नेपाली परम्परामा तीज पर्व
भदौ ९, २०८२, सोमबार | दिउँसो ०२:४७ बजे | 185
सागर गुरागाईं
मुलतः भाद्र शुक्ल द्वितीयादेखि पञ्चमीसम्मको समयलाई नेपाली समाजमा तीजसँग जोडेर सम्बोधन गरिन्छ । यो पर्वसँग अप्रत्यक्ष ऋषि तर्पणी, कृष्णजन्माष्ठमी, गौरा र मधुश्रावणीहरुको पनि सम्बन्ध छ । त्यतिमात्र होइन, राई, लिम्बु, मगर, गुरु», थारु समाजमा पनि योसँग मेलखाने किसिमका पर्व र कर्महरु हुन्छन् । तर तिनको नाम तिथिमिति चाहिँ फरक हुन्छ । तीज पहाडिया खस, बाहुनहरुको पर्व भनिए तापनि बसोबास, आवत–जावत, सामाजिकीकरण, अन्तरसामाजिक सबन्ध, समीकरण, पर्वको आकर्षण आदि कारणले यसले सबै समाजलाई आकर्षित गरेको हुन्छ । तीजसँग प्रत्यक्ष जोडिएका दरखाने, तीज (त्रयोदशी तिथि) र पचमी हुन् । यी तीनवटै दिनको फरक–फरक महत्व हुन्छ । तथापि सबैलाई तीज भनेर बुझिन्छ । तीज पर्वको लागि भाद्र महिनाको यो समय पनि महत्वपूर्ण मानिन्छ । यही समयदेखि हिउँदकाल सुरु हुने र वर्षा कम हुँदै जाने, तारघाट पनि सहज हुँदै जाने, वर्षे खेतीको सम्पूर्ण काम सम्पन्न हुने उपयुक्त तिथिअनुसार यो पर्व परम्परादेखि मनाउने गरिएको देखिन्छ । भाद्र शुक्ल द्वितीयाको दिनलाई दरखाने भनिन्छ । कार्तिक शुक्ल पक्षको दोस्रो दिनलाई छाडेर शुक्ल र कृष्णपक्ष सबैमा द्वितीया नै भनिन्छ । तर भाइटीकाको दिनलाई द्वितीया नभनी दुज भनिन्छ । दरखाने दिन तीजको पहिलो दिन हो। यो विवाहित छोरी, बहिनीहरु माइतीमा जाने अवसर हो । यो माइती र चेलीबेटी बीचको सम्बन्ध नवीकरण हुने अवसर पनि हो। चेलीहरु’ माइतीमा जाने भएकोले सबैतिरका बालसखीहरुको भेटघाट यही समयमा हुन्छ । यसले उनीहरुका बीचका अतितका स्मरण र वर्तमानका सुखदुःख साटासाट पनि हुने गर्छन् । हरेक विवाहित महिलाले कुनै न कुनै रुपमा घरमा बुहार्तन सहनुपरेको हुन्छ । सबैका आ–आफ्ना अनुभूतिहरु हुन्छन् । त्यसबाट केही समयलाई बिर्सन, माइतीमा आनन्द लिन पनि विवाहित महिलाले यो अवसर छोप्छन् । घरमा सासूको खटनपटन, नन्द–आमाजूहरुको मुखियाली शैलीभन्दा माइतीमा माया, सद्भाव, सम्मान पाउनु स्वाभाविकै हो । द्वितीयाको भोलिपल्ट तीज व्रत र पूजाआजा हुने भएकोले यस दिनमा दरखाने चलन छ । दर विशेष प्रकारको भोजन हो । यी परम्परागत दर परिकार हुन् । कतै–कतै दहीमा काँक्रोको टुक्रा मिसाएर खाएमा दर हुन्छ भन्ने मान्यता पनि छ । तर समयको परिवर्तन, मानव गतिविधिमा आउने परिवर्तन र विकासले दरका परिकारमा