भक्तपुरको सम्यक महादान पर्वको तयारी अन्तिम चरणमा
पुष २९, २०८२, मङ्गलबार | राति ०७:२० बजे | 195
भक्तपुर, पुस २९
प्रत्येक वर्ष माघ १ गते संक्रान्तिका दिन मनाइने भक्तपुरको ऐतिहासिक तथा धार्मिक महत्व बोकेको सम्यक महादान पर्वको तयारी अन्तिम चरणमा पुगेको छ। भक्तपुर नगरपालिका–१ मा अवस्थित जयकीर्ति महाविहार (थथुबही) परिसर भुइख्यमा आयोजना हुने यो पर्व बौद्ध परम्परा अनुसार श्रद्धा, दान र सहअस्तित्वको प्रतीकका रूपमा मनाइँदै आएको छ।
चतुब्र्रम्ह महाविहारअन्तर्गतको तधिछेँ खलको परम्परागत व्यवस्थापनमा हुँदै आएको सम्यक संघ भोजनदान पर्व हाल सम्यक महादान व्यवस्थापन सहयोग समितिमार्फत सञ्चालन हुँदै आएको छ। यस वर्ष पर्व सम्पन्न गर्ने पालो चिनिया काजी बज्राचार्यसहित उहाँको परिवारको रहेको छ।
पर्व सम्पन्न गर्ने जिम्मेवारी पाएको परिवार पर्वभन्दा करिब एक साताअघि देखि नै जयकीर्ति महाविहारमा बसोबास गर्दै विशेष प्रकारका पुरी, लड्डु लगायत सम्यक दानमा चढाइने सामग्री तयार गर्ने तथा अन्य आवश्यक व्यवस्थापन कार्यमा सक्रिय रहने परम्परा रहेको छ। यस वर्ष अघिल्ला वर्षहरूभन्दा बढी बौद्ध धर्मावलम्बी तथा श्रद्धालुहरूको उपस्थिति रहने अनुमान गरिएको छ, जसअनुसार तयारीलाई पनि थप व्यवस्थित बनाइएको आयोजकले जनाएको छ।
काठमाडौं उपत्यकाका काठमाडौं, ललितपुर र भक्तपुरमा करिब ३५० वर्षभन्दा अघिदेखि बौद्ध धर्म परम्परा अनुसार सम्यक महादान पर्व निरन्तर रूपमा मनाइँदै आएको छ। भगवान् दीपंकर बुद्धलाई अनुसरण गर्दै काठमाडौंमा प्रत्येक १२ वर्षमा एक पटक, ललितपुरमा प्रत्येक पाँच वर्षमा एक पटक र भक्तपुरमा भने प्रत्येक वर्ष माघ १ गते संक्रान्तिका दिन सम्यक महादान पर्व मनाइने परम्परा रहेको छ।
तधिछेँ खलभित्र जेष्ठताक्रम अनुसार परिवारलाई पर्व सञ्चालन गर्ने पालो आउने र पालो परेको खलकले सम्यक संघ भोजनदानसँगै गुठीसँग सम्बन्धित विविध धार्मिक तथा सामाजिक दायित्व पूरा गर्नुपर्ने परम्परा छ। हाल तधिछेँ खलका सम्पूर्ण परिवारको सहभागितामा गठित सम्यक महादान व्यवस्थापन सहयोग समितिले गुठी तथा पर्वसँग सम्बन्धित गतिविधिहरूलाई व्यवस्थित गर्दै आएको छ।
सम्यक महादानका क्रममा जयकीर्ति महाविहार परिसरमा सबैभन्दा पहिले चतुब्र्रम्ह महाविहार संघका कुल देवता श्री हेबज्र नैरात्मालाई भोजनदान गरिन्छ। त्यसपछि क्रमशः मूल दीपंकर, बाहाछे दीपंकर, झौरबही दीपंकर, थथुबही दीपंकर र कुथुबही दीपंकरलाई भोजन चढाइने परम्परा रहेको छ। साथै सुवर्ण दीपंकरका चार वटा मूर्ति (सम्यक द्यो), सुवर्ण चैत्य, स्थवीर आजु, मूल गुरुजु, गुरुजुहरू तथा लामबद्ध रूपमा विराजमान सयौँ बज्राचार्य, बुद्धाचार्य र शाक्य परिवारका सदस्यहरूलाई सम्यक दान प्रदान गरिन्छ।
सम्यक महादानमा गेडागुडीका विभिन्न परिकार, सागसब्जी, लड्डु, पुरी, घ्योचाकू, पंचपकुवान, चतामरी, फलफूल, धौ–दुरु लगायत परम्परागत खाद्य सामग्रीहरू दान गर्ने प्रचलन छ, जसले पर्वको सांस्कृतिक मौलिकता झल्काउँछ।
इतिहासअनुसार भक्तपुर दरबार क्षेत्रसँगै रहेको प्रसिद्ध चतुब्र्रम्ह महाविहारका संघ सदस्य जयरत्न बज्राचार्यले नेपाल संवत् ७८७ मा आफ्ना दिवंगत पिता जयदेव बज्राचार्यको नाममा दीपंकर बुद्ध तथा विभिन्न विहारका संघ सदस्यहरूलाई निमन्त्रणा गरी सम्यक भोजनदान गर्दै यस पर्वको औपचारिक स्थापना गरेको प्रमाणित इतिहास पाइन्छ। त्यस समय जिर्ण अवस्थामा रहेको जयकीर्ति महाविहारलाई जयरत्न बज्राचार्यले नै नेपाल संवत् ७९४ मा जिर्णोद्धार गराएका थिए। सोही वर्ष राजा जय जितामित्र मल्लको उपस्थितिमा सम्यक महादान भव्य रूपमा सम्पन्न गरिएको ऐतिहासिक उल्लेख छ।
धार्मिक, सांस्कृतिक र सामाजिक सद्भावको अनुपम उदाहरणका रूपमा रहेको सम्यक महादान पर्वले भक्तपुरको पहिचानलाई अझ उजागर गर्दै आएको छ।
फाेटाेमा हेर्नुहाेस्...
