चीरकालसम्म सम्झिरहन चार सहिदका पूर्णकदका पाँच शालिक निर्माणः मेयर शाक्य
माघ १३, २०७७, मङ्गलबार | दिउँसो ०३:३० बजे | 65
काठमाडौं । काठमाडौं महानगरपालिकाको सिफलस्थित सहिद धर्मभक्त माथेमालाई मृत्युदण्ड दिइएको स्थानमा आज उहाँको सम्झनामा श्रद्धाञ्जलीसभा सम्पन्न भएको छ । यस बर्षको सहिद सप्ताह कार्यक्रमअन्तर्गत माघ १० अर्थात पहिलो दिन शुक्रराज शास्त्रीले सहादत प्राप्त गरेको स्थानमा श्रद्धाञ्जली सभा आयोजना गरी काठमाडौँ महानगरपालिकाले सहिद सप्ताह सुरु गरेको थियो । आज सहिद सप्ताहको तेस्रो दिन अर्थात माघ १३ गते सिफलमा श्रद्धाञ्जलीसभा गरेको हो ।
शाक्यले सहिदहरुको सम्झनामा काठमाडौँ महानगरपालिकाकै पहलमा ८० वर्षपछि भए पनि पूर्णकदको शालिक निर्माण गर्ने अवसर प्राप्त भएको भन्दै खुशी व्यक्त गर्नुभयो । ‘सहिदहरूलाई बिर्से पनि उहाँहरूले गरेको योगदानलाई कसैले पनि बिर्सन सक्दैनन्,’ उहाँले भन्नुभयो, ‘हामी कसैले पनि चार सहिदलाई भेटेका छैनौँ । तर, उहाँहरूले राष्ट्र र जनताप्रति गरेको योगदान हामी भुल्न सक्दैनौँ । उहाँहरूको सालिक मुन्तिर उभिएर उहाँहरूले देखाएको बाटो हिँड्न प्रेरणा मिलोस् भनेर हामीले पूर्णकदको सालिक निर्माण गरेका हौँ ।’
कार्यक्रममा उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले राजनीतिक परिवर्तनसँग सहिदको सपना अन्तरसम्बन्धित भएको उल्लेख गर्नुभयो । बिकासबाट मुलुकलाई समृद्ध बनाउन र नागरिकलाई खुसी बनाउन सहिदको सपना सम्झना गर्दै निर्भीक भएर जिम्मेवारी पूरा गर्ने उहाँको दृढता थियो । सभामा महानगरको वडा नं. ७ का वडाध्यक्ष शुद्धकुमार डंगालले सहिदको सपना पूरा गर्न भौतिक समृद्धिसँगै चेतनामा पनि समृद्धि हुनुपर्ने टिप्पणी गर्नुभयो ।
माथेमालाई माघ १३ गते सिफल उकालो बकाइनाका रुपमा झुण्ड््याएर मृत्युदण्ड दिइएको थियो । उहाँ वि. सं. १९६६ साल आश्विन ९ गते पिता सुब्बा आदिभक्त र माता चन्द्रकुमारी देवीको कोखबाट काठमाडौंको ओमबहालमा जन्मिनु भएको थियो ।
नागरिक स्वतन्त्रताका पक्षमा निर्भीक भएर आवाज उठाउने शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, गंगालाल श्रेष्ठ र दशरथ चन्दले १९९७ सालमा मृत्युदण्ड पाएपछि उहाँहरुको सपना स्मरण गर्दै सहिद दिवस मनाउने गरिन्छ । राणा शासनको विरोध गर्दै जनतालाई प्रजातन्त्रको पक्षमा एकजुट एवं शिक्षित गरेको आरोपमा वि. सं. १९९७ साल माघ १० गतेदेखि १५ गतेबिचमा ४ जना सहिदलाई प्राणदण्ड दिइएको थियो । हुकुमी शासनको विरोध गरेको र नागरिकलाई स्वतन्त्रताको पक्षमा उक्साएको आरोपमा राणा प्रधानमन्त्री जुद्ध शम्शेरले वि. सं. १९९७ साल माघ ६ गते शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, गंगालाल श्रेष्ठ र दशरथ चन्दलाई ज्यानदण्ड दिने निर्णय गरेका थिए । निर्णय भएको ४ दिनपछि शुक्रराज शास्त्रीलाई टेकु पचलीमा झुण्ड्याएर, ७ दिनपछि धर्मभक्त माथेमालाई सिफल उकालोमा झुण्ड्याएर र ९ दिनपछि दशरथ चन्द र गंगालाल श्रेष्ठलाई विष्णुमती नदी किनार शोभाभगवतीमा गोली हानी ज्यानदण्ड दिएका थिए ।
सहिद सप्ताहका बाँकी कार्यक्रमहरुमा माघ १५ गते गंगालाल श्रेष्ठ र दशरथ चन्दले अमरत्व प्राप्त गरेको स्थान शोभा भगवतीमा श्रद्धाञ्जली सभा हुनेछ । माघ १६ गते शान्तिबाटिकाबाट प्रभात फेरीसहित सहिद स्मारक लैनचौर लगिनेछ । लैचचौरमा ज्ञात अज्ञात सहिदप्रति श्रद्धाञ्जली सभा हुनेछ ।