू प्रस्तुत गर्नुभयो । त्यसैगरी कोषाध्यक्ष योगेन्द्र भूपाल मल्लले आर्थिक वर्ष २०७९÷८० को आर्थिक प्रतिवेदन तथा २०८०÷८१ को अनुमानित बजेट सभासमक्ष पेस गर्नुभएको थियो, जसलाई छलफलपछि अनुमोदन गरिएको छ ।
सभाले संस्थाको लेखा परीक्षण प्रतिवेदन पारित गर्नुका साथै आगामी वर्षका लागि लेखा परीक्षक नियुक्त गर्ने निर्णयसमेत गरेको छ । साथै दिवंगत ज्येष्ठ नागरिकहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै एक मिनेट मौन धारण गरिएको थियो ।
कार्यक्रममा संस्थापक उपाध्यक्ष रञ्जना घिमिरेले धन्यवाद ज्ञापन गर्दै सामाजिक सेवा, स्वास्थ्य तथा स्मृति संरक्षणका क्षेत्रमा प्रतिष्ठानले गर्दै आएको योगदानलाई अझ प्रभावकारी बनाइने प्रतिबद्धता व्यक्त गर्नुभयो । उदघाटन सत्र सम्पन्न भएपछि सम्पूर्ण अतिथिहरूलाई रात्रीभोज दिइएको थियो ।
सिद्धि स्मृति प्रतिष्ठानले विगतदेखि नै सामाजिक उत्तरदायित्व, स्वास्थ्य सेवा र स्मृति संरक्षणका क्षेत्रमा उल्लेखनीय कार्य गर्दै आएको छ । तेस्रो वार्षिक साधारण सभाबाट संस्थाले आगामी दिनमा अझ सशक्त र योजनाबद्ध रूपमा अघि बढ्ने स्पष्ट संकेत दिएको छ ।
फाेटाेमा हेर्नुहाेस्...
