नेपाल कर्मचारी समाज समिति गठन
माघ ३०, २०७७, शुक्रबार | विहान ०३:२७ बजे | 35
भक्तपुर । नेपाल मजदुर किसान पार्टीको ४७ औं स्थापना दिवसको आवसरमा नेपाल मजदुर किसान पार्टी भनपा ९ दत्तात्रय समितिको आयोजनामा कर्मचारी भेला तथा नेपाल कर्मचारी समाज भनपा ९ दत्तात्रय समिति गठन कार्यक्रम नेमकिपाका केन्द्रीय सदस्य एवम् वडाध्यक्ष रबिन्द्र ज्याख्वको प्रमुख आतिथ्यतामा एक समारोह बीच बुधबार सकोलानमा सम्पन्न भयो ।
कार्यक्रममा प्रमुख अतिथि रबिन्द्र ज्याख्वले कर्मचारीहरु बौद्धिक र शारीरिक श्रम गर्ने दुई किसिमको हुने बताउँदै बौद्धिक र शारीरिक श्रम गर्ने कर्मचारीहरु बीच भेद हटाउँदै जानु पर्ने बताउनुभयो । उहाँले कर्मचारीहरुले पार्टीको इमान्दारपूर्वक देश र जनताको सेवा गर्ने लक्ष्य अनुसार काम गर्नुपर्ने बताउँदै साँगठनिक गतिविधि अगाडि बढाउनु पर्ने बताउनुभयो । उहाँले नेपालमै पहिलो पटक थेरापिबाट फोक्सोको उपचार गर्ने छाती पुनःस्थापना केन्द्र माघ २९ गते उद्घाटन नेपाल मजदुर किसान पार्टीका केन्द्रीय अध्यक्ष का.नारायणमान विजुक्छेद्धारा समुद्घाटन हुने भएकोले सहभागिताको लागि अनुरोध गर्नुभयो ।
कार्यक्रममा अर्काका अतिथि नेमकिपा भक्तपुर नगर समितिका अध्यक्ष का.नारायण बहादुर दुवालले कर्मचारीहरुले आफ्नो ड्युटी इमान्दार पूर्वक निर्वाह गरी जनताको थप सेवाको निम्ति मेरो कार्यालय समय १०–५ भनेर नबसी सेवा गर्नुपर्ने बताउनुभयो । उहाँले संगठन विस्तारको लागि लोभ लालच र डर धम्कि होइन पार्टी प्रकाशनहरु पढाएर देश र जनताको इमान्दारी पूर्वक सेवा गर्नेहरु मात्र नेमकिपाको सदस्य बन्न सक्ने बताउनु भयो । उहाँले
कार्यक्रममा अर्का अतिथि नेपाल कर्मचारी समाज भक्तपुरका उपाध्यक्ष राजन जतिले कर्मचारी समाजको विधान बारे प्रकाश पार्दे भ्रष्ट्र कर्मचारीहरु विरुद्ध हामी आन्दोलित हुनु पर्ने बताउनुभयो । उहाँले तत्कालीन सोभियत संघ रुसका जनताहरु भोक भनेको के हो ? थाहै नहुने गरी कम्युनिष्ट सरकारले सुविधा दिइ राखेकोमा पछि शान्तिपूर्ण तरिकाले चुनावबाट समाजवाद स्थापना गर्न सकिन्छ भने नीति लिने वित्तिकै नेमकिपाका अध्यक्ष संशोधनबादी नीति लिएको भनेर विरोधका साथै किताब नै प्रकाशित गरेको थियो । त्यहि गलत नीति कै कारण सोभियत संघ पतन भइ अहिले त्यहाँका जनता दुखकष्टका साथ जीवनयापन गर्नु परेको बताउनुभयो ।
कार्यक्रममा नेमकिपा भनपा ९ दत्तात्रय समितिका सचिव रामकृष्ण प्रजापतिले नेपाल मजदुर किसान पार्टीको सिद्धान्त र नीतिलाई व्यवहारमा इमान्दर पूर्वक निर्वाह कर्मचारीहरुले गर्नु पर्ने बताउँदै पार्टीमा आवद्ध कर्मचारीहरु नेमकिपाको पेशागत संगठन नेपाल कर्मचारी समाजमा आवद्ध नभए पार्टीको सिद्धान्त र नीति विपरित काम हुन जाने भएकोले सैद्धान्तिक र बैचारिक परिपक्व नहुने बताउनु भयो ।
कार्यक्रममा कर्मचारी हरिकृष्ण छुस्यावागले स्वागत मन्तव्य राख्दै शरीरको नशाहरु सकृय भएपछि शरीरले गति पाए जस्तै पार्टीको भातृ संगठन र पेशागत संगठनहरु सकृय भए पार्टी विस्तार र राम्रो हुने बताउनुभयो ।
कार्यक्रममा नेमकिपा भनपा ९ दत्तात्रय समितिका अध्यक्ष संञ्जय मानन्धरको सभापतित्वमा भएको कार्यक्रममा उहाँले अध्ययन संस्कृतिलाई जोड दिनुपर्ने बताउँदै शान्तिपूर्ण ढंगबाट सत्तामा पुग्दा पनि समाजवाद स्थापन गर्न नसक्ने उदाहरण चिलीमा रहेको बताउँदै सशस्त्र संघर्षले मात्रै समाजवादको स्थापना र त्यसलाई टिकाई राख्न सक्ने बताउनुभयो । उक्त कार्यक्रममा रामकृष्ण प्रजापतिको अध्यक्षतामा १३ सदस्यीय नेपाल कर्मचारी समाज भनपा ९ दत्तात्रय समिति गठन गरियो ।