सनवे स्टार्टअप एन्ड आइडिया फेस्ट २०२५ आयोजना हुने


कार्तिक ६, २०८२, बिहीबार | दिउँसो ०२:११ बजे | 18


सनवे स्टार्टअप एन्ड आइडिया फेस्ट २०२५ आयोजना हुने

काठमाडौँ — स्टार्टअप तथा इन्नोभेसनको प्रवर्द्धनका लागि कात्तिक २७ र २८ गते काठमाडौंमा सनवे स्टार्टअप एन्ड आइडिया फेस्ट २०२५ आयोजना हुने भएको छ ।

सातै प्रदेशका सयभन्दा बढी स्टार्टअप तथा इन्नोभेसनहरूको प्रदर्शनी रहने फेस्टमा रोबोटिक्स, ड्रोन र एआई प्रविधिहरूको पनि शोकेस गरिनेछ । अनुपम फुडल्यान्ड, बत्तीस पुतलीमा आयोजना हुने यो फेस्ट, आईसीटी अवार्ड २०२५ को प्रि–इभेन्टको रूपमा हुनेछ ।

लिभिङ विथ आईसीटी र स्वाइड अफ चेन्जमेकरको संयुक्त आयोजनामा हुने कार्यक्रममा ५० भन्दा बढी स्टार्टअप, प्रोडक्ट र इन्नोभेसनहरूले आईसीटी अवार्ड २०२५ का सेमिफाइनलिस्टका रूपमा सहभागिता जनाउनेछन् । अवलोकनकर्ताले ती प्रोडक्ट तथा इन्नोभेसनका आधारमा भोट पनि गर्न सक्नेछन् । साथै, सातै प्रदेशबाट ३० भन्दा बढी स्टार्टअपहरूको सहभागिता रहनेछ ।

फेस्टमा विभिन्न कम्पनी तथा विद्यार्थीहरूले विकास गरेका रोबोटिक्स, एआई प्रोडक्ट, रकेट तथा एयरोस्पेससम्बन्धी परियोजनाहरूको पनि प्रदर्शनी हुने बताइएको छ ।

स्टार्टअप एन्ड आइडिया फेस्ट नेपालमा इन्नोभेटिभ रूपमा काम गरिरहेका स्टार्टअप, विद्यार्थी र इन्नोभेटरहरूलाई प्रवर्द्धन गर्न तथा उद्यमशीलता विकासका लागि आयोजना गरिएको हो भनी आयोजक समिति अध्यक्ष राजन लम्सालले बताए । यस कार्यक्रममार्फत सरकार, सरोकारवाला, लगानीकर्ता र स्टार्टअप इकोसिस्टममा काम गरिरहेकाहरूसँग सहकार्यका लागि आयोजकले आह्वान गरेको छ ।

आइडिया र प्रोडक्टमा लगानी गर्न इच्छुक लगानीकर्ताहरूका लागि फेस्टमा प्रोडक्ट डेमो र नेटवर्किङ सेसनको पनि व्यवस्था गरिने आयोजक लिभिङ विथ आईसीटीले जानकारी दिएको छ । कार्यक्रममा प्रदर्शनीमा सहभागिता निःशुल्क गरिएको छ ।

विभिन्न विद्यालय र कलेजबाट अवलोकनका लागि आउने विद्यार्थीहरूका लागि थप सहजीकरण गरिने आयोजकले जानकारी दिएको छ ।

प्रविधि क्षेत्रको सबैभन्दा ठूलो र प्रतिष्ठित पुरस्कारको रूपमा स्थापित आईसीटी अवार्डको प्रि–इभेन्टका रूपमा आयोजना हुने स्टार्टअप फेस्ट नेपालकै सबैभन्दा ठूलो स्टार्टअप प्रवर्द्धनात्मक कार्यक्रमका रूपमा स्थापित भएको छ ।

आईसीटी अवार्डबाहेक स्टार्टअप तथा टेक प्रोडक्टहरूले पनि प्रदर्शनीमा सहभागिता जनाई आफ्नो व्यवसाय प्रवर्द्धन गर्न सक्नेछन् । यसको लागि वेबसाइटमार्फत अनलाइन दर्ता गर्न सकिनेछ ।

यस कार्यक्रममा सहभागिता जनाउने सातै प्रदेशका उत्कृष्ट एक–एक स्टार्टअपलाई आईसीटी अवार्ड २०२५ को ग्राण्ड फिनालेमा प्रोभिन्स स्टार्टअप आईसिटी रिकग्निसनबाट सम्मान गरिनेछ ।

आईसीटी अवार्ड २०२५ का लागि हाल विभिन्न १५ विधामा छनोट प्रक्रिया सञ्चालनमा छ । अवार्डमा ७ सयभन्दा बढी अनलाइन नोमिनेसन प्राप्त भएका छन् । १४ जना नेपाली र ३ जना विदेशी विज्ञहरू अवार्ड छनोट प्रक्रियामा सहभागी भएका छन् ।

स्टार्टअप एन्ड आइडिया फेस्टसँगै अवार्डका लागि दर्जनौं प्रि–इभेन्टहरू सञ्चालन हुनेछन् ।

Comments