पनि ठूलो अन्तर आउनुलाई सामयिक मान्नुपर्छ । यस दिन व्रतालु र निम्तानुले रातभर जाग्राम बसी दर खाँदै नाचगान गरी रमाइलो गर्छन् । तीज महिलाको शौभाग्य वृद्धिको लागि व्रत बस्ने, केही अनुष्ठान सम्पन्न गर्नुपर्ने पर्व हो । यसमा विवाहित महिला र अविवाहित युवति दुबै व्रत बस्ने, शिवको पूजा उपासना गने, नाचगान गर्ने गर्छन् । पौराणिक मान्यताअनुसार त्रयोदशी तिथि रातको पहिलो प्रहरमा तेत्तिसकोटी देवता भगवान शिवको बासस्थान हिमालय पर्वतमा जम्मा हुन्छन् । यस समयमा सबै देवीदेवताले आ–आफ्नो विधाअनुसार नाचगान बजान गर्छन् । यसलाई शिव नृत्य पनि भनिन्छ । यसै रातको प्रलयकालमा शिवको ताण्डव नृत्य हुन्छ । यस समयमा पार्वती सुनको उच्च सिंहासनमा विराजमान हुन्छिन् र उनलाई खुसी तुल्याउन शिवले स्वयम् नृत्य गर्छन् । यही समयमा समस्त व्रतालु महिला वर्गले आफूलाई पार्वतीसमान हुने कामना गर्छन् । माथि भनिएझै तीज महिलाको शौभाग्य वृद्धिसँग जोडिएको छ । शौभाग्य पतिसँग जोडिएको शब्द हो । पति शौभाग्यशाली भएपछि आफू स्वाभाविक रुपमा शौभाग्यवती हुन सकिन्छ भन्ने कामनासँग पनि यो पर्व जोडिएको छ । यस दिनमा भगवान शिवको पूजा–आराधना हुन्छ । उनलाई मृत्युञ्जय पनि भनिएको छ । नेपालको मिथिला क्षेत्रमा मनाइने मधुश्रावन्ति यस्तै प्रकृतिको पर्व हो । तराईमा सर्प, विच्छी आदिको प्रचुरता हुने, त्यसबाट धेरैले अकाल ज्यान गुमाउने हुनाले महिला खासगरी नवविवाहिताले आफ्ना पति, सर्प, विच्छी, औलोजस्ता कुराबाट सुरक्षित’ हुने कामना र. आकांक्षासाथ उनको दीर्घायु, सुस्वास्थ्यको कामना गर्ने पर्व हो, मधुश्रावन्ति । त्यस्तै थारु समाजमा कृष्ण जन्माष्ठमीको दिनमा पुरुषको शौभाग्यको कामना गरिन्छ । सुदूर पश्चिमको गौरा पर्वले पनि त्यस्तै सन्देश प्रभाहित गर्छ । तीजलाई सरकारी कामकाज, पात्रो आदिमा हरितालिका तीज भनिएको हुन्छ । यसमा अन्तरनिहित दुईवटा पक्ष छन् । एउटा हरि अथवा भगवान विष्णुले पार्वतीलाई हरण गरेको सन्दर्भअर्को महत्वपूर्ण आधार भनेको हरितालले शिव प्रतिमा लेखेर व्रत बस्ने परम्परा भएकोले यसलाई हरितालिका भनेको मानिन्छ । किनभने हरिताल विययुक्त विरुवा हो । यसको चोपबाट तयार प्रतिमालाई हरण गर्न, नष्ट गर्न सहज नहुने भएकाले हरिताल नै शिव प्रतिमाको लागि उपयुक्त मानिन्थ्यो । यस दिनलाई भगवान कृष्णको न्वारन भएको दिनको रुपमा पनि सम्झिइन्छ । तीजमा व्रत बस्ने, शिवको पूजा गर्ने, पतिको