भक्तपुर मालपोतको एकजना डन सुव्वा जसले ३५ लाख बार्गेनिंग गरेको खुल्यो
असोज २४, २०८२, शुक्रबार | विहान ०८:११ बजे | 445
भक्तपुर मालपोत कार्यालयमा रजाइँ गर्दै आएका र उच्चपदस्थ कर्मचारीलाई समेत प्रभावमा पारेर अनियमितता गर्दै आएका नायब सुब्बा (नासु) ले जिल्ला अदालत भक्तपुरको फैसलाविपरित काम गरेर सेवाग्राहीसँग घुस डिल गरेको खुलेको छ।
भक्तपुर मालपोत कार्यालय मुद्दा शाखा (ख) फाँटमा कार्यरत कार्कीले अदालतको फैसलाविपरित जग्गाको कित्ताकाट गराउन लगाएर सेवाग्राहीलाई दुख दिएको र ३५ लाख रुपैयाँ बार्गेनिङ गरिरहेको खुलेको हो।
अदालतको फैसलाविपरित जग्गा कित्ताकाट गरिएपछि पीडित बनेका व्यक्तिले भूमी व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयमा उजुरी गरेपछि डम्बर कार्कीको घुस डिल गर्ने हर्कत एकपटक फेरि बाहिरिएको हो।
यसअघि पनि कार्कीले सेवाग्राहीका फाइल अड्काएर, झोलामा राखेर घरमै लैजाने र बार्गेनिङ गर्ने गरेको आरोप कार्कीलाई लाग्दै आएको छ।
बिहीबार भने भक्तपुरको चाँगुनारायण नगरपालिका–८ का पीडित केशव कार्कीले मन्त्रालयमा उजुरी गरेर मुद्दा शाखा (ख) फाँटमा कार्यरत डम्बर कार्कीले अनियमित कार्य गरेको र हैरानी दिएको उल्लेख गरेका छन्।
साथै पीडितले कानुनअनुसार काम गर्न खोज्दा पनि ३५ लाख रुपैयाँ ल्याउन भनेको भन्दै आफूसँग घुस माग गरिएको गुनासाे सञ्चारमाध्यमसँग गरेका छन्।
के हो विषय?
चाँगुनारायण नगरपालिका वडा नम्बर ८ साविकको सुडाल गाविस वडा नम्बर ४ मा रहेको जग्गाको कित्ता नम्बर ३४६ को क्षेत्रफल १४ रोपनी १२ आना जग्गा परिवारिक अंशबण्डा हुँदा विवाद सिर्जना भएको थियो।
विवाद हुँदा उक्त जग्गामा हक लाग्ने व्यक्तिहरु भक्तपुर जिल्ला दालत गएर फैसला गराएका छन्। ‘भक्तपुर जिल्ला अदालतको फैसला बमोजिम अंशबण्डा गरी नरम गरम मिलाई बण्डा मुचुल्का गरेको अनुसार दाखिल खारेजको लागि निवेदन दिइएको छ,’ बिहीबार मन्त्रालयमा परेको उजुरीमा भनिएको छ, ‘मालपोत कार्यालयले बण्डा मुचुल्काविपरित मनोमानी गरी जग्गाको नक्सा काट गर्न नापी कार्यालय पठाइएको र नापी कार्यालयले कुनैलाई राम्रो र कुनैलाई नराम्रो पारी बण्डा गरिदिएको छ। यसलाई हामीलाई मर्का परेको छ।’
यसको मुख्य दोषी मालपोत कार्यालय मुद्दा शाखाको ख फाँटमा कार्यरत नायब सुब्बा डम्बर कार्की नै रहेको उजुरीकर्ताको दाबी छ। ‘अदालतको बण्डा मुचुल्काविपरित नापी कार्यालयले मालपोत मुद्दा शाखा फाँट (ख)का डम्बर कार्कीले भनेबामेजिम नै कित्ताकाट गरिएकाले हामीलाई मर्का परेको छ,’ उजुरीमा दाबी गरिएको छ।
अदालतको फैसला नमान्ने र कानुनविपरित काम गर्ने कर्मचारीलाई कारबाही गर्न भूमी व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयमा परेको उजुरीमा माग गरिएको छ। ‘कानूनविपरित काम गर्ने कर्मचारीलाई कारबाही गरी भक्तपुर जिल्ला अदालतको बण्डा मुचुल्काअनुसार नाप नक्सा संशोधन गरी पाउन यो निवेदन पेश गरिएको छ,’ उजुरीमा भनिएको छ।
को हुन् कार्की?
