भक्तपुरमा चाडपर्व लक्षित बजार अनुगमनः २८५ केजी अखाद्य मिठाई नष्ट
कार्तिक ५, २०८२, बुधबार | विहान ०८:४६ बजे | 23
भक्तपुर । चाडपर्वमा उपभोक्ताको स्वास्थ्य सुरक्षालाई ध्यानमा राखी संयुक्त बजार अनुगमन टोलीले भक्तपुरका विभिन्न बजार क्षेत्रमा अनुगमन गरेको छ । संयुक्त टोलीले कमलविनायक क्षेत्रमा रहेका विभिन्न मिठाई पसलहरूमा अनुगमन गरी चार वटा पसलबाट नमुना संकलन गरेको छ । सो क्रममा मोबाइल भ्यानमार्फत स्ट्राच टेस्ट गर्दा अखाद्य मिसावट भएको मिठाई भेटिएको थियो । अनुगमन टोलीले झण्डै २८५ केजी मिठाई भक्तपुर नगरपालिकाको सहयोगमा नष्ट गरेको र सम्बन्धित व्यवसायीलाई सुधारका लागि निर्देशन दिएको छ । त्यसैगरी यसअघि टोलीले झैखेलस्थित दुई वटा मिनरल वाटर उद्योगहरूको अनुगमन गरेको थियो । अनुगमनका क्रममा उद्योगबाट उत्पादित पानीमा कैफियत पाइएको हुँदा सो उद्योगलाई रु. १५,००० (पन्ध्र हजार) जरिवाना गरिएको र आवश्यक सुधारका निर्देशन दिइएको छ ।
यो संयुक्त अनुगमनमा जिल्ला प्रशासन कार्यालय भक्तपुर, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, उद्योग तथा वाणिज्य कार्यालय, र जिल्ला प्रहरी परिसर भक्तपुर का प्रतिनिधिहरू सहभागी रहेको उद्योग तथा वाणिज्य कार्यालय भक्तपुरका सूचना अधिकारी लक्ष्मीप्रसाद कासुलाले जानकारी गराए ।