दीर्घायु र सुस्वास्थ्यको कामना गर्ने, अविवाहितले पनि कामना चाहना राखेर व्रत बस्ने, आपसमा नाचगान र रमाइलो गर्ने, वेदना व्यक्त गर्ने, माइती र पुराना संगीसँगको सम्बन्ध नवीकरण गर्ने, अव्यक्त कुरा गीतको माध्यमबाट व्यक्त गर्ने अवसर भए पनि वर्तमानमा यसको मौलिक स्वरुपमा धेरै परिवर्तन र केही मात्रामा विकृति पनि आएको देखिन्छ । महिलाहरु आपसको नाचगानमा अरु पुरुष पनि हुपर्ने जुन दृश्यहरु, गीतका भाका र शब्दहरु श्रव्यदृश्य सञ्चारका माध्यमहरुमा जुन प्रकारले देखिन्छ, सुनिन्छ, त्यो परम्परागत मूल्य–मान्यता र आदर्श विपरीत भएको प्रतित हुन्छ । पञ्चमी महिलाहरुको स्वास्थ्य, शुद्धता र सौन्दर्यवद्र्धक पर्व हो । यो दिन ज्ञानसँग पनि जोडिएको छ । पञ्चमीमा सप्तर्षी–गौतम, भारद्वाज, विश्वामित्र, जमदग्नि, वशिष्ठ, कश्यप र अत्री । अथवा मरिची, अत्री, अंगिरा, पुलह, व्रतु, पुलत्स्य र विशिष्ठको पूजा हुन्छ । सप्तऋषि भनेको ज्ञानवान पुरुषको प्रतिक पनि हो । योसँग जोडिएको ऋषितर्पणी हो। यसको अर्थ ज्ञान रिचार्ज हो । अर्कोतर्फ रजस्वला भएका विवाहित र अविवाहित महिला पञ्चमीको व्रत बसेर आफूलाई सफा शुद्ध राख्ने, चोख्याउने अभ्यासमा हुन्छन् । मासिक धर्म हुँदा जानेर वा नजानेर, वाध्यता परिस्थिति आदिको कारणले महिलाले अरुलाई छोएका हुन्छन्, त्यो दोषबाट मुक्त हुन पनि पञ्चमी व्रत र पूजा गर्ने जनविश्वास र मान्यता छ । यो दिनको पूजा उपासनामा अपामार्ग र माटोको महत्व हुन्छ । अपामार्ग दतिउनका लागि र माटो हात धुनमा प्रयोग हुन्छ । सूची र निचीपछि मूत्रस्यान र त्यसपछि गुजद्वार सफा गरी माटोले हात धुने परम्परा छ । त्यस्तै तीन सय पैसठीवटा ब्रस आकारका अपामार्गका टुक्रा दतिउनका लागि र त्यत्तिकै पात नुहाउनका लागि प्रयोग गरिन्छ । वर्षदिनभरि सबैलाई दांतमुख सफा गर्न, नुहाउन अनुकूल नपर्ने, मौसमको प्रतिकुलता, अपामार्गको सबैतिर सधैजसोको अप्राप्यताका कारणले वर्षभरिको प्रतिनिधि दिन भाद्र शुक्ल पञ्चमी नै उपयुक्त मानेर यो परम्परा बसेको हो । यो दिन बाह्यमात्र नभएर आन्तरिक शुद्धिको लागि सप्तर्षिको पूजा हुन्छ । महिलालाई मात्र, यो आवश्यक पर्नुको कारण आफ्नो स्वास्थ्य, सौन्दर्यलाई निखारु दिएर पुरुष अर्थात पतिलाई आफूतिर आकर्षित गर्नु पनि हो । अपामार्ग योनिमार्ग व्यवस्थित गर्ने, प्रजनन स्वास्थ्यलाई विकारमुक्त गर्ने वनस्पति पनि हो । यो कुरा मानव सृष्टिसँग पनि सम्बन्धित छ ।
