श्राद्धकर्म किन र कसका लागि ?
भदौ २८, २०८२, शनिबार | विहान ११:२३ बजे | 60
सागर गुरागाई
आश्विन कृष्ण प्रतिपदादेखि औंसीसम्म सूर्य कन्या राशिमा भएको अवस्थामा आफ्ना समस्त पितृको श्राद्ध गर्नाले उनीहरु मुक्त हुन्छन् भन्न् शास्त्रीय मान्यता छ । श्राद्ध गर्दा पितृको कल्याणमात्र हुँदैन, श्राद्ध गर्ने सन्तानलाई पनि आशीवार्दबाट कल्याण गर्छन, कार्य सफल हुन्छ, ऐश्वर्य प्राप्त हुन्छ भन्ने पुराणहरुमा वर्णन गरिएको छ । श्राद्ध अर्थात् पितृयज्ञ वेदसम्मत छ । यो विज्ञानसम्मत पनि छ । मृत्यु तिथिमा गरिने एकोदिष्ट श्राद्ध हो । अर्को शरद ऋतु, आश्विन महिनाको पितृपक्षमा गरिने पार्वण श्राद्ध वा महालय श्राद्ध हो । एकोदिष्ट श्राद्धमा मुख्यतः तर्पण, पिण्डदान सम्बन्धित मृतात्मालाई मात्र गरिन्छ । पार्वण श्राद्धमा भने आफ्ना दिवंगत समस्त पितृलाई तर्पण र पिण्डदान गरिन्छ । त्यसैले पार्वण श्राद्धको विशेष महत्व छ । समस्त पितृको तर्पण र पिण्डदानद्धारा उद्धार गरिने हुनाले यसलाई ठूलो पुण्यकार्य मानिएको छ । हाम्रो धर्मसंस्कार अनुसार पितृ शक्ति पनि ईश्वरीय शक्तिको एउटा अंश हो । त्यसैले पितृ देवो भवः भनिएको हो । पितृकार्य यज्ञ त हो तर अरु देवयज्ञ र पितृयज्ञमा भिन्नता छ । देवत्व शक्ति अलि व्यापक हुन्छ पितृशक्ति अलि सिमित हुन्छ, र आफ्ना सन्तानसम्म मात्रै त्यो शक्तिको अन्तरक्रिया हुन्छ । त्यसैले देवशक्तिको विधि अनुसार पूजा गर्न सकिएन भने मनले सम्झे, भजन गरे पनि भगवत शक्तिका नजिक पुग्न सकिन्छ । पितृलाई भने त्यसो गरेर मात्र पुग्दैन, जल तर्पण र पिण्ड दान गर्नैपर्छ । मान्छेलाई जन्मसँगै प्रकृतिका अनेक रुप र स्वरुपसँग अनेक अन्तरक्रिया गरिरहनुपर्छ । समाजसँग पनि अनेक कार्यव्यवहार गरिरहनुपर्छ । कार्यव्यवहारका क्रममा कहिले खुसी हुन्छ, कहिले रिसाउँछ । केही प्राप्ति गरेर मनलाई प्रफुल्लित बनाउने र गुमाउँदा मन दुखित बन्ने क्रम चलिरहन्छ । अनेक कार्यव्यवहार गर्ने, सोच्ने, योजना बनाउने क्रम जीवनभर चलिरहन्छ । जब मान्छे मर्छ, जिउँदो छदाँ सोचिएका, गरिएका कामले मनमा दिने सकारात्मक नकारात्मक प्रभाव मान्छेको दैनिकीको प्रभाव सपनामा परेजस्तै मृत्युपछिको आत्मासँग सँगै जान्छन् र तिनै कार्यप्रभाव अनुसारको सूक्ष्म शरीर बन्न जान्छ । यो कुरा गीताको चौधौं अध्यायमा भनिएको छ – मृत्युपछि मान्छेको सूक्ष्म शरीरसहितको आत्मामुक्त अवस्थामा पुग्छ, जब ऊ जिउँदो छदाँ आफूलाई मानव र प्रकृतिसँग उच्च व्यवहार गरेर शुद्ध र मुक्त बनेको छ । मध्यम खालको अर्थात रजो गुणमा रमाएका मानिस मरेपछि सकाम कर्मयुक्त शरीर प्राप्त गर्छ । प्रकृति र मानव तथा समस्त प्राणीप्रति दुव्र्यवहार, लोभ, लालच, मद, मात्सर्यमा भुलेको छ अर्थात् तामसी व्यवहार गरेको छ भने त्यस्तो व्यक्ति मरेपछि मूढ अवस्थामा भड्किरहन्छ । त्यस्तो मूढ विचारसहितको आत्मा अर्थात् आत्मिक अशुद्धशक्ति जिउँदो छदाँ लामो समय माया र भरोसा गरेका आफ्ना सन्तानको नजिक आइरहन्छ । यो स्वाभाविक छ, विज्ञानसम्मत छ । मान्छेले दिनभरि जस्तो काम गर्छ, जस्तो चाहना राखेको छ, त्यस्तै सपना देख्छ भने मृत्यु पछि त्यस्तै हुनु स्वाभाविकै भयो । भडकिरहेको आत्मिक अशुद्धि र अतृप्त आत्मालाई