साहित्यिक साँझ सम्पन्न


कार्तिक ६, २०८२, बिहीबार | विहान ०७:४५ बजे | 23


साहित्यिक साँझ सम्पन्न

नेपाल रुस साहित्य समाज र रुसी भवन काठमाडौँको आयोजनामा विख्यात रुसी कवि, उपन्यासकार मिखाइल लेर्मन्तोभको २११ औं तथा महाकवि देवकोटाको ११६ औ जयन्तीको अवसरमा साहित्यिक साँझ सम्पन्न भएको खबर छ । प्रमुख अतिथि नेपाली लेखक संघका अध्यक्ष वियोगी बुढाथोकीबाट पानसमा दियो बालेर उदघाटन भएको उक्त कार्यक्रमको सञ्चालन नेपाल रुस साहित्य समाज (नेरुसास) का महासचिव ई. रामविन्दु श्रेष्ठले गरेका थिए । कार्यक्रमको शुरुमा रुसी सदन काठमाडौँका निर्देशक अनास्तासिया खोख्लोभाले लेर्मन्तोभ र देवकोटा दुई छुट्टाछुट्टै शताब्दी र महादेशका भएपनि ती दुबै साहित्य सृजना मार्फत आफ्नो युगको प्रतिनिधित्व गरेका महान व्यक्तित्वहरू थिए भन्नु भयो । उहाँले कवि लेर्मन्तोभको प्रसिद्ध ‘डुङ्गा’ कविता पनि वाचन गर्नु भयो । रुसी सांस्कृतिक केन्द्र पुस्तकालयकी भावना न्यौपानेले देवकोटा र लेर्मन्तोभको बारे परिचय प्रस्तुत गर्नु भयो । काव्य साँझकोे पहिलो देवकोटा खण्डमा कविहरू डा. अमोद मणि दीक्षित, युवराज डिसी, टिपी बराकोटी, किरण दर्नाल, किरण पन्थी, शकुन्तला जोशी, दीपक चौलागाईं, साजन सुवेदी आदिले नेपाली कविताहरू वाचन गरेका थिए भने इ. केशव राज विष्टले देवकोटा र लेर्मन्तोभको स्मरणको महत्व बारे बोले । दोस्रो लेर्मन्तोभ खण्डमा कवि डा. जे.एन. पाण्डे जनपालीले रुसी कविको कविता रुसी र नेपाली भाषामा सुनाउनु भयो । मुख्य अतिथि वियोगी बुढाथोकीले रत्नपार्कमा पुश्किन, गोर्कीका साहित्यहरू किनी पढेको सम्झना गर्दै नेपाल रुस साहित्य समाजले निरन्तर दिदैं आएको यो निरन्तरता प्रशंसनीय छ भन्नु भयो । नेरुसासका अध्यक्ष विष्णु बहादुर सिंहले मिखाइल लेर्मन्तोभका बहुआयामिक पक्ष र जीवनका विविध पक्ष बारे प्रकाश पार्दै कार्यक्रमको समापन गर्नुभयो । मिखाइल लेर्मन्तोभ रोमान्टिक कालका प्रमुख रूसी कवि र उपन्यासकारका रूपमा लोकप्रिय छन् । उनलाई पुष्किनका उत्तराधिकारीको रूपमा हेरिन्छ । उनी आफ्नो मनोवैज्ञानिक उपन्यास ‘हाम्रो जमानाका नायक’ का लागि सबैभन्दा बढी प्रसिद्ध छन्, जुन त्यो समयको अभूतपूर्व बिम्ब थियो । उनको प्रभावशाली कविताहरूले विद्रोह, स्वतन्त्रता र व्यक्तिगत भावना, साथै उनको जीवनका विषयवस्तुहरूलाई समेटेको थियो । देवकोटा र लेर्मन्तोभका जीवनी र साहित्यिक गतिविधि झल्किने फोटो प्रदर्शनीले कार्यक्रममा आकर्षण थपेको थियो । विभिन्न क्षेत्रमा कार्यरत लेखक, कलाकार, विद्यार्थी र साहित्यकारहरूको जमघटले कार्यक्रम भव्य र सभ्य भई सम्पन्न भयो ।

Comments