भक्तपुर मालपोतका नायब सुब्बा कार्की कार्यालयकै विवादित कर्मचारीमध्ये एकका रुपमा चिनिन्छन्। मुद्दा शाखा (ख) फाँटमा कार्यरत कार्कीले विवादित फाइल देख्नै नहुने देखेपछि सेवाग्राहीलाई हैरानी दिने र अफ्नो स्वार्थ पूरा गरिहाल्ने सो कार्यालयका कर्मचारी बताउँछन्। ‘कुनै विवादित फाइल आयो कि उहाँ (कार्की)ले ती व्यक्तिहरुलाई गलाउने गरी दुख दिनुहुन्छ,’ भक्तपुर मालपोत स्रोतले भन्यो, ‘उहाँको विगत एकदमै विवादित छ। बुझ्दा हुन्छ।’
विगतमा पनि कार्कीले विवादित फाइल भेटेमा फाइलसँग सम्बन्धित व्यक्तिहरुलाई भयंकर दुख दिने र घुस बार्गेनिङ गर्ने आरोप लाग्दै आएको छ। ‘सरुवा हुँदा समेत सम्बन्धित कार्यालयमा नजाने र भक्तपुर मालपोतमै बस्न हरतरहले लाग्ने कार्कीको स्वभाव हो,’ स्रोत भन्छ, ‘आफ्नो सरुवा उल्ट्याउन, आफूले चाहेअनुसार फाइल सदर नगर्ने अधिकृतको समेत त्यस कार्यालयबाट सरुवा गर्न उहाँले निकै चलखेल गर्नुहुन्छ। त्यसमा सफल पनि हुन्छन्।’
भक्तपुर मालपोतमा कार्कीको रजगज चल्न थालेको तत्कालीन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीको पालादेखि हो। मोदीको छायामा बसेर कार्कीले आफूले चाहेअनुसार कर्मचारी सरुवा गर्ने गरेका थिए।
अहिले पनि मालपोत कार्यालयमा उनले आफूले चाहेअनुसार हस्ताक्षर नगर्ने तथा फाइल सदर नगर्ने आफूभन्दा माथिल्लो तहका कर्मचारीको समेत सरुवा गराउने हैसियत राख्छन्।
डम्बर कार्कीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमै उजुरीका चाङ छन्। आयोगले भक्तपुर मालपोतका तत्कालीन प्रमुख कुमार आचार्यलगायतलाई केही महिनाअघि मात्रै रंगेहात समाएर मुद्दा चलाए पनि त्यही कार्यालयमा वर्षौंदेखि रजगज गर्दै आएका कार्कीमाथि छानबिन गरी मुद्दा चलाउन सकेको छैन। ‘अख्तियारदेखि भूमी व्यवस्थापन विभाग, भूमि मन्त्रालय, सामान्य प्रशासन मन्त्रालयका कर्मचारी उहाँले मिलाइहाल्नु हुन्छ,’ स्रोत भन्छ, ‘उहाँलाई कसको संरक्षण होला र? यति खुलारुपमा बार्गेनिङ गर्नुहुन्छ होला?’
पछिल्लो समय भ्रष्टाचारविरुद्ध जेन-जीले जोडतोडका साथ आवाज उठाइरहेको छ। जेन–जीकै आन्दोलनको बलमा नयाँ सरकार बनेपछि आयोगलाई समेत भ्रष्टारीमाथि छानबिन गरी मुद्दा चलाउन दबाब बढेको छ।
आन्दोलनको बलमा सरकार फेरिएर भ्रष्टाचारविरुद्ध चर्को आवाज उठ्दा समेत मालपोत कार्यालय भक्तपुरका नायब सुब्बा कार्कीले सेवाग्राहीलाई हदैसम्म दुख दिइरहेको बिहीबार मन्त्रालयमात्रै खुलेको छ।
यस्तो अवस्थामा कार्कीले खुला रुपमा गरिरहेको बार्गेनिङ तथा विगतदेखि नै गर्दै आएका घुसका हर्कतको छानबिन गरी कारबाही गर्न अनुरोध गर्दै मन्त्रालयका सचिव केदारनाथ शर्मालाई सम्बोधन गरी बिहीबार उजुरी परेको छ।
विटाटुडे अनलाइनबाट