पितृयज्ञ गर्दा मन, वचन र शरीर शुद्ध हुनुपर्छ । अनेकतिर भड्किरहेको मन, अशुद्ध शरीर र वचन सूक्ष्म शक्तिसँग जोडिन सक्दैन । वैदिक विधिअनुसार गरिने तर्पण, पिण्डदानद्धारा तृप्त पार्न सकिने वैदिक मान्यता हो । मान्छे मरे, शरीर डढाइयो, पानी र अन्नका डल्ला पल्टाएर कसरी पाउने, कसरी अघाउने ? पृथ्वीका यावत् प्राणी मध्ये मान्छेको मानसशक्ति अत्यन्तै शक्तिशाली र क्रियाशील हुन्छ । मान्छेले आफ्नो मनलाई एकत्रित गरी ध्यान गर्दा अपार शक्ति प्राप्त हुन्छ भन्ने कुरा प्राचीन वा आधुनिक ऋषिमुनी र महात्माहरुले प्रमाणित गरेका छन् । ओमकारको जप, ध्यानमा अपार शक्ति हुन्छ, भन्ने कुरा पश्चिमा वैज्ञानिकहरुले पनि स्वीकारिसकेका छन् । पाराशक्ति (आत्मिक शक्ति) विज्ञानको खोजको विषय नै हो । असाध्य बिरामीलाई टाढाका शुभचिन्तकले सन्चो होस भनेर कामना गरे पनि उसलाई आराम भएको कुरा पश्चिमा अध्ययनले समेत पुष्टि गरेको छ । आधुनिक वैकल्पिक उपचार पद्धति रेकी पनि मन र प्राकृतिक शक्तिसँगको अन्तरक्रिया नै हो । यी सबै कुराले पितृशक्ति पनि मनशक्तिको एउटा रुप नै हो भन्ने देखाउँछ भने शुद्ध मनले पवित्र सामग्री जौँ तिल, कुशको जल, सेता, पहेँला फुल, गाईको दुध, तामाका भाँडा, खीर आदि प्रकृतिका विशिष्ट गुणयुक्त सामग्री प्रयाग गर्दा त्यही भडकिरहेको पाराशक्तिलाई एकत्रित गर्न सक्छ । यी कुराले सन्तुष्टि पनि दिन्छ । केही वर्ष पहिले, युरोपका वैज्ञानिकहरुले ईश्वरीय कण पत्ता लगाए । जुन कण अदृश्य छ, जसले कुनै पनि वस्तुलाई अस्तित्वपूर्ण बनाउँछ र यसैका कारण वस्तुले तौल प्राप्त गर्छ । यो ईश्वरीय कण अस्थिर पनि छ । यसले पनि भडकिरहेको अति सूक्ष्म शरीर प्राप्त आत्मशक्ति हुन्छ भन्ने पनि प्रमाणित गर्छ । तिल र कुशसहित जलले तर्पण गर्दा दायाँ हातको बूढी अंगुठाबाट जल दिइन्छ । पितृयज्ञ गर्दा मन, वचन र शरीर शुद्ध हुनुपर्छ । अघिल्लो दिनदेखि नै सात्विक भोजन र ब्रहमचर्य आवश्यक पर्छ । अनेकतिर भडकिरहेको मन, अुशुद्ध शरीर र वचन सूक्ष्म शक्तिसँग जोडिन सक्दैन । अशुद्ध अवस्थाले अशुद्धताका कारण भडकिरहेको आत्मालाई सकारात्मकतातिर लैजान सकिन्न । नकारात्मक अवस्थामा छ भने झन् विकृत हुनसक्छ । ब्रहमाण्डमा विकृत आत्मशक्ति रहयो भने सबैलाई असर गर्छ । त्यसैले आफना मातृपितृ मात्र नभएर पृथ्वीभरका सबै पितृको कल्याणका लागि धेरै पहिलेदेखि करोडौं कुलका जो सातै द्धिपमा बस्थे, तिनीहरुालाइ पनि मैले तिलसहितको जल अपर्ण गरेको छु भनेर जल अपर्ण गरिन्छ । समस्त मृतात्मा अर्थात् पितृशक्ति यो ब्रहमाण्डको देवत्व शक्तिको एउटा अंश भएको वेदले बताएको छ । वेदले पितृशक्तिलाई बेवास्ता गर्दा ब्रहमाण्डमा असन्तुलन आउँछ भनेको छ । प्रकृतिमा देवशक्ति मात्र नभएर पितृशक्तिको साथै अन्य शक्तिपुञ्ज पनि छन् ती सबै शक्तिको सन्तुलन बाट मात्र प्रकृति ससत रुपमा अघि बढ्छ भनेको छ । होमसहित अन्य यज्ञ गर्दा सबैलाई समान रुपमा आहवान तथा पुजन गर्नु पनि यसको प्रमाण हो । तसर्थ पितृशक्तिलाई पनि तृप्त, स्थिर र प्रफुल्लित रुपमा राखे सबैको कल्याण हुन्छ भन्ने वैदिक मान्यता छ । अतृप्त र विकृत शक्ति ब्रहमाण्डमा रहँदा सबैलाई सधैं दुःख दिइरहन्छ । यो विज्ञान सम्मत कुरा नै हो ।
