“पठनसंस्कृति प्रवर्द्धन : सम्भावना र चुनौती” विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न
भदौ १४, २०८२, शनिबार | विहान ०७:२३ बजे | 270
काठमाडौं, भदौ – नेपाल लाइब्रेरी फाउन्डेसन नेपालले १८औं पुस्तकालय दिवस २०८२ को अवसरमा शुक्रबार राजधानीको जडीबुटीमा “पठनसंस्कृति प्रवर्द्धन : सम्भावना र चुनौती” विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ। फाउन्डेसनका अध्यक्ष डा. छायादन्त न्यौपानेको अध्यक्षता, सत्या अधिकारीको स्वागत मन्तव्य र महासचिव धनकुमार श्रेष्ठको संस्थागत विवरण तथा आगामी योजना सम्बन्धी प्रस्तुतिपछि कार्यक्रम औपचारिक रूपमा सुरु भएको थियो। त्यस्तै, कार्यकारी निर्देशक यज्ञराज भट्टले पुस्तकालय दिवसको औचित्य र पठनसंस्कृति प्रवर्द्धनसँग सम्बन्धित महत्त्वपूर्ण तथ्याङ्क तथा अनुभव प्रस्तुत गरे। अन्तरक्रिया सत्रमा विभिन्न पुस्ता, क्षेत्र र अनुभवका व्यक्तिहरूले पठनसंस्कृतिको सम्भावना र चुनौतीबारे आफ्ना धारणा राखेका थिए। युवापुस्ता प्रतिनिधि तेजेन्द्र उपाध्याय र रबिन खड्काले पठनलाई रोचक र जीवन्त बनाउन सकिने उपायहरूबारे प्रस्तुति दिए। त्यस्तै, सल्लाहकार मणिराम फुयाल, काठमाडौं संयोजक धनबहादुर थापा, ललितपुर संयोजक मञ्जु ज्ञावली, ललिता अधिकारी, दिलबहादुर थापा, गंगा कसजु, पूर्व राष्ट्रिय पुस्तकालय प्रमुख दशरथ थापा, डिल्लीरमण पुस्तकालय प्रमुख यादवचन्द्र निरौला लगायतले गहकिला टिप्पणी गर्दै वर्तमान पुस्तामा पढ्ने बानी खस्कनुको कारण र समाधानबारे सुझाव दिएका थिए। वक्ताहरूले विशेषगरी डिजिटल प्रविधि र मोबाइलको अत्यधिक प्रयोग, अभिभावक र शिक्षकको प्रेरणाको कमी, पुस्तकालय तथा पठन सामाग्रीमा पहुँच नहुनु, र आकर्षक शैक्षिक कार्यक्रमको न्यूनताले पठन संस्कृतिमा नकारात्मक असर पारेको धारणा राखे। उनीहरूले समाधानका लागि विद्यालयस्तरमै पठनप्रति प्रोत्साहन गर्ने कार्यक्रम सञ्चालन गर्नुपर्ने, घर–घरमा पठन वातावरण निर्माण गर्नुपर्ने, पुस्तकालयलाई मात्र अध्ययन केन्द्र नभई समुदायलाई जोड्ने सामाजिक संस्था बनाउनु पर्नेमा जोड दिए। युवापुस्ताले प्रस्तुत गरेका विचारमा पढाइलाई रमाइलो र व्यवहारिक बनाउने, पुस्तकलाई मित्रको रूपमा स्वीकार गर्ने, र सामाजिक सञ्जालको प्रयोगलाई समयसीमा भित्र सीमित गर्दै पुस्तक पढ्ने बानीलाई संस्कारको रूपमा विकास गर्नुपर्ने उल्लेख थियो। अन्तरक्रिया सहभागीहरूले नेपालमा पुस्तकालयको संख्या बढ्दै गए पनि तिनको प्रभावकारी प्रयोग हुन नसकेको, पुस्तकालय व्यवस्थापन र प्रचार–प्रसारमा अझै चुनौती रहेको निष्कर्षसमेत निकाले। उनीहरूले आगामी दिनमा स्थानीय तह, विद्यालय, सामुदायिक संस्था र पुस्तकालयबीच सहकार्य गरेर पठनसंस्कृति प्रवर्द्धनलाई अभियानका रूपमा अघि बढाउनुपर्ने आवश्यकता औंल्याए। कार्यक्रमको सञ्चालन फाउन्डेसनका सचिव शेखर अर्यालले गरेका थिए।
