वरिष्ठ गायिका ज्ञानु राणाको गीतमा रमाए गायकगायिका
असोज २१, २०८२, मङ्गलबार | राति ०९:२६ बजे | 130
काठमाडौं । नेपाली आधुनिक संगीतको इतिहासमा अमिट छाप छोड्न सफल ७५ वर्षीया वरिष्ठ गायिका ज्ञानु राणाले सयौ कालजयी गीतहरु गाएकी छिन् । तर उनलाई ती धेरै गीतहरुमध्ये सवैभन्दा धेरै मनपर्छ, कसैले बुझेन मेरो मनको बहलाई.....। यही गीत आफूले गाएका सयौं गीतहरुमध्येको सवैभन्दा धेरै मनपर्ने गीत हो भन्दै उनले आइतबार राजधानीमा आयोजित एक कार्यक्रममा यही गीत गाएर सवैलाई सुनाइन् ।
नेवाः साधना कला केन्द्र काठमाडौं नेपालले सोमबार राजधानीमा विजया दशमी २०८२ को अवसरमा गरेको शुभकामना आदानप्रदान कार्यक्रमकी प्रमुख र एकजना मात्रै अतिथि राणाले आफूले गाएको दर्जन गीतहरु कार्यक्रममा गाएर सुनाएकी थिइन् । मान्छेको माया यहाँं खोलाको पानी जस्तै.....,शिरिमा शिरी नि कान्छा बतास चल्यो....लगायतका आफना सदावहार गीतहरु गाएकी थिइन् । कार्यक्रम एक हिसावले उनको एकल साँंझ जस्तै थियो ।
राणाले नारायण गोपाल, गोपाल योंजन, प्रेमध्वज प्रधान, अरुणा लामा, भक्तराज आचार्य, कुमार बस्नेतजस्ता कलाकारहरूसँग सहकार्य गरेकी छिन् । ती दिनहरूलाई नेपाली आधुनिक संगीतको सुनौलो युगका रूपमा चिनिन्छ उनी, जहाँ राणाको स्वरले आधुनिक गीतलाई स्तरीयता र आत्मीयता प्रदान गरेको थियो । साँंचो अर्थमा राणा नेपाली आधुनिक गीतकी जीवित किंवदन्ती हुन् ।
बृद्धा उमेरका कारण धेरैजसो गीतहरु बसेरै गाएकी त्यो कार्यक्रममा सहभागी अन्य विभिन्न गायक गायिकाहरुले उनैद्धारा गाइएका गीतहरु गाएर सुनाएका थिए । उनी आफूले गाएको गीतहरु अरुको आवाजबाट प्रत्यक्ष सुन्दा मन्त्रमुग्ध देखिरहेकी थिइन् ।
‘ज्ञानु राणा दिदी वास्तबमा नेपालकी लतामंगेशकर हुन्, कार्यक्रम आयोजक नेवाः साधना कला केन्द्रका अध्यक्ष सुन्दरमान श्रेष्ठ (बागमती भाइ)ले कार्यक्रममा भने । कार्यक्रममा बरिष्ठ रेडियोकर्मी कुशुम बज्राचार्यले गायिका राणा अहिलेका सवैजना गायकगायिकाहरुको शिक्षिका रहेको स्मरण गरिन् । मैले रेडियो नेपालमा स्वर परीक्षण गराउँंदा उहाँं नै निर्णायकमा रहनुभएको थियो, उनले नजिकै रहेकी गायिका राणासमक्ष नतमस्तक हुँंदै भनिन्, मेरो मात्रै होइन, म जस्ता सयौंका उहाँं गुरुआमा हुनुहुन्छ ।
रेडियो नेपालको प्रारम्भिक समयमा नै आफ्नो गायन यात्रा सुरु गरेकी राणाले आफ्नो मधुर स्वर, सरल प्रस्तुति र भावनात्मक गायनका कारण छोटो समयमा नै श्रोतामाझ लोकप्रियता कमाएकी थिइन् । उनको स्वरले २०१० र २०२० को दशकमा नेपाली संगीतलाई नयाँ पहिचान दिलाएको थियो । गायिका राणाका धेरै गीतहरू आज पनि नेपाली मनमा गुञ्जिरहेका छन् । उनका गीतहरुले उनको स्वरमा रहेको भावनात्मक गहिराइ, प्रेम र नेपालीपनको अभिव्यक्ति प्रष्ट देखाउँछन् ।
आज पनि नेपाली संगीतप्रेमीहरूका मनमा समान रूपमा प्रिय र सम्मानित नाम हुन् ज्ञानु राणा, कार्यक्रममा सहभागी एकजना गायिका शुद्धलक्ष्मी श्रेष्ठले भनिन् । दशकौँदेखि नेपाली संगीतको सेवा र समर्पणमा सक्रिय राणालाई नेपाली आधुनिक गीतकी जीवित किंवदन्तीका रूपमा चिनिन्छ अहिले पनि ।
लामो समयसम्म नेपाली संगीतको क्षेत्रमा योगदान पु¥याउँदै आएकी राणाले आफ्नो समर्पणको कदरस्वरूप विभिन्न पुरस्कार र सम्मानहरू प्राप्त गरेकी छिन् । तीमध्ये रेडियो नेपाल सम्मान, लोक तथा आधुनिक संगीत प्रज्ञा पुरस्कार र जीवन उपलब्धि सम्मान प्रमुख छन् ।
संगीतसँगै ज्ञानु राणाको विनम्र र सरल व्यक्तित्वले पनि उनलाई सबै पुस्ताका कलाकार र श्रोतालाई प्रिय बनाएको छ । उनको गायनमा केवल सुर र ताल मात्र होइन, एउटा आत्मीयता र नेपाली मनको भावना प्रकट हुन्छ, कार्यक्रममा उनको गीत गाएका गायकगायिकाहरुले उनको प्रसंसा गर्दै भने ।
आज पनि उनका गीतहरू रेडियो, टेलिभिजन र सामाजिक सञ्जालमा निरन्तर गुञ्जिरहेका छन् । नयाँ पुस्ताका कलाकारहरूले उनलाई नेपाली संगीतको प्रेरणाको प्रतीकका रूपमा लिन्छन् ।
वरिष्ठ गायिका राणाको संगीत यात्रा केवल व्यक्तिगत उपलब्धिको कथा होइन, यो नेपाली आधुनिक संगीतको इतिहासकै गौरवपूर्ण अध्याय हो, जसले नेपालीपन, प्रेम र भावना सबैलाई एउटै स्वरमा बाँधिदिएको छ । कार्यक्रमको अन्तमा राणाले सवै श्रोताहरुलाई धन्यवाद दिंदै भनिन्, म नमरुजेन्ल गीत गाउन छोड्दिन ।
कार्यक्रमको क्रममा आयोजक नेवाः साधना कला केन्द्रले तीन महिनाभित्रै ज्ञानु राणा एकल साँंझ कार्यक्रम राख्ने सार्वजनिक घोषणा गरयो । यसअघि यसबारे गायिका राणासँंग अनुमति लिएको थियो । उनले अनुमति दिएपछि राजधानीमा ज्ञानु राणा एकल साँंझ कार्यक्रम गर्ने सार्वजनिक घोषणा गरिएको थियो ।
