जग्गा एकीकरणपीडितद्धारा प्रदर्शन
माघ २६, २०७७, सोमबार | विहान १०:१६ बजे | 30
भक्तपुर । भक्तपुर नगरपालिकाले सञ्चालन गरेको देको मिवा इतापाके जग्गा एकीकरण आयोजना पीडितहरुले आइतबार भक्तपुर नगरपालिका कार्यालय अगाडि प्रदर्शन गरेका छन् । जग्गा एकीकरण आयोजना पीडितहरुद्धारा गठित संर्घष समितिले आयोजनामा सुधार गर्नुपर्ने उपभोक्ताका मागहरु पूरा गर्न माग गर्दै नगरपालिकाको नगरपालिका प्रवेश गर्ने गेट अगाडि प्रदर्शन गरेको हो । विहान १० बजेदेखि दिउँंसो १ बजेसम्म उनीहरुले प्रदर्शन गरेका थिए । प्रदर्शन गर्नु अघि उनीहरुले जुलुश निकालेको थियो । संघर्ष समितिको कार्यालय व्यासीबाट सुरु भएको जुलुश आयोजनाको कार्यालय, सम्वन्धित वडा कार्यालय पुगेर नगरपालिकाको कार्यालय अगाडि प्रदर्शन गरिएको थियो । प्रदर्शनपछि उनीहरुले आफना मागपत्रहरु नगरपालिका प्रमुखलाई बुझाएका थिए ।
आयोजनाको जग्गा वितरणमा विभेद गरेको भन्दै स्थानीय जग्गाधनीले विरोध गरेका हुन् । जग्गा एकीकरण आयोजनामा नयाँं प्लटिङका लागि नक्सा निकालेपछि त्यसको विरोध गर्न संघर्ष समिति गठन गरिएको थियो । समितिका अध्यक्ष संचज्ञान याकामीले समितिले १६ बुँदे मागपत्र बुझाएको बताए ।
देको, मिबा, इतापाके जग्गा एकीकरण आयोजना बैज्ञानिक एवं आधुनिक तवरमा बनाई यथासिघ्र सम्पन्न गर्नुपर्ने, आयोजना अन्तर्गत रहेको सल्लाघारी–नगरकोट सडक खण्डमा हाल कायम रहेको सडकलाई नै बाटो कायम गर्नुपर्ने, विद्युत प्रसारण लाइनको मुआब्जा नलिएको जग्गाको क्षतिपूर्ति उचित रुपमा दिनुपर्ने, साविकमा कायमी बाटो यथास्थितिमा नै कायम गर्नुपर्ने, आयोजनाभित्रका सडक मापदण्ड छोडेर बनाएको घरको लागि हाल कायम बाटो नै रहनुपर्ने, जग्गाधनीहरूको योगदान कट्टी प्रतिशत समानुपातिक रुपमा गर्नुपर्ने, जग्गाको आकार गहिराई र चौडाईको आधार सुधार गर्नुपर्ने, आसेपासेमुखी जग्गा वितरण तत्काल खारेज गर्नुपर्ने, २०२१ सालको नक्सानुसार खोला फराकिलो गर्नुपर्ने, अस्वाभविक रुपमा बनाएको अग्लो बाटोको पर्खाल भत्काउनुपर्ने, यथास्थानमा नै जग्गा वितरण गर्नुपर्ने, संस्कृति, धर्म, परम्परा झल्किने पाटी, पौवा, कँुवा लोप गर्न नपाइने, प्रत्येक ६०र७० कित्ता जग्गाधनीका लागि एउटा खुल्ला क्षेत्र राख्नुपर्ने, नेपाल सरकारको मापदण्ड बमोजिम कम्तीमा ५ मिटरको बाटो कायम गर्नुपर्ने, पूर्वाधार विकास भएको घरधनीको पूर्वाधार विकास योगदान खारेज गर्नुपर्ने र संघीय, प्रदेश र स्थानीय सरकारको आर्थिक अनुदान उचित रुपमा प्रयोग गर्नुपर्ने माग उनीहरुको छ ।
विरोधमा सहभागीहरुले आयोजना छिटो सम्पन्न गर, पीडितहरुको माग सम्बोधन गर, पीडित एक होऔं, पूर्वाग्रही जग्गा वितरण बन्द गर, आयोजनालाई नाफामुखी होइन सेवा मुखी गर र पुरातात्विक सम्पदा मास्क पाइदैन भनी यी ६ नारा लगाएका थिए ।
नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सचिव एवं सांसद प्रेम सुवाल, देको मिबा इतापाके जग्गा एकीकरण आयोजना उपभोक्ता समिति अध्यक्ष तुल्सीराम धुख्वा, सदस्यहरू आशकुमार कोजू र कृष्णभक्त सुवालका घरमा प्ले–कार्डसहित धर्ना दिएको थियो ।