तामाङ सांस्कृतिक महोत्सवलाई तयारी तीव्र


पुष २३, २०८२, बुधबार | दिउँसो ०२:३६ बजे | 105


तामाङ सांस्कृतिक महोत्सवलाई तयारी तीव्र

काठमाडौं । सोनाम ल्होछार २८६२ ता ल्हो (घोडा वर्ष) को अवसरमा आयोजना हुने तामाङ सांस्कृतिक महोत्सवलाई भव्य, मर्यादित र अनुशासित रूपमा सम्पन्न गर्ने उद्देश्यसहित तयारी तीव्र पारिएको छ। माघ ४ र ५ गते काठमाडौंको टुँडिखेलमा भव्य रूपमा मनाउने तयारी भइरहेको आयोजकले जनाएको छ।

यसै सन्दर्भमा २२ पुस २०८२ का दिन नेपाल तामाङ घेदुङको सभाहल, काठमाडौंमा तयारी बैठक सम्पन्न भएको हो। नेपाल तामाङ घेदुङको संयोजकत्वमा बसेको उक्त बैठकले राष्ट्रिय तामाङ घेदुङका सहसंयोजक तथा विभिन्न तामाङ संघ–संस्थाका प्रतिनिधिहरूको सहभागितामा १०१ सदस्यीय मूल समारोह समिति गठन गरेको छ। समितिले सोनाम ल्होछारलाई मौलिकता, गरिमा, अनुशासन र एकताको प्रतीकका रूपमा मनाउने प्रतिबद्धता जनाएको छ।

आगामी सोनाम ल्होछार समारोहलाई सम्माननीय प्रधानमन्त्री सुशीला कार्कीले उद्घाटन गर्ने निर्णय पनि बैठकले गरेको छ।

कार्यक्रमलाई व्यवस्थित र प्रभावकारी बनाउन मूल समारोह आयोजक समितिले विभिन्न उपसमितिहरू गठन गरेको छ।

सांस्कृतिक कार्यक्रम समिति
संयोजक: नेपाल तामाङ संस्कृति घेदुङ
सहसंयोजक: नेपाल तामाङ राष्ट्रिय संस्कृति घेदुङ
सदस्य संस्थाहरू: नेपाल तामाङ कलाकार संघ, नेपाल तामाङ चलचित्र संघ, नेपाल तामाङ मौलिक ह्वाइला न्हान, तामाङ चलचित्र निर्देशक संघ, म्हेन्दोमाया कलाकार संघ, तामाङ डाजाङ, तामाङ जुहारी कलाकार संघ, तामाङ दाङबोला ग्योअी ठिम

स्वयंसेवक तयारी समिति (युवा तथा विद्यार्थी)
संयोजक: नेपाल तामाङ युवा घेदुङ
सहसंयोजक: नेपाल तामाङ राष्ट्रिय युवा घेदुङ
सदस्य: नेपाल तामाङ विद्यार्थी घेदुङ, नेपाल तामाङ राष्ट्रिय विद्यार्थी घेदुङ
संयोजक प्रतिनिधि: सानुकान्छा तामाङ

ताम्बा, लामा, बोन्बो तयारी समिति
संयोजक: नेपाल राष्ट्रिय ताम्बा घेदुङ
सहसंयोजक: नेपाल तामाङ ताम्बा घेदुङ
सदस्य संस्थाहरू: नेपाल तामाङ बोन्बो घेदुङ, नेपाल तामाङ राष्ट्रिय बोन्बो घेदुङ, नेपाल तामाङ लामा घेदुङ, नेपाल तामाङ राष्ट्रिय लामा घेदुङ

मञ्च व्यवस्थापन समिति
संयोजक: महावीर लामा

प्रचार–प्रसार समिति
संयोजक: तामाङ पत्रकार संघ
सहसंयोजक: राष्ट्रिय तामाङ सञ्चार विभाग
सदस्य: तामाङ घेदुङ सञ्चार विभाग

स्वागत तथा सत्कार समिति
नेपाल तामाङ महिला घेदुङ – संगीता बोम्जन
नेपाल तामाङ राष्ट्रिय महिला घेदुङ – बबिता योन्जन

अनुगमन समिति
नाङसाल क्लब – लारग्युङ तामाङ

यस वर्ष वास्तवमै उत्कृष्ट योगदान दिएका व्यक्तिहरूलाई मात्र सम्मान गरिने निर्णय गरिएको छ। समितिका सदस्यहरू सन्चु ब्लोन (उपाध्यक्ष, घेदुङ), तिर्थमान बल र बिलाम मुक्तान रहेका छन्। छनौट गरिएका नामहरू मूल समितिमा पेश भएपछि मात्र सम्मान गरिनेछ।

पुस २८ गतेदेखि नेपाल तामाङ घेदुङको कार्यालयबाट स्टल बुकिङ खुला गरिने भएको छ। महोत्सव अवधिभर जुवाजन्य खेल पूर्ण रूपमा बन्द गरिने निर्णय गरिएको छ। नाङ्ले पसल राख्न रु. ३,००० को चिट काटेर मात्र प्रवेश पाउने व्यवस्था गरिएको छ।

यसपालिको सोनाम ल्होछार महोत्सवमा चारै गेटबाट प्रवेश तथा निस्कने व्यवस्था मिलाइने भएको छ, जसले टुँडिखेलमा हुने दुईदिने कार्यक्रममा भीड व्यवस्थापन र सुरक्षा व्यवस्थालाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।

सबै उपसमितिहरूको प्रगति समीक्षा तथा अन्तिम तयारीका लागि २०८२ माघ १ गते बिहान ८:०० बजे नेपाल तामाङ घेदुङको सभाहलमा अन्तिम बैठक बस्ने निर्णय गरिएको छ।

आयोजक पक्षले माघ ४ र ५ गते टुँडिखेलमा हुने सोनाम ल्होछार २८६२ लाई मौलिक संस्कृति, अनुशासन, गरिमा र एकताको प्रतीकका रूपमा स्थापित गर्दै ऐतिहासिक र भव्य रूपमा मनाउने तयारीमा जुटिरहेको जनाएको छ।

 

Comments