‘अहिंसा महोत्सव’ सुरु
भदौ १३, २०८२, शुक्रबार | दिउँसो ०१:५७ बजे | 185
काठमाडौं, भदौ – शाकाहार र अहिंसामार्फत दिगो जीवनशैलीलाई प्रोत्साहन गर्ने उद्देश्यसहित काठमाडौंमा ‘अहिंसा महोत्सव’ सुरु भएको छ। नेपाल शाकाहारी संघको आयोजनामा भएको महोत्सवको उद्घाटन प्रमुख अतिथि पूर्व अर्थमन्त्री प्रकाशशरण महतले गर्नुभयो। राजधानीस्थित नेपाल प्रहरी क्लब, प्रदर्शनीमार्गमा आयोजना गरिएको महोत्सव आगामी तीन दिनसम्म चल्नेछ। Exif_JPEG_420 कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि महतले शाकाहार र अहिंसालाई जीवनशैलीमा अंगिकार गर्नु नै स्वास्थ्य, शान्ति र दिगोपनाको आधार हुने बताउनुभयो। उहाँले भन्नुभयो, “आजको विश्व जलवायु संकट, हिंसा र अस्वस्थकर जीवनशैलीको चपेटामा छ। यसको समाधानका लागि हामीले आफ्नै दैनिक बानीमा सुधार ल्याउनुपर्छ। शाकाहार र अहिंसा त्यसको मूल विकल्प हुन सक्छ।” नेपाल शाकाहारी संघका पदाधिकारीहरूले महोत्सवमार्फत मानिसलाई स्वस्थ जीवनशैलीतर्फ आकर्षित गर्ने, पशुपंक्षीप्रति करुणा जगाउने र पृथ्वीको वातावरणीय सन्तुलन जोगाउन योगदान गर्ने उद्देश्य रहेको जानकारी दिनुभयो। उहाँहरूको भनाइमा शाकाहारी अभ्यासले स्वास्थ्य लाभ मात्र नभई जलवायु परिवर्तन नियन्त्रणमा पनि टेवा पुर्याउनेछ। महोत्सवमा विभिन्न विषयमा गोष्ठी, कार्यशाला, परामर्श कार्यक्रम, शाकाहारी परिकारको प्रदर्शनी तथा सांस्कृतिक प्रस्तुति रहनेछन्। साथै वातावरणमैत्री उत्पादन, स्थानीय अन्न–धान्य, फलफूल र शाकाहारी परिकारका स्टल पनि राखिएका छन्। बालबालिका र युवालाई लक्षित गरी चित्रकला, निबन्ध र वक्तृत्व प्रतियोगिता पनि आयोजना गरिने कार्यक्रम रहेको छ। उद्घाटन समारोहमा वक्ताहरूले शाकाहारलाई केवल भोजनको विकल्प नभई मानव सभ्यताको नैतिक अभ्यासका रूपमा प्रस्तुत गर्नुपर्नेमा जोड दिएका थिए। उनीहरूको भनाइमा अहिंसाको सिद्धान्त गाँधी, बुद्ध र विभिन्न धार्मिक परम्पराहरूले सिकाएझैं विश्व शान्ति र मानवताका लागि अपरिहार्य छ। कार्यक्रममा उपस्थित दर्शक–श्रोताले शाकाहारी जीवनशैलीलाई अपनाउन र समाजमा फैलाउन संकल्प गरेका थिए। आयोजक संघका अनुसार यस प्रकारका महोत्सवले समाजमा सकारात्मक सोच र व्यवहारिक परिवर्तन ल्याउने विश्वास गरिएको छ। तीन दिनसम्म चल्ने यो महोत्सवमा स्वदेशी तथा विदेशी सहभागीहरूको उपस्थिति रहने अनुमान गरिएको छ। आयोजकले महोत्सवलाई वार्षिक रूपमा निरन्तरता दिँदै शाकाहार र अहिंसाको सन्देशलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रवाह गर्ने योजना बनाएको जानकारी दिएका छन्।
