सत्यको स्वरः उपेन्द्र केसीको अविराम कलम


भदौ ३०, २०८२, सोमबार | विहान १०:१९ बजे | 260


सत्यको स्वरः उपेन्द्र केसीको अविराम कलम

रोजी बस्नेत
बाल्यकाल र पारिवारिक पृष्ठभूमि
२०२४ सालको पुष ९ गते, भक्तपुरको शान्त गाउँ नंखेल, सूर्यविनायक–०९ मा जन्मिनुभएका उपेन्द्र केसी. आजसम्म पनि आफ्नै जन्मथलोमा गहिरो सम्बन्ध बोकेर जीवन बिताइरहनु भएको छ। इन्द्र बहादुर र सरस्वती खत्रीका सुपुत्र उपेन्द्र, चार सदस्यीय साधारण परिवारमा एक भाइसहित हुर्कनुभयो। हाल ५७ वर्ष पुग्नुभएका उहाँ आज पनि नंखेलमै बसोबास गर्दै आउनु भएको छ, जसले उहाँको समुदायप्रतिको निष्ठालाई प्रतिबिम्बित गर्छ।
शिक्षा र पत्रकारिताको प्रारम्भिक मोह
२०५० सालतिर स्नातकोत्तर (एम.ए) अध्ययन पूरा गर्नुभएका उपेन्द्रको शैक्षिक यात्रा बाल्यकालदेखि देखिएको पत्रकारिता प्रतिको मोहसँग गहिरो रूपमा गाँसिएको थियो। बाल्यकालमै पत्रपत्रिका पढ्ने बानी, विशेषतः पाठक पत्र र सम्पादकीय पढ्ने रुचिले उहाँमा लेख्ने चाहना जगायो। त्यसैले भक्तपुरबाट काठमाडौं आई आफैँले लेख पठाउने गर्थे। आफ्नै नाम छापिएको देख्दा मनमा एउटा गहिरो भाव जाग्यो—“म पत्रकार बन्ने छु।”
औपचारिक पत्रकारिता यात्रा
२०५८ सालमा उपेन्द्रले औपचारिक रूपमा पत्रकारिता सुरु गर्नुभयो, विशेषतः छापामा आधारित माध्यममार्फत। उहाँको पहिलो मिडिया यात्रा “छापा“ बाट सुरु भयो, जसले उहाँलाई समाचारको चञ्चल र रोमाञ्चक संसारमा प्रवेश गरायो। समयसँगै उहाँले नेपालको राजनीतिक रूपान्तरण, प्रविधिको विकास, आर्थिक उतार चढाव लगायत विषयलाई नजिकबाट अवलोकन गर्नुभयो। यिनै अनुभवहरूले उपेन्द्रलाई केवल रिपोर्ट गर्ने पत्रकार होइन, राष्ट्रिय परिस्थितिलाई गहिरो रूपमा बुझ्ने पत्रकार बनायो।
पत्रकारिता प्रतिको दर्शन र सल्लाह
उपेन्द्र त्यस्ता दुर्लभ पत्रकारहरूमध्ये एक हुनुहुन्छ, जसले पत्रकारितालाई छोटो मार्ग होइन, लामो दौडको रूपमा हेर्नुहुन्छ। उहाँ नयाँ पत्रकारहरूलाई “एकै रातमा स्टार बन्ने” आशामा नभई दृढता र लगनशीलताको बाटो अँगाल्न आग्रह गर्नुहुन्छ। उहाँको सुझावः “आफ्नो क्षमता जान्नु, निरन्तर अभ्यास गर्नु र पत्रकारितालाई जीवनभरको अभियानको रूपमा लिनु।“
डिजिटल युग र प्रतिस्पर्धा
पत्रकारिताको यात्रा उहाँले नजिकैबाट परिवर्तन हुँदै गएको देख्नुभएको छ। जहाँ पहिले साप्ताहिक, रेडियो र टेलिभिजन नै प्रमुख थिए, अहिले डिजिटल पत्रकारिताले हरेक सेकेन्ड समाचार अद्यावधिक गरिरहेको छ। “एक मिनेट ढिला भयो भने, अरू मिडियाले अगाडि बढिसक्छ,” भन्ने उहाँको भनाइ छ। यद्यपि प्रतिस्पर्धा तीव्र भए पनि उहाँ यो परिवर्तनलाई स्वागत गर्नुहुन्छ र नयाँ प्रविधिमा अद्यावधिक भइरहन जरुरी देख्नुहुन्छ।
नक्कली समाचार र सत्यताको सुरक्षा
उपस्थित युगको चुनौती भनेकै “नक्कली समाचार” हो भनेर उहाँ स्पष्ट रूपमा भन्नुहुन्छ—नेपाल मात्र होइन, संसारभरि यही समस्या छ। “मिसन पत्रकारहरूले पनि कहिलेकाहीँ गलत समाचार दिन सक्छन्, तर त्योले विश्वास गुमाउँछ,” भन्नुहुन्छ उहाँ। उहाँ आफैँ स्रोतको सुरक्षा र सत्य तथ्य प्रमाणित नगरेसम्म समाचार प्रकाशित नगर्ने नीतिमा अडिग रहनुहुन्छ। “कतिपय स्रोतहरू सुरक्षाका कारण खुलाउन मिल्दैन,” उहाँ भन्नुहुन्छ, “तर हामी उनीहरूलाई बुझाउँछौं, विश्वास दिलाउँछौं, अनि सत्य बाहिर ल्याउँछौं।”
