भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता २०८२ सुरु


मंसिर २५, २०८२, बिहीबार | साँझ ०६:१४ बजे | 130


भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता २०८२ सुरु

भक्तपुर नगरपालिकाको आयोजनामा भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता २०८२ मंसिर २५ गते बिहीबारदेखि सुरु भयो । उक्त प्रतियोगिता पुस १ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगिताअन्तर्गत टेबुलटेनिस, भलिबल, फुटबल, कबड्डी, खो–खो, एथ्लेटिक्स, बुद्धिचाल, ब्याडमिन्टन, कराँते, उसु, तेक्वान्डो, पोर्टबल, जिम्नास्टिक, कसिमला पाँय र बाघचाल खेल हुनेछ ।

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें (रोहित) को प्रमुख आतिथ्यमा भक्तपुर नगरपालिकाको आयोजना २०८२ मंसिर २५ गतेबाट सञ्चालन हुने भक्तपुर नगरव्यापी विद्यालयस्तरीय टेबुलटेनिस, भलिबल, फुटबल, कबड्डी, खो–खो, एथ्लेटिक्स, बुद्धिचाल, ब्याडमिन्टन, कराँते, उसु, तेक्वान्डो, पोर्टबल, जिम्नास्टिक, कसिमला पाँय र बाघचाल खेल प्रतियोगिताको उद्घाटन बिहीबार सहिदस्मृति खेलमैदानमा सम्पन्न भयो ।

कार्यक्रमको उद्घाटन गर्दै अध्यक्ष बिजुक्छेँले खेलकुद मित्रता, शिक्षा र संस्कृतिको पनि महत्वपूर्ण अंग भएको बताउँदै खेलकुदले अनुशासन र कर्तव्यप्रति सचेत पार्ने बताउनुभयो । खेलकुदले शारीरिक र मानसिक स्वास्थ्य सुधार गर्नुका साथै अनुशासित नागरिक तयार गर्ने र सामाजिक सम्बन्ध मजबुत बनाउने उहाँले बताउनुभयो ।

विद्यालय, वडा, नगर र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा हुने खेलकुद प्रतियोगिताले खेलाडीहरुले व्यक्तित्व विकासको अवसर पनि पाउने बताउँदै उहाँले विद्यार्थीहरुलाई आत्मनिर्भरताको पाठ सिकाउनुपर्ने बताउनुभयो ।

भदौ २३ र २४ गते नेपालमा घटेको अकल्पनीय घटनाले देशको प्रशासनिक केन्द्र सिंहदरबार, संसद भवन र धेरै मन्त्रालयहरु तथा देशभरका धेरै सरकारी कार्यालयहरु जलाइएको सन्दर्भ जोड्दै उहाँले नयाँ पुस्तालाई राजनैतिक रुपमा संगठित पार्न नसक्दा देशले ठूलो क्षति व्यहोर्नुपरेको बताउनुभयो ।

कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले देशको लागि अनुशासित, नैतिकवान र देशभक्त नागरिक तयार गर्ने उद्देश्यले खेलकुद प्रतियोगिताहरु आयोजना गर्दै आएको बताउँदै यस्ता गतिविधिबाट विद्यार्थीहरुले आफ्नो रुचिअनुसारको खेलमा भाग लिन पाउने अवसर पाउने बताउनुभयो ।

उहाँले नगरपालिकाको आयोजनामा भएको नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगितामा ८० भन्दा बढी विद्यालयका करिब ३ हजार २९१ जना खेलाडीहरु प्रतिस्पर्धा गर्ने बताउँदै भक्तपुर खेलकुद गतिविधिले उत्सवमय हुने बताउनुभयो ।

बागमती प्रदेशका प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाइँले प्रतियोगिता सफलताको लागि शुभकामना दिँदै बालबालिकाको पढ्ने, लेख्ने र अतिरिक्त क्रियाकलापमा भाग लिन पाउने अधिकार सुनिश्चित हुनुपर्ने बताउनुभयो ।

देश विकासमा खेलकुद क्षेत्र पनि जोडिएको हुन्छ भन्दै उहाँले खेलकुद क्षेत्रको विकासमा सरकारले खासै चासो नदिएको उहाँले प्रष्ट पार्नुभयो । नयाँ पुस्तालाई विध्वंश, विनाश, अराजकता, उत्तेजनातर्फ होइन, विज्ञान र रचनात्मक बाटो देखाउनु आजको आवश्यकता भएको बताउँदै उहाँले देशको उज्ज्व भविष्य निर्माणको लागि खेलकुद पनि सशक्त माध्यम हो भन्नुभयो ।

भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले विद्यालयहरुले हरेक विद्यार्थीलाई शिक्षा सँगसँगै खेलकुदमा पनि सक्रिय बनाउने काम गर्दै आएको बताउँदै विद्यार्थीको अन्तरनिहित क्षमता उजागर गर्ने माध्यमको रुपमा खेलकुद क्षेत्रको विकास भइरहेको बताउनुभयो । यस्ता गतिविधिहरुले विद्यार्थीमा गतिशीलता विकास गराउने उहाँले बताउनुभयो ।

भक्तपुर नपा युवा तथा खेलकुद समितिका संयोजक श्यामकृष्ण खत्रीले खेलकुदले विद्यार्थीको शारीरिक र मानसिक विकाससँगसँगै जीवनउपयोगी सिप पनि सिकाउने बताउनुभयो ।

भक्तपुर जिल्ला भलिबल संघका अध्यक्ष विनोदचरण रायले भक्तपुर नपाले जनतालाई गरेको वाचाअनुसार आफ्ना गतिविधिहरु सञ्चालन गरी जनमुखी काम गर्दै आएको बताउँदै सहिदस्मृति खेलमैदानलाई सुविधा सम्पन्न गर्नुपर्ने पक्षमा जोड दिनुभयो ।

कार्यक्रममा कराँतेका राष्ट्रिय निर्णायक राजुसिं बजिको र खेलाडीको तर्फबाट सुरभी श्रेष्ठले खेलकुदलाई अनुशासित र मर्यादित बनाउनसपथ लिएका थिए ।

कार्यक्रममा भक्तपुर नपा वडा नं. ९ का वडाध्यक्ष रबिन्द्र ज्याख्वले पनि बोल्नुभएको थियो । उद्घाटन कार्यक्रममा खेलाडीहरुले जिम्न्यास्टिक खेल पनि प्रदर्शन गरेका थिए भने आस्था सांस्कृतिक समूह र गणेश मावि भार्वाचोका विद्यार्थीहरुले नृत्य प्रस्तुत गरेका थिए ।

Comments