निकोसेरामा ७६ वर्षीय बृद्धमाथि कुटपिट


कार्तिक १५, २०८२, शनिबार | साँझ ०६:२२ बजे | 470


निकोसेरामा ७६ वर्षीय बृद्धमाथि कुटपिट

भक्तपुर । भक्तपुरको मध्यपुर थिमि नगरपालिका वडा नं. ९ निकोसेरा ढुङ्गेधाराको एउटा घरमा रहेका एकजना बृद्धलाई कुटपिट गरी घाइते बनाएको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । निकोसेरा बस्ने बर्ष ७६ को कृष्णभक्त कासुलाको १ तल्ले घरको झ्यालबाट दुई जना अपरिचित मानिसहरु प्रवेश गरी निज कासुलाको टाउकोमा दाउराको चिरपटले प्रहार गरी घाइते बनाएको आरोपमा उनीहरुलाई पक्राउ गरेको जनाएको छ । 
पक्राउ पर्नेहरुमा काभ्रेपलान्चोक धुलिखेल नगरपालिका वडा नं. ३ घर भई हाल भक्तपुर नगरपालिका वडा नं १० कमलविनायक बस्ने बर्ष २७ को बिक्रम थापा, काभ्रेपलान्चोक रोशी गाँउपालिका वडा नं. १ घर भई हाल कमलविनायक नै बस्ने बर्ष ३०  रामबहादुर तामाङ, रोल्पा परिवर्तन गाँउपालिका वडा न. ४ घर भई हाल कमलविनायकमै बस्ने बर्ष ४३ को लोकेन्द्र पुन, उदयपुर बेलटार घर भई हाल सोही स्थान बस्ने बर्ष ४० को राजु राई रहेका छन् । पक्राउ परेका उनीहरुमध्ये बिक्रम थापा र रामबहादुर तामाङ चोरी, लुटपाट र लागू औषध अपराधमा, विगतदेखि नै संलग्न रहेको अनुसन्धानको क्रममा खुल्न आएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ । 
कुटपिटबाट घाइते भएपछि कासुलाई उपचारको लागि भक्तपुर अस्पताल लगेकोमा थप उपचारको लागि काठमाडौ मेडिकल कलेज सिनामंगल काठमाडौं लगेको परिसरका डिएपी प्रकाश जबेगूले जनाए । सोही घटनाको सम्बन्धमा प्रहरी वृत्त ठिमी भक्तपुरबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भइरहेको उनले जनाए । कुटपिटको घटना भने शुक्रबार भएको जनाइएको छ ।
 

Comments