आँखामा चस्मा च्याट्टै सार्वजनिक
मंसिर २६, २०८२, शुक्रबार | विहान १०:२८ बजे | 130
काठमाडौं। तामाङ र नेपाली संगीत क्षेत्रमा निरन्तर सक्रिय वरिष्ठ गायक रोज मोक्तानको प्रस्तुतीमा तयार भएको नयाँ म्युजिक भिडियो ‘आँखामा चस्मा च्याट्टै’ सार्वजनिक भएको छ। युवा पुस्तालाई लक्षित आकर्षक शीर्षक, रमाइलो कथावस्तु र परम्परागत सौन्दर्यको आधुनिक संयोजन यस गीतको मुख्य आकर्षण बनेको छ।
गीतको सुरुवातमै “ओ.. साँचि जुहारी खेल्न आउँछ त?” भन्ने संवादबाट सुरु हुने कथा गाउँघरको रमाइलो परिवेश, चञ्चल युवा प्रेम र स्थानीय शैलीको मिठासलाई चित्रण गर्छ। गीतमा वरिष्ठ गायक रोज मोक्तान र वरिष्ठ गायिका जमुना योञ्जनको स्वर समावेश गरिएको छ।
शब्द गीतकार जिबन बम्जन तामाङ र रोज मोक्तान,
संगीत रोज मोक्तानका रहेका गीतको एरेन्ज नोरबु शेर्पा,
र मिक्स/मास्टरिङ दिपेश प्रधान (डीप स्टुडियो पर्पल)ले गीतलाई आकर्षक बनाएका छन्।
भिडियोको निर्देशन तामाङ चलचित्रका महानायक अमिर दोङले गरेका छन्। उनका निर्देशनमा प्रस्तुत भिडियोमा गाउँको जीवनशैली, स्थानीय पहिरन, युवापुस्ताको प्रेमकथा र रमाइलोपनलाई सुन्दर ढंगले प्रस्तुत गरिएको छ। भिडियोमा महानायक अमिर दोङ, बिपाशना तामाङ, निशा लामा र कुइसाङ रुम्बाको जीवन्त अभिनय देख्न सकिन्छ।
भिडियोको कलर–एडिट त्रिलोक लामाले गरेका छन् भने कोरियोग्राफर पाल्देन लामाले नृत्य संयोजनका प्रभावशाली दृश्य प्रस्तुत गरेका छन्।
म्युजिक भिडियो रोज मोक्तानको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।
रमाइलो कथावस्तु, लोकप्रिय लय, आकर्षक दृश्य र कलाकारहरूको जीवन्त अभिनयका कारण ‘आँखामा चस्मा च्याट्टै’ म्युजिक भिडियोले दर्शकमाझ राम्रो प्रतिक्रिया पाउने अपेक्षा गरिएको छ।
भिडियो हेर्न चाहनेका लागि अनुहारमा हाँसो, मनमा रमाइलो र प्रेमको हल्का झल्को एकैपटक पस्किने छ।
फाेटाेमा हेर्नुहाेस्...
