मध्यपुर थिमि र गठ्ठाघर क्षेत्रमा जमीन भासिने दर उच्च
भदौ १४, २०८२, शनिबार | विहान ०७:३२ बजे | 115
*काठमाडौं, भदौ , २०८२* – काठमाडौं उपत्यका बर्सेनि ५ देखि २१ सेन्टिमिटरसम्म भासिँदै गएको छ। भूमिगत पानीको अत्याधिक दोहन र पुनर्भरणको अभावले यो समस्या बढ्दै गएको अनुसन्धानले देखाएको छ। अमेरिकाको हाउस्टन विश्वविद्यालयका अनुसन्धाताद्वय सागर रावल र गोक्वान वाङले सन् २०१७–२०२४ को स्याटेलाइट डेटा विश्लेषण गरी यो तथ्य पत्ता लगाएका हुन्। यो अध्ययन एमडीपीआईको जर्नल ल्यान्ड (मार्च २०२५) मा प्रकाशित छ।
काठमाडौंको बालुवाटार, सामाखुसी, मनमैजु, कोटेश्वर, पाटन, मध्यपुर थिमि, र गठ्ठाघर क्षेत्रमा जमीन भासिने दर उच्च छ। कालीमाटीमा ५–१० सेमी, मध्यपुर थिमीमा १३–१६ सेमी, र महाराजगन्जमा १६–२१ सेमी भासिएको छ। घना बस्ती र व्यावसायिक क्षेत्रमा पानीको अत्यधिक प्रयोगले माटो खोक्रो भई चिरा पर्ने, सडकमा खाल्डो पर्ने, र संरचनामा क्षति पुग्ने जोखिम बढेको छ।
काठमाडौंको कचौरा आकारको भौगोलिक बनावटमा कालो माटो र बलौटे माटोको तह छ। कालो माटोले पानी भण्डारण गर्न नसक्ने र सजिलै खाँदिने भएकाले जोखिम बढ्छ। काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डका अनुसार, ४७९ कम्पनीले दैनिक १ करोड २३ लाख लिटरभन्दा बढी पानी निकाल्छन्। मेलम्ची आयोजनापछि पनि दोहनमा कमी आएको छैन।
जापानको जाइका (१९९४) अध्ययनले दैनिक डेढ करोड लिटर पानी निकाल्न सुझाएको थियो, तर अहिले त्यो सीमा उल्लंघन भइरहेको छ। घना बस्ती र कंक्रिट संरचनाले पानी पुनर्भरण हुन नसक्दा जोखिम झन् बढेको छ। भूगर्भविद्हरूले गहिरो बोरिङ नियन्त्रण, वर्षाको पानी संकलन, र भूगर्भीय परीक्षण अनिवार्य गर्न सुझाएका छन्।
जकार्ता र मेक्सिको सिटीपछि काठमाडौं विश्वकै तेस्रो जोखिमयुक्त शहर बन्दैछ। भवन निर्माणमा मापदण्ड पालना नहुँदा र नियमन फितलो हुँदा समस्या जटिल बनेको छ। विज्ञहरूले जीपीएस निगरानी, कडा नीति, र वैकल्पिक सुविधा विस्तारको रणनीति सुझाएका छन्। नत्र, काठमाडौंको भविष्य जोखिममा पर्नेछ।
.jpg)