मिडिया विकासको दृष्टिकोण
उपेन्द्र मिडिया क्षेत्रलाई मानवीय जीवन जस्तै प्राकृतिक विकासक्रम भएको देख्नुहुन्छ—“नयाँ आउँछ, पुरानो जान्छ। त्यो स्वाभाविक हो।” उहाँ युट्युब पत्रकारलाई प्रतिस्पर्धी नभई सिक्ने पात्रको रूपमा हेर्नुहुन्छ। उहाँको चेतावनी छ “फेक कन्टेन्टले सुरुमा भ्युअर्स पाउँछ, तर केही दिनमै जनताले चिन्न थाल्छन्, अनि क्षति भइहाल्छ।”
प्रभावशाली रिपोर्टिङका उदाहरणहरू
स्थानीयस्तरका केही घटनाहरूमा उहाँको रिपोर्टिङ प्रभावशाली रह्यो। चाँगुनारायण बालुवाको मुद्दाले प्रहरी, नेताहरूलाई झस्कायो भने सूर्यविनायक चिडियाखाना प्रकरणले मन्त्रीस्तरको ध्यान खिच्यो। उहाँको कार्यशैली सरल तर प्रभावकारी छ, फिल्डमा जानु, जनताको कुरा सुन्नु, तथ्य संकलन गर्नु र समाचार प्रकाशित गर्नु।
स्थानीयस्तरका केही घटनाहरूमा उहाँको रिपोर्टिङ प्रभावशाली रह्यो। चाँगुनारायण बालुवाको मुद्दाले प्रहरी, नेताहरूलाई झस्कायो भने सूर्यविनायक चिडियाखाना प्रकरणले मन्त्रीस्तरको ध्यान खिच्यो। उहाँको कार्यशैली सरल तर प्रभावकारी छ—फिल्डमा जानु, जनताको कुरा सुन्नु, तथ्य संकलन गर्नु र समाचार प्रकाशित गर्नु।
ग्रामीण आवाजको प्रतिनिधित्व
उपेन्द्रको विश्वास छ पत्रकारिता समाज परिवर्तनको सबल हतियार हो, विशेषतः ग्रामीण आवाजलाई अगाडि ल्याउने सन्दर्भमा। राष्ट्रिय मिडियामा गाउँको स्थान अझै कमजोर रहेको उहाँको ठम्याइ छ, जसमा सुधार आवश्यक देख्नुहुन्छ।
पत्रकारिता नै जीवनको उद्देश्य
उहाँका लागि पत्रकारिता पेशा मात्र होइन, एक सुरक्षित स्थान, आत्म सन्तुष्टि र जीवनको उद्देश्य हो। राजनीतिमा कहिल्यै लाग्ने सोच पनि आउन नपाएको उहाँ बताउनुहुन्छ। “पैसाका लागि भए राजनीति जान सकिन्थ्यो होला,” उहाँ मुस्कानसहित भन्नुहुन्छ, “तर पत्रकारिताले नै मलाई बनायो।” जोखिमहरू पनि छन्, कहिलेकाहीँ सत्य लुकाउनुपर्ने परिस्थिति पनि आउँछ, तर उहाँ गर्व गर्नुहुन्छ—“जनताले मलाई चिन्छन्, म विश्वासिलो छु।”
भाषा र भविष्यको पत्रकारिता
उहाँ भाषा पत्रकारिताको मुटु हो भन्ने मान्यता राख्नुहुन्छ “भाषा कमजोर भयो भने राम्रो विषय पनि फेल हुन्छ।” पहिले भाषा सुधारमा समस्या थियो, अहिले डिजिटल टुल्सले केही सहज बनाएको अनुभव गर्नुहुन्छ। उहाँको ठम्याइमा आउने दशक पूर्ण रूपमा डिजिटल हुनेछ, झनै छिटो, सजीव र प्रतिस्पर्धी पत्रकारिता।
सरकार प्रतिको अपेक्षा र पत्रकारितामा निरन्तरता
उपेन्द्र केसी. को धारणा छ, सरकारले केवल प्रशंसा गर्ने मिडियामात्र होइन, सबै पत्रकारिताको संरक्षण र प्रवद्र्धन गर्नु पर्छ। उहाँ प्रेस स्वतन्त्रताको पक्षमा दृढ हुनुहुन्छ र पत्रकारितालाई जीवनभरिको यात्रा ठान्नुहुन्छ। “हामी बूढा भएपछि पनि मोबाइल फोनको माध्यमबाट लेख्न सकिन्छ। पत्रकारको सेवानिवृत्ति भनेको मृत्युसँगै मात्र हो,” उहाँको अन्तिम भनाइ हो।
निष्कर्षः एक प्रतिबद्ध पत्रकारको कथा
सत्य, निष्ठा, साहस र सामाजिक सेवाको मूल्यमा आधारित पत्रकार उपेन्द्र केसी. आज पनि पत्रकारितामा अडिग हुनुहुन्छ, सधैँ यो विश्वासका साथ कि सञ्चार माध्यम राष्ट्र निर्माणको बलियो आधार हो।
 